काठमाडौं, पुष २७ : “सामाजिक एकता भातृत्व सांस्कृतिक एकताको पहिचान – शान्त सभ्य र सम्बृद्ध नमुनावस्ती निर्माण हाम्रो अभियान” नारा आत्मसाथ गर्दै चन्द्रागिरि नगरपालिका वडा नं १०, सिम्चाका टोलटोलका आवश्यकता र विकास निर्माणका सवालहरुमा पैरवि गर्ने र आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा नेतृत्व गर्ने मुल ध्ययका साथ २०७३ साल असोज १९ गते विधिवत दर्ता भएर काम गरिरहेको नमुनावस्ती सुधार समितिको आठौं साधारण सभा सम्पन्न भएको छ ।
सिम्चा क्षेत्रको टोलहरुको सामाजिक, सास्कृतिक, आर्थिक विकासका लागि यस समितिले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । आज यहाँ आयोजित कार्यक्रममा समितिका अध्यक्ष समीर अधिकारीको अध्यक्षता र चनपा वडा नं १० का वडाध्यक्ष शिवकुमार महर्जनको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।
चनपा वडा नं १० का वडाध्यक्ष शिवकुमार महर्जनले वडाका भौगोलिक क्षेत्रहरुलाई ७ भेगमा विभाजन गरिएको र विकास निर्माणका, सामाजिक उत्तरदायित्वका र नेतृत्व विकासका कामहरु सवै भेगहरुलाई समेटिने गरि गर्ने गरिएको जानकारी गराउनुभयो । यस सिम्चा क्षेत्रमा सामाजिक, सास्कृतिक, जातीय लगायतका कुराहरुमा विविधता भएपनि सामाजिक एकता रहेको कुरामा जोड दिनुभयो । यस क्षेत्रमा हाटवजार संचालनका लागि नेतृत्व लिन समितिलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो –“सिम्चा क्षेत्रमा तरकारी व्यवसायीहरुको बाहुल्यता भएको हुँदा उनीहरुसँगको समन्वयमा तरकारी हाटवजार संचालन गर्न सकिएमा वडावासीलाई सुलभ मुल्यमा ताजा तरकारी उपलव्ध गराउन सकिन्छ । त्यसका लागि समितिले पहलकदमी लिएमा वडाबाट सहयोग गर्न हामी तयार छौं ।”
समितिका अध्यक्ष अधिकारीले साधारण सभामा उठेका जिज्ञासाहरुलाई सम्वोधन गर्दै सुझाव सल्लाहको कार्यान्वयन गर्दै अझै समावेशी, पारदर्शी रुपमा अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
साधारण सभा कार्यक्रम समितिका सचिव सुरेन्द्र दवाँसेले संचालन गर्नुभएको थियो भने समितिका संस्थापक अध्यक्ष एवं वर्तमान सल्लाहकार भेषनाथ आचार्य, सल्लाहकार शारदा खतिवडा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
