Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

नेपालको कृषिको विकासका लागि चीनको सहयोग महत्वपुर्ण छ : कृषिमन्त्री रामनाथ अधिकारी


सूचना कुण्ड
नेपालको कृषिको विकासका लागि चीनको सहयोग महत्वपुर्ण छ : कृषिमन्त्री रामनाथ अधिकारी

 

काठमाडौ ,पुस २३ :  कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपालमा विशेषगरी कृषि र पर्यटनको क्षेत्रमा लगानीको प्रचुर सम्भावना भएकाले चीनको विशेषज्ञता तथा सहयोग यस क्षेत्रको विकासको लागि महत्वपूर्ण हुने बताउनुभएको छ । मन्त्री अधिकारीले नेपाल सरकारले अघि सारेको कृषिमा लगानी दशक" लाई सफल पार्न ठूलो लगानीको आवश्यकता पर्ने र यसका लागि चीन सरकारबाट अवश्यक सहयोग प्राप्त हुने अपेक्षा पनि व्यक्त गर्नुभएको छ ।

फाउन्डेसन अफ ट्रान्स हिमालयन रिसर्च एण्ड स्टडिज (फाउन्टेन्स) ले, आज काठमाडौमा आयोजना गरेको आजको बीआरआई ढाँचामार्फत नेपालको पर्यटन र कृषि क्षेत्रको उन्नतिका निमित्त अवसरहरूको खोजी (अनलकिङ्ग अपर्चुनिटिज एड्भान्सिङ्ग नेपाल्स टुरिजम एण्ड एग्रिकल्चर थ्रु द वि आर आइ फ्रेमवर्क ) संवाद कार्यक्रम लाई सम्बोधन गर्दै मन्त्री अधिकारीले कृषिलाई आधुनिकीकरण गर्ने, जलविद्युतको विशाल सम्भावनालाई उत्पादनमा बदल्ने, पूर्वाधारको विकासलाई तीव्रता दिने, पर्यटनको सम्भावनालाई साकार पार्ने र यी सबैका लागि जनशक्तिको विकास गर्ने लक्ष्य सरकारले राखेका उल्लेख गर्दै यसको लागि मित्र राष्ट्र चीनको सहयोग र साथको अपेक्षा व्यक्त गर्नुभएको हो ।

मन्त्री अधिकारीले सन २०२३ को डिसेम्वर १८ देखि ३० सम्म चीनमा भएको नेपाली सांसदहरुको कार्यशाला गोष्ठीमा नेपाली प्रतिनिधी मण्डलमा आफू पनि सहभागी भएको र त्यस क्रममा कुईयाङ्ग प्रान्तको वेन्जिङ्ग गाउँमा स्ट्रवेरी फार्मले प्रभावित पारेको पनि वताउनुभयो।नेपाल र चीन विच कृषि क्षेत्रमा भए गरेको सहकार्य मार्फत दुबै देशले लाभ लिन सक्ने र यस्को कार्यन्व्यन वाट नेपालको कृषि उपजले चीनको बजार सम्म पहुँच कायम हुने विश्वास ब्यक्त्त गर्नुभयो । चीन र नेपाल सरकार बिच कृषि, पशुपन्छी तथा मत्स्यपालनको क्षेत्रको समझदारी पत्रमा सन २०२३ मा हस्ताक्षर भएको थियो ।त्यस्तै नेपालबाट औषधिजन्य वनस्पति निर्यात गर्नको लागि फाइटोसेनिटरी प्रोटोकलमा पनि हस्ताक्षर भएको छ ।

त्यस्तै नेपालबाट सुन्तलाजातका फलफूल निर्यात गर्नको लागि फाइटोसेनिटरी प्रोटोकलमा नेपालको कृषि विभाग र चिनको भन्सार प्रशासन बीच ३० अक्टोबर २०१९ मा हस्ताक्षर भएको थियो। नेपालबाट चीनमा हाईलेज निर्यातको लागि सुरक्षा र स्वास्थ्य अवस्था सम्बन्धी प्रोटोकलमा दुई सरकारबीच हस्ताक्षर भएको छ र निर्यातको सुरुवात पनि भएको छ ।नेपालबाट चीनमा थर्मल प्रशोधित भैसीको मासु निर्यात गर्ने सम्बन्धमा पनि हस्ताक्षर भएको छ यसले अव नेपालबाट चीनमा थर्मल प्रशोधित भैसीको मासु निर्यात गर्ने बाटो खुलेको छ भने व्यवसायिक राँगा भैसी पालनको संभावना पनि बढेको छ ।

औषधिजन्य वनस्पति निर्यातको लागि जनवादी गणतन्त्र चीनको भन्सार प्रशासनसंग समन्वय भएको छ भने याक र चौरीको नश्ल सुधार तथा मूल्य श्रृखँला प्रवर्द्धन गर्नको लागि चीन सरकारसंग अनुरोध गरिएको छ ।

हालै प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा जारी संयुक्त बक्तव्यमा उल्लेख भएको कृषि औद्यौगिक प्रदर्शनी पार्कको लागि पनि कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट प्रारम्भिक अध्ययन सुरु भएको छ । कृषि औद्यौगिक प्रदर्शनी पार्क स्थापना र संचालनको लागि यस अघि नै चीन सरकारलाई नेपालले अनुरोध गरेको थियो ।

हिमाली क्षेत्रमा निर्यातमुखि व्यवसायिक आलु तथा तरकारी, याक, चौरीको नश्ल सुधार, भेडाको नश्ल सुधार, पशुपन्छी स्वास्थ सुधार तथा सवलीकरण र वहुकार्यात्मक प्रयोगशाला स्थापना तथा स्यानीटरी फाईटोस्यानटरीको क्षेत्रमा क्षमता विकास सम्बन्धि आयोजनाहरुमा सहयोग तथा सहकार्य गर्न ५ वटा अवधारणा पत्रहरु नेपालले चीन सरकार समक्ष २०२३ मा पेश गरेको छ । यी आयोजनाहरु संचालन गर्न सकेमा दुई देश विचको कृषि क्षेत्रको सहकार्यमा थप ईटा थपिने आशा मन्त्री अधिकारीले लिनुभएको छ ।

कृषि प्राविधिकहरुलाई चीनमा तालिमका लागि पठाउने , दुई देश विच भएको समझदारी पत्र र अन्य विषयहरुमा संयुक्त कृषि कार्यदलको बैठक आयोजना गरी थप प्रभावकारी कार्यान्वयन गर्ने सम्भावना रहेको मन्त्री अधिकारीले उल्लेख गर्नुभयो ।कृषि क्षेत्रको विकासका लागी नेपालमै हार्इव्रिड विउविजनहरुको उत्पादन उन्नत जातहरुको आदान प्रदान, जैविक विषादीहरुको उत्पादन, मिश्रित रासायनिक मलको उत्पादनको क्षेत्रमा चिनिया लगानी र प्रविधि निकै महत्वपूर्ण हुने अपेक्षा पनि मन्त्री अधिकारीले व्यक्त गर्नु भयो ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend