काठमाडौं, फागुन ४ : प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । प्रधानमन्त्रीले मन्त्री पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो ।
उहाँहरु दुवै जना शनिबार पर्यटन प्रवद्र्धनसम्बन्धी पोखरामा आयोजित कार्यक्रममा बेलुन उडाउने क्रममा घाइते हुनुभएको हो । उहाँहरु दुवै जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छ । प्रधानमन्त्रीलाई अस्पतालका निर्देशक डा किरणकिशोर नकर्मीलगायत उहाँहरुको उपचारमा संलग्न चिकित्सकले स्वास्थ्य अवस्थाबारे जानकारी दिनुभएको थियो ।
डा नकर्मीले मन्त्री पौडेल र महानगर प्रमुख आचार्यको अवस्था सामान्य हुँदै गए पनि केह समय चिकित्सकको निगरानीमा राख्नुपर्ने बताउनुभएको थियो । अस्पताललाई जलनको उपचारका लागि अत्याधुनिक उपकरण र प्रविधिसहितको व्यवस्था गरिनुपर्नेमा उहाँले जोड दिनुभयो । –––
