काठमाडौं, चैत २७ : कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही जिल्लाहरुमा वर्षा भएको छ ।
कोशी प्रदेशका संखुवासभा, सोलुखुम्बु, बागमती प्रदेशका दोलखा, सिन्धुपाल्चोक, रसुवा, गण्डकी प्रदेशका कास्की, बाग्लुङ, म्याग्दी, पर्वत तथा लुम्बिनी प्रदेशका रोल्पा, प्युठान र पाल्पामा हल्कादेखि मध्यम खालको वर्षा भएको छ । कर्णाली प्रदेशका एक–दुई स्थानमा पनि हल्कादेखि मध्यम खालको वर्षा मापन भएको छ ।
काठमाडौंमा हिजो भएन वर्षा, आज र भोलि सम्भावना
जल तथा मौसम विज्ञान विभागका मौसमविदले मंगलबार अपराह्नदेखि काठमाडौंमा पनि वर्षा हुने पूर्वानुमान गरेका थिए । तर पूर्वानुमान गरेअनुसार वर्षा भएन ।
बुधबार र विहीबार दुई दिन भने काठमाडौंमा पनि पानी पर्ने पूर्वानुमान मौसमविदले गरेका छन् । अहिले बिहान काठमाडौंमा डम्म बादल लागेको छ । अपराह्न वा साँझतिर भने मेघगर्जन/चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद रोजन लामिछानेले बताए ।
‘हिजो काठमाडौं आसपास वर्षा भए पनि काठमाडौं उपत्यकामा चाहिँ भएन तर आज र भोलि काठमाडौंमा पनि हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना छ,’ लामिछानेले भने ।
पानी कति पर्छ भन्ने कुरा बादल कसरी विकसित हुन्छ भन्ने कुराले पनि भर पर्ने उनले बताए ।
हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ । यसका साथै बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ । त्यसैले मौसमविदले वर्षा, हिमपात र बदलीको पूर्वानुमान गरेका हुन् ।
बरिष्ठ मौसमविद शान्ति कँडेलका अनुसार चैत २७ गते देशका धेरै स्थानहरुमा पानी पर्ने सम्भावना रहेको बताइन् । विशेष गरी कोशी र मधेश प्रदेशका थोरै ठाउँहरुमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको उनको भनाइ छ । बाँकी प्रदेशका थोरै ठाउँहरुमा हल्का मात्र पानी पर्ने सम्भावना छ ।
देशभरी नै उच्च पहाडी र हिमाली क्षेत्रका थोरै ठाउँहरुमा हिउँ पर्ने सम्भावना पनि रहेको बरिष्ठ मौसमविद कँडेलले जानकारी दिइन् ।
मौसमविद रोजन लामिछानेले पनि कोशी र मधेश प्रदेशसहित पूर्वी तराईका जिल्लाहरुमा आज र भोलि पानी पर्ने बताए । दुई दिन वर्षा भएपछि पर्सि शुक्रबारदेखि पानी पर्ने क्रम कम हुँदै जाने उनको भनाइ छ ।
आज र भोलि एरिया कभरेजका हिसाबले धेरै ठाउँमा पानी पर्ने सम्भावना छ, त्यसपछि पर्सिदेखि अलि कमजोर हुँदै जान्छ,’ उनले भने ।
