काठमाडौँ, माघ १६ ःअभिनेत्री मनिषा कोइराला एचपीभी खोप अभियानका लागि सद्भावना दूत नियुक्त भएकी छिन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार उनीसँग उक्त अभियानको सद्भावना दूतका रुपमा नियुक्त गर्ने सहमति पत्रमा हस्ताक्षर गरेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले एचपीभी खोप देशव्यापी रुपमा अघि बढाउने बताएका छन्। यो अभियानको एचपीभी भाइरसबिरुद्ध लड्न सघाउने उनले बताए। नेपालमा १० वर्षदेखि १४ वर्ष उमेर समूहका १६ लाख किशोरीहरूलाई नेपाल सरकारले भ्याक्सिन उपलब्ध गराउने बताए। मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियान यही माघ २२ गतेदेखि सुरु गर्दैछ । आगामी फागुन ६ गतेसम्म देशैभरि सञ्चालन हुने यस अभियानअन्तर्गत १६ लाख ८८ हजार सात सय ६८ किशोरीलाई एचपिभी खोप लगाइँदैछ ।
मन्त्रालयले यही माघ २२ गते (विश्व क्यान्सर दिवसका) दिन खोप अभियानको सुरूआत गर्ने जनाएको हो ।नेपालमा औसतमा हरेक दिन छ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने र चारजना महिलाहरूको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने गरेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले जनाएको छ ।
