काठमाडौँ, पुस २० : क्षयारोग मुक्त नेपाल अभियान अन्तर्गत चन्द्रागिरि नगरपालिकाले क्षयरोगमुक्त नगरपालिका बनाउन विशेष अभियान थाल्ने भएको छ । घरघर एवम् समुदायस्तरमा क्षयरोगका विरामीको खोज पड्ताल , निगरानी तथा उपचारको पहुँचमा ल्याउने विशेष अभियानको ध्येय रहेको छ ।
नगरका १ देखि १५ वटै वडाका प्रत्येक घरघर तथा समुदायमा स्वयंसेवक पुगेर संभावित क्षयरोगका बिरामी खोज्ने र उपचारको पहुँचमा ल्याउन ध्येयले विशेष अभियान थाल्न लागेको वरिष्ठ जनस्वास्थ्य अधिकृत एवं चन्द्रागिरि नगरपालिकाका जनस्वास्थ्य शाखाका प्रमुख शम्भुकुमार महतोले जानकारी दिनुभयो ।
चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीको संयोजकत्वमा नगर समिति तथा सम्बन्धित वडाध्यक्षको संयोजकत्वमा वडा समिति गठन गरेर संभवतः अगामी माघदेखि क्षयरोगमुक्त नगरपालिका बनाउन विशेष अभियान थालिने उहाँले बताउनुभयो । यसका लागि वडास्तरीय स्वयंसेवक परिचालन, खकार परीक्षण तथा घुम्ति सेवा नै सञ्चालन गरिने छ । वरिष्ठ अधिकृत महतोले भन्नुभयो, विशेष अभियान अन्तर्गत क्षयरोगका विरामी खोज पड्ताल, निगरानी , उपचारको सहज पहुँच तथा बिरामीले सहि तरिकाले औषधिको खाए नखाएसम्मको एकीन गर्ने तथा नखाएको भए खाने वातावरण मिलाउनेसम्मको कमहरु गरिने र चन्द्रागिरिलाई शून्य क्षयरोगमुक्त नगरपालिका बनाइने छ
सरकारले क्षयरोगको निः शुल्क उपचारको व्यवस्था मिलाएको छ ।जनस्वास्थ्य शाखाका अनुसार आर्थिक वर्ष २०८१ र ०८२ को साउनदेखि हालसम्म ८५ जना क्षयरोगका बिरामी भेटिसकिएका छन् ।
