Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

मधुमेह रोगका यी हुन् लक्षण : यसबाट जोगिन के खाने के नखाने


सूचना कुण्ड
मधुमेह रोगका  यी हुन् लक्षण :  यसबाट जोगिन के खाने के नखाने

काठमाडौं ,चैत ८ ः मधुमेह रोग भएका व्यक्तिले खानेकुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ । मधुमेह भनेको रगतमा चिनी (ग्लुकोज)को मात्रा आवश्यकभन्दा बढी हुने अवस्था हो ।

मधुमेह रोगीले के खाने ?
मधुमेह रोगीले कार्बोहाइडेटयुक्त खाना कम खानुपर्छ । अर्थात्, भात, आलु कम खानुपर्छ । बोसो नभएको मासु खानुपर्ने राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार, मधुमेह रोगीले यी खानेकुरा खानु उपयुक्त हुन्छ–
१. कार्बोहाइडेटयुक्त खाना, जस्तै : भात, आलु कम खाने
२. बोसो नभएको मासु खाने
३. ताजा माछा खाने
४. ताजा सागसब्जी, बन्दा, काउली, काँक्रो, भन्टा, साग, गोलभेँडा, मूला, गाँजर, प्याज र ताजा फलफूल खाने
५. गुलियो खानेकुरा कम मात्रामा खाने
६. कम मात्रामा तेल प्रयोग भएको तरकारी खाने, सन्तुलित र स्वस्थ भोजन गर्ने ।

मधुमेह रोगीले खान नहुने
मधुमेही रोगीले केही खानेकुरा खानै हुँदैन । नौनी अथवा घिउ र बोसो, चिनीलगायत खानेकुरा खान नहुने केन्द्रले जनाएको छ ।

मधुमेह रोगीले खान नहुनेबारे केन्द्रको सुझाव यस्तो छ–
१. नौनी अथवा घिउ र बोसो, वनस्पति घिउ, चिनी, जाम, मिठाई, चकलेट र गुलिया पेयपदार्थ, बट्टामा राखेका फलफूलहरू, केक, गुलियो बिस्कुट आदि खानु हुँदैन ।
२. मदिरापान नगर्ने ।
३. धूमपान नगर्ने । 

समयमा उपचार वा नियन्त्रण नगरिए मधुमेहले मुटुरोग, मस्तिष्काघात, अन्धोपन, मिर्गौलाले काम नगर्नेलगायत गम्भीर समस्या निम्त्याउन सक्ने केन्द्रले जनाएको छ ।

“शरीरको प्यानक्रियाजबाट एक प्रकारको हर्मोन, इन्सुलिन उत्पादन हुन्छ, जसले खानामा हुने चिनीलाई टुक्राउने काम गर्दछ,” केन्द्रले भनेको छ, “इन्सुलिनको उत्पादनमा हुने कमी वा इन्सुलिनको उपयोगमा आउने कमीको कारणबाट मधुमेह रोग लाग्दछ ।”

मधुमेहको असर
मधुमेहका कारण शरीरमा विभिन्न असर देखिन सक्छ । स्वास्थ्य मन्त्रालयअन्तर्गतको केन्द्रका अनुसार, मधुमेहका कारण यी असर देखिन सक्छ–
१. मस्तिष्काघात
२. हृदयाघात
३. धमनी रोग
४. मधुमेहका कारण आँखामा हुने समस्या
४. जलविन्दु/मोतिविन्दु
५. मधुमेहका कारण खुट्टामा हुने घाउ
६. मिर्गौलासम्बन्धी रोग
७. नसासम्बन्धी रोग

मधुमेह रोगका लक्षण
यो रोग लागेमा मुख सुक्खा हुने हुन्छ । पटक–पटक पिसाब लाग्छ । राम्ररी खाना खाए पनि दुब्लाउँदै जाने समस्या हुने केन्द्रले जानकारी गराएको छ ।

केन्द्रका अनुसार, यी हुन् मधुमेहका लक्षण–
१. बढी तिर्खा लाग्नु, मुख सुक्खा हुनु
२. पटक–पटक पिसाब हुनु र पिसाबको मात्रा धेरै हुनु
३. राम्ररी खाना खाए पनि दुब्लाउँदै जानु
४. रुचि बढ्नु वा भोक बढी लाग्नु
५. पटक–पटक घाउखटिरा आउनु तर छिटो निको नहुनु
६. शरीर चिलाउनु, खासगरी गुप्तांग चिलाउनु
७. हातगोडा झमझमाउनु
८. बेहोस हुनु

मधुमेहका प्रकार
टाइप १ मधुमेह : यो रोग साधारणतया किशोरकिशोरी वा बालबालिकामा देखिन्छ । यस्ता बिरामीलाई स्वस्थ जीवन बिताउन इन्सुलिन उपचार प्रविधि आवश्यक हुने केन्द्रले जनाएको छ ।

टाइप २ मधुमेह : यो रोग धेरैजसो वयस्कमा देखिन्छ । यस्ता रोग भएका बिरामी प्रायः बढी तौल र मोटो हुने गर्छन् । “यसको उपचार प्रायः स्वस्थ र सन्तुलित भोजन, शारीरिक व्यायाम र खाने औषधिबाट गरिने गरिन्छ,” केन्द्रले भनेको छ ।

गर्भवती अवस्थामा हुने मधुमेह रोग
कुनै पनि महिलालाई गर्भवती अवस्थामा मधुमेह रोग लाग्न सक्छ । गर्भवती अवस्थामा मधुमेह रोग लाग्ने सम्भावना बढाउने तत्त्व धेरै केन्द्रले जनाएको छ ।

“त्यस्ता तत्त्वहरूमा २५ वर्ष भन्दा बढी उमेरमा गर्भवती हुनु, गर्भवती हुनुभन्दा पहिले नै बढी तौल हुनु, मधुमेह रोग भएको पारिवारिक पृष्ठभूमि हुनु, पहिले पनि रगतमा चिनीको मात्रा बढी भएको हुनु, गर्भपतन वा मृत बच्चा जन्मने घटना बारम्बार हुनु वा विगतमा ठूलो बच्चा जन्माएको पृष्ठभूमि हुनु र डिम्बासयसम्बन्धी रोग हुनु हो,” केन्द्रले भनेको छ ।

विलासी जीवनशैली (शारीरिक रूपले निष्क्रिय रहने), उच्च रक्तचाप र अरू मुटुसम्बन्धी समस्याले पनि गर्भवती अवस्थामा मधुमेह रोग लाग्ने जोखिम बढाउने केन्द्रले जनाएको छ ।

मधुमेह रोगका जटिलताको रोकथाम
मधुमेह रोगका जटिलताको रोकथामका निम्ति यी उपाय अपनाउन केन्द्रले सुझाव दिएको छ–
१. स्वास्थ्यकर्मीले सिफारिस गरेको औषधि नियमित खाने
२. नियमित परीक्षण र जाँच गराई रगतमा चिनीको मात्राको जानकारी राख्ने
३. स्वस्थ खाना खाने, बढी मात्रामा हरियो सागसब्जी र फलफूल खाने । चिल्लो, गुलियो र नुनिलो कम खाने
४. शारीरिक रूपमा सक्रिय रहने
५. छालाको संक्रमण र समस्याप्रति सजग रहने
६. आँखाको नियमित जाँच गराउने
७. पैतालामा हुने झनझनाहट, जलन, छुँदा थाहा नपाउने र पैतालामा घाउ छ कि वा हुन सक्ने सम्भावनाप्रति सावधान रहने ।

केन्द्रले शारीरिक क्रियाकलापमा जोड दिएको छ । शारीरिक क्रियाकलापले रगतमा चिनीको मात्रा, शरीरको तौल र रक्तचाप नियन्त्रण गर्न, रगतमा चिल्लोको मात्रा घटाउन र मुटुसम्बन्धी समस्यालाई रोक्न मद्दत पुर्‍याउने केन्द्रले जनाएको छ ।

“शारीरिक क्रियाकलापले टाइप २ मधुमेह रोगको सुरुआतलाई पर सार्छ वा यसलाई हुनबाट रोक्छ,” केन्द्रले भनेको छ, “शारीरिक रूपमा निष्क्रिय व्यक्ति (विलासी जीवनशैली भएको व्यक्ति)को तुलनामा शारीरिक रूपमा सक्रिय व्यक्तिमा टाइप २ मधुमेह रोग लाग्न सक्ने जोखिम ३०–५०% ले कम हुने अध्ययनहरूले देखाएको छ ।”


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend