काठमाडौँ, माघ २१ : चन्द्रागिरि नगरपालिकाले किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन भोली मंगलबार (माघ २२ गतेदेखि माघ २९ गतेसम्म) ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप अभियान सञ्चालन गर्दै छ । खोप अभियान अन्तर्गत कक्षा ६ देखि १० सम्मका सामुदायिक र सस्थागत विद्यालय र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका करिव ६ हजार २०८ किशोरीलाई एचपिभी खोप लगाइने तयारी गरिएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले खोप अभियान सञ्चालन गर्न आवश्यक सबै तयारी पूरा भएको जानकारी दिनुभयो । जनस्वास्थ्य शाखा प्रमुख एवं वरिष्ठ जनस्वास्थ्य अधिकृत शम्भुकुमार महतोले भन्नुभयो “ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल देशव्यापी रुपमा यही माघ २२ गतेदेखि फागुन ६ गतेसम्म एचपिभी खोप अभियान सञ्चालन गर्दै छ । तर हामीले यो अभियान अन्तर्गत भोली माघ २२ गतेदेखि माघ २९ गतेभित्र नै लक्षित किशोरीलाई खोप लगाउने कार्य सम्पन्न गर्ने गरी कार्यतालिका बनाएका छौँ । पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमन पापिलोमा भाइरस सङ्क्रमण रहेकोले त्यसको विरूद्ध खोप लगाउनुपर्ने हुन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको किशोरीलाई एचपिभी खोप लगाउने नीति र अभियान अन्तर्गत चन्द्रागिरि नगरपालिकामा आवश्यक सबै तयारी पूरा गरेको छ ।”
नगरपालिकाले सामुदायिक र सस्थागत दुवै ५३ विद्यालयमा, आफ्ना १८ स्वास्थ्य सस्थाका स्वास्थ्यकर्मी मार्फत् भोली माघ २२ गतेदेखि माघ २९ गते भित्र किशोरीहरुलाई ‘एचपिभी’ खोप लगाउने कार्यतालिका बनाएको वरिष्ठ जनस्वास्थ्य अधिकृत महतोले बताउनुभयो ।
चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले एक सन्देश जारी गर्दै भोलीदेखि सञ्चालन हुने एचपिभी खोप अभियानमा सहभागी भई निर्धक्कसाथ खोप लगाउन किशोरीहरुलाई आह्वान गर्नुभएको छ ।
उहाँले भन्नुभयो “ म सामुदायिक र सस्थागत विद्यालयमा कक्षा ६ देखि १० सम्म र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई एचपिभी खोप लगाउन आग्रह गर्दछु । नगरपालिकाले स्वस्थ्य नगरवासी बनाउन स्वास्थ्य सेवालाई उच्च प्राथमिता दिएको छ । ” एचपिभी खोप अभियानका क्रममा लक्षित सबै किशोरीलाई खोप पहुँचमा पु¥याउन आवश्यक तयारी गरिएको जानकारी दिनुहुँदै उहाँले जीवन बचाउने र रक्षा गर्ने कार्य नै नगरपालिकाको पहिलो काम हो भन्नुभयो ।
राष्ट्रिय खोप सल्लाहकार समितिका अध्यक्ष डा. रमेशकान्त अधिकारी यस वर्षदेखि नै एचपीभी खोपलाई राष्ट्रिय खोप तालिकामा समावेश गरेको बताउनुभयो । “एचभीपी खोप विश्व स्वास्थ्य संगठनबाट प्रमाणित गुणस्तरयुक्त खोप हो र संसारका धेरै देशमा प्रयोग हुँदै अएको खोप हो ” डा. अधिकारीले भन्नुभयो, “नेपालमा प्रयोग गर्नको लागि नेपालको औषधि व्यवस्था विभागबाट अनुमति पाइसकेको छ । त्यसैले खोप निर्धक्क लगाउनुहोस् ।”
किन १० देखि १४ वर्ष उमेर तोकियो ?
नेपालमा पाठेघरको क्यान्सर महिलामा देखिने क्यान्सरमध्ये पहिलो र समग्र क्यान्सरका प्रकारमध्ये फोक्सोपछि दोस्रो स्थानमा छ । नेपालमा औसत हरेक दिन ६ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुन्छ भने चार जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने गरेको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार नेपालमा प्रति एक लाख महिलामध्ये १४ जनाभन्दा बढीलाई पाठेघरको मुखको क्यान्सर हुन्छ । चिकित्सकका अनुसार ९ देखि १४ वर्ष भ्याक्सिन लगाउने उपयुक्त उमेर हो । किनकि यो उमेरमा बालिका यौनजन्य क्रियाकलापमा सक्रिय भएका हुँदैनन् । सानो उमेरमा लगाएको भ्याक्सिन बढी प्रभावकारी हुन्छ । एचपीभी विरुद्धको खोप लगाएपछि शरीरमा एन्टिबडी बन्ने हुँदा क्यान्सरको जोखिम कम हुन्छ । एचपिभी खोप लगाउँदा एचपिभी सङ्क्रमणबाट हुने क्यान्सरलाई ७० प्रतिशतले घटाउन सहयोग पुग्ने बताइएको छ । विश्व स्वास्थ्य संगठनले करिब दुई दशक अघि देखि प्रयोगको लागि अनुमति दिएको एचपीभी खोप हालसम्म १४५ देशमा राष्ट्रिय खोप तालिकामा समावेश गरी किशोरीलाई दिँदै आएको छ ।
