काठमाडौँ, फागुन २२ : नसर्ने रोगको रोकथामका लागि चन्द्रागिरि नगरपालिकाले ‘स्क्रीनिङ’ अभियान सुरुआत गरेको छ । नसर्ने रोगका मानिसको सङ्ख्यामा वृद्धि हुँदै गएकाले रोकथाम गर्ने उद्देश्यले आजदेखि स्क्रीनिङ अभियान सञ्चालन भएको चन्द्रागिरि नगरपालिका जनस्वास्थ्य शाखाले जनाएको छ ।
चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीको अध्यक्षतामा हालै बसेको बैठकले नसर्ने रोगको रोकथामका लागि चन्द्रागिरि नगरपालिकाले फागुन २२ ‘स्क्रीनिङ’ अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको थियो ।
अभियानको चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी,निमित्त प्रमुख प्रशासकीय अधिकृत सुजन खनाल ,चन्द्रागिरि ११ का वडाध्यक्ष नरेन्द्रराज श्रेष्ठ,चन्द्रागिरि नगरपालिका,जनस्वास्थ्य शाखा प्रमुख एवम् वरिष्ठ जनस्वास्थ्य अधिकृत शम्भुकुमार महतो लगायतले संयुक्त रुपमा सुभारम्भ गर्नुभयो ।
पछिल्ला केही वर्षदेखि तीस वर्ष भन्दामाथि उमेर समूहकामा नसर्ने रोगको जोखिम बढ्दै गएको देखिएकाले स्क्रीनिङ अभियान आज सञ्चालन भएको र यसपछि नगरपालिका अन्तर्गतका १५ वटै वडाका १८ स्वास्थ्य सस्था मार्फत नियमिति नै स्क्रीनिङ जारी रहने जनस्वास्थ्य शाखा प्रमुख एवम् वरिष्ठ जनस्वास्थ्य अधिकृत महतोले जानकारी दिनुभयो ।
उहाँका अनुसार अभियानमा उक्त उमेर समूहमा मधुमेह (रगतमा चिनीको मात्रा परीक्षण), रक्तचाप (ब्लडप्रेसर) मापन, मिर्गौलासम्बन्धी रोगको जाँच, शरिरको उचाइ र तौल अनुपात (बीएमआई) मापन परीक्षण गरिएको छ । अभियानका क्रममा स्वास्थ्य परीक्षण पश्चात नसर्ने रोगको पहिचान भएकालाई परामर्श गरिएको जनाइएको छ । नगरपालिका अन्तर्गतका १५ वटै वडाका १८ स्वास्थ्य सस्था मार्फत अभियान कार्यक्रम सञ्चालन गरिएको छ भने यसबाट नसर्ने रोग न्यूनीकरण हुने अपेक्षा गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नसर्ने रोग पहिचानका लागि एकमहिने स्क्रीनिङ’ अभियान ७५३ वटै पालिका मार्फत सञ्चालन गर्ने निर्णय गरेको थियो ।नेपालमा मृत्यु र अपांगताको मुख्य कारण नसर्ने रोगको बढ्दो जोखिमलाई ध्यानमा राखेर यही फागुन महिनाभरि नसर्ने रोगहरूको रोकथाम, प्रारम्भिक पहिचान र व्यवस्थापनका लागि देशव्यापी अभियान सञ्चालन भएको हो ।
यदि तपाईं ३० वर्षभन्दा माथि उमेरकाे हुनुहुन्छ भने नजिकैको वा आफूलाई पायक पर्ने स्वास्थ्य संस्थामा गई मधुमेह (रगतमा चिनीको मात्रा परीक्षण), रक्तचाप (ब्लडप्रेसर) मापन, मिर्गौलासम्बन्धी रोगको जाँच, शरिरको उचाइ र तौल अनुपात (बीएमआई) मापन जाँचहरू गराई आफ्नो स्वास्थ्य अवस्था थाहा पाउन सकिनेछ ।
