काठमाडौं, चैत्र ९ : शिक्षा विज्ञान तथा प्रविधि मन्त्री तथा राष्ट्रिय पाठ्यक्रम परिषद्का अध्यक्ष विद्या भट्टराईको अध्यक्षतामा मन्त्रालयमा बसेको बैठकले विभिन्न तहका पाठ्यक्रम स्वीकृत/परिमार्जन तथा नयाँ विषय समावेश गर्ने निर्णय गरेको हो।
बैठकको प्रमुख निर्णयमा माध्यमिक तह (कक्षा ९-१०) को ऐच्छिक भूगोल विषयको पाठ्यक्रमलाई प्राप्त सुझावहरू समेटेर स्वीकृतिका लागि सिफारिस गरिएको छ।
यसैगरी, मन्त्रालयले मातृभाषा तर्फ माध्यमिक तहको लिम्बू भाषा (कक्षा ९-१०), आधारभूत तहको बान्तवा राई भाषा (कक्षा ६-८), डोटेली भाषा (कक्षा १-३) र वायुङ राई भाषा (कक्षा १-३) को पाठ्यक्रम पनि स्वीकृत गर्न सिफारिस गरेको छ। यी निर्णयहरूले विद्यालय तहमा विभिन्न मातृभाषाहरूको अध्ययन अध्यापनलाई थप बल पुग्ने विश्वास लिइएको छ।
बैठकले गोन्पा शिक्षाको अनिवार्य र ऐच्छिक विषयको समूह मिलान गरी नयाँ संरचनालाई स्वीकृति दिएको छ। प्रस्तावित संरचना अनुसार नेपाली, अंग्रेजी, सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा वा गणित अनिवार्य विषय रहनेछन्। ऐच्छिक विषयहरूमा रहेका विषयमध्ये ३ ओटा समूहबाट कुनै २ ओटा विषय र विद्यार्थीहरूले थप अध्ययन गर्न चाहेमा चौथो समूहबाट एउटा विषय छनोट गर्न सक्नेछन्।
यस नयाँ संरचनाले गोन्पा तथा विहारहरूमा अध्ययनरत विद्यार्थीहरूलाई थप व्यवस्थित र समयानुकूल शिक्षा प्रदान गर्ने अपेक्षा गरिएको छ। यसैगरी कक्षा ४ देखि १२ सम्मको सामाजिक अध्ययन विषयको नाममा एकरूपता कायम गरिएको छ। अब कक्षा ४-५, कक्षा ६-८ र कक्षा ११-१२ मा पनि कक्षा ९-१० कै जस्तै ‘सामाजिक अध्ययन’ नाम रहनेछ। संस्कृत तथा गुरुकुल शिक्षालाई पनि समयानुकूल बनाउने प्रयासस्वरूप तन्त्रशास्त्र विषयलाई पाठ्यक्रममा थप गर्ने निर्णय भएको छ। तन्त्रशास्त्रलाई कक्षा ९ र १० को ऐच्छिक द्वितीय समूह र कक्षा ११ र १२ को ऐच्छिक पहिलो समूहमा समावेश गरिने भएको छ।
