काठमाडौँ, फागुन २१ ः चन्द्रागिरि नगरपालिकाले नगरक्षेत्रका सामुदायिक वनमा डढेलो (आगलागी) लाग्न नदिन विशेष सचेताको अभियान सञ्चालन गर्ने भएको छ । यसका लागि सबै वन उपभोक्ता समिति तथा वन पालेहरुलाई तालिम तथा सम्बन्धीत वनका उपाभोक्तालाई सचेतना जगाउने भएको छ ।
चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीको अध्यक्षतामा आज बसेको नगरपालिकास्तरीय विपद्व्यवस्थापन समितिको बैठकले डढेलो लाग्नै नदिने र लागेका तत्काल नियन्त्रणका लागि आफ्ना सबै संयन्त्रलाई तयारी अबस्थामा राख्ने समेत निर्णय गरेको छ । बैठकमा डढेलो नियन्त्रण सम्बन्धी रणनीति समेत तयार गर्ने निर्णय समेत गरेको छ ।
बैठकमा नगरप्रमुख गिरीले विपद् व्यवस्थापनमा नगरपालिकाले उच्च प्राथमिता दिएको जानकारी दिँदै नगरक्षेत्रका सामुदायिक वनमा डढेलो लाग्न नदिन जनचेता नै सही माध्यम भएको बताउनुहुँदै यसका लागि समुदायमा कार्यक्रम सञ्चालन गर्नुपर्छ भन्नुभयो । उहाँले विगतमा पिकनिक (वनभोज) जानेहरुबाट आगलागीका घटना भएको चर्चा गर्दै यसतर्फ ध्यान दिन र वन क्षेत्र पनि साझा अधिकारका क्षेत्र भित्र रहेको हुँदा स्थानीय सरकारले चाहेर पनि काम गर्न नसक्ने बताउनुभयो ।
बैठममा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुजनराज खनाल, उपप्रमुख बसन्ती श्रेष्ठ , चन्द्रागिरि ८ का वडाध्यक्ष प्रल्हाद रिजाल तथा वातावरण, सरसफाइ तथा विपद् व्यवस्थापन शाखाका प्रमुख भद्रा अर्यालको सहभागिता रहेको थियो । बैठकमा कता हो ? ठेगाना प्रणाली सम्बन्धी प्रस्तुती समेत गरिएको थियो ।
