काठमाडौँ, फागुन २७ : चन्द्रागिरि नगरपालिकाले चन्द्रागिरि १२ बलम्बु गुर्जुधारादेखि कलङकीसम्म फ्लाई ओभर बनाउन संघीय सरकारसंग प्रस्ताव गरेको छ । बहुचर्चित सुरुङ मार्ग जोडिएको स्थान बलम्बु गुर्जुधारादेखि कलङकीसम्म फ्लाई ओभर बनाउन नगरपालिकाले शहरी विकास मन्त्रालयसंग आग्रह गरेको हो ।
उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले आज आगामी बजेटमा उपत्यकाको समेट्नैपर्ने योजनाबारे उपत्यकाका जनप्रतिनिधिहरुसँग गर्नुभएको छलफलमा चन्द्रागिरि नगरपालिका मेयर घनश्याम गिरीले सो प्रस्ताव गर्नुभएको हो । मेयर गिरीले भन्नुभयो, “आजको बैठकमा मैले चन्द्रागिरि १२ बलम्बु गुर्जुधारादेखि कलङकीसम्म फ्लाई ओभर बनाउन संघीय सरकारसंग प्रस्ताव राखेको छु , यसमा आगामी नयाँ बजेटमा समावेश गर्न उपप्रधानमन्त्री सकारात्मक देखिनुभएको छ । ”
बलम्बु गुर्जुधारादेखि कलङकीसम्म सडक विस्तार गर्न कठिन हुँदै गएको सन्दर्भमा सो प्रस्ताव राखिएको उहाँले जानकारी दिनुभयो । मेयर गिरीले थानकोट चित्लाङ सडक स्तरोन्नति गर्न, फोहरमैला व्यवस्थापन गर्न, आकाशेपानी पुनर्भरण गर्ने कार्यक्रम, सडक सौन्दर्यकरण कार्यक्रमम थप वजेट बिनियोजन गर्न पनि प्रस्ताव राख्नुभएको थियो ।
उपप्रधानमन्त्री सिंहले उपत्यकालाई सुन्दर र बस्नयोग्य बनाउन पालिकाले गर्न सक्ने कामबारे कार्ययोजना पेस गर्न आग्रह गर्दै पालिकाबाट आएका सुझाव समेटेर बजेटमार्फत सम्बोधन गरी अघि बढ्ने बताउनुभयो ।
