Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

खेतीयोग्य जमिनको माटोमा अम्लीयपन निरन्तर बढ्दै


सूचना कुण्ड
खेतीयोग्य जमिनको माटोमा अम्लीयपन निरन्तर बढ्दै

काठमाडौँ, पुस १९ :  खेती गर्नुअघि माटोको अनिवार्य परीक्षण गर्न थालेपछि किसानमा नयाँ हौसला जागेको छ । खेती गर्ने माटोको गुणस्तर परीक्षण नहुँदा उत्पादनमा ह्रास र तथ्याङ्कको अभावले समस्या समाधान गर्न पनि अरू समस्या हुने गर्दथ्यो । 

परीक्षणको तथ्यबाट डराउने अवस्था नभए पनि सचेत हुन र माटोको गुणस्तर बढाउन आवश्यक देखिएको छ । देशव्यापी माटो जँचाउने किसानको सङ्ख्या बढेसँगै त्यसमा अम्लीयपनको मात्रा बढेको तथ्य बाहिर आएपछि अम्लीय र क्षारीय भएको माटोको गुणस्तर बढाउन कृषि प्राविधिकको सल्लाह लिन विज्ञहरूले सुझाव दिएका छन् । 

लामो समयदेखि माटोको गुणस्तरबारे अध्ययन गरिरहेका कृषि प्रचार अधिकृत कृष्ण धितालले एक दशकअघिसम्म तराईका निश्चित जिल्लामा मात्रै माटोको क्षमता जाँच्ने उपकरण भएकामा सङ्घीयतापछि माटो जाँच्ने प्रविधि हिमाल र पहाडी जिल्लामा पुगेको बताउनुभयो । त्यससँगै त्यहाँका सरकारी निकायको सहयोगमा माटोको परीक्षण थालेपछि त्यहाँको माटोमा पनि अम्लीयपन देखिएको हुन सक्ने बताउनुभयो । 

अम्लीयपन भएको माटोको उपचार कृषि चुन र प्राङ्गारिक मलले नै सम्भव हुने भएकाले माटोको गुणस्तरमा ध्यान दिन सुझाव दिनुभयो । खेतीयोग्य जमिनको माटोमा अम्लीयपन पछिल्ला वर्षमा निरन्तर बढ्दै जान थालेपछि माटोको गुणस्तरमा परीक्षण गरेर मात्रै बाली लगाउँदा किसानलाई फाइदा पुग्ने भएकाले कम्तीमा माटो परीक्षणका आधारमा बाली लगाउँदा जोखिम कम हुने उहाँले किसानलाई सुझाव दिनुभयो । 

कृषि अनुसन्धान परिषद् (नार्क) ले देशका विभिन्न ठाउँबाट लिइएको नमुना परीक्षण गर्दा माटोमा ६६ प्रतिशत अम्लीयपन पाइएको उल्लेख गरेको छ । माटो परीक्षण गर्दा अम्लीयपन भएको वा क्षारीयपन भएको जस्ता समस्या थाहा भएपछि माटो परीक्षण गरेर कृषि प्राविधिकको सल्लाहमा गुणस्तर बढाउन सकिने नार्कले उल्लेख गरेको छ । 

६६ प्रतिशत माटोमा अम्लीयपन देखिएपछि नार्कले पुनः ७७ जिल्लाबाट माटोको परीक्षण सुरु गरेको छ । माटोविज्ञ डा. श्रीप्रसाद विष्टले नार्कले ७७ वटै जिल्लामा गरिएको माटो परीक्षणको नयाँ तथ्याङ्क आउन बाँकी रहेको बताउनुभयो । उहाँले विगतको तथ्य हेर्दा खेतीयोग्य जमिनको माटोमा अम्लीयपन देखिएको र त्यसमध्ये पनि पूर्वी क्षेत्रमा धेरै पाइएको स्पष्ट पार्नुभयो । 

वेबसाइटबाटै माटो जाँच  

तीन वर्षअघि कृषि अनुसन्धान परिषद् नार्कले सञ्चालनमा ल्याएको माटो परीक्षणको वेबसाइटमा लाखौँले माटो र कृषिसम्बन्धी जानकारी लिनेको सङ्ख्या पनि बढेको हुन सक्ने अनुमान गरिएको छ । 

७७ जिल्ला नै कभरेज रहेको सो वेबसाइटले फोटो खिचेर त्यहाँको माटोको स्वास्थ्यबारे जानकारी दिने गरेको छ । एकै क्लिकमा सम्पूर्ण माटोको अवस्थाबारे जानकारी दिने वेबसाइट विकास गरेसँगै त्यसबाट लाखौँ कृषकले फाइदा उठाएको नार्कले जनाएको छ । 

डा. विष्टले पछिल्लो १६ महिनामै एक लाखभन्दा धेरैले त्यसबाट जानकारी लिएको बताउनुभयो । मोबाइल, ल्यापटप र कम्युटरका माध्यमबाट आफूले खोजेको जानकारी सहजै पाउन सकिन्छ । त्यसका लागि इन्टरनेट भने अनिवार्य छ । 

नेपालको भूभाग सुहाउँदो माटोको विद्युतीय नक्सा (डिजिटल सोयल म्याप) को आधारमा त्यहाँको वस्तुस्थितिबारे जानकारी दिने वेबसाइटले कृषकको समस्या समाधान गरिरहेको छ । 

विष्टले बालीनालीबाट राम्रो उत्पादन लिन माटोको गुणस्तर राम्रो हुनुपर्ने गुणस्तरीय माटोमा बाली उत्पादन राम्रो हुने बताउनुभयो । उहाँले माटोको अम्लीयपन, उर्वराशक्ति, रसायन पदार्थको मात्रा, बनावट तथा गुणलगायत सम्पूर्ण जानकारी दिने उद्देश्यले डिजिटल नक्साङ्कन गरिएको र सोही आधारमा किसानले आफ्नो माटोबारे पूर्ण जानकारी पाएको उल्लेख गर्नुभयो । दैनिक सो वेबबाट १५० जनाले माटोबारे जानकारी लिने गरेको उहाँले स्पष्ट पार्नुभयो । 

विद्युतीय नक्साले प्रदेश, जिल्ला, पालिका, वडाको मात्रै होइन, कुनै विन्दुमा एक क्लिक गरेपछि त्यहाँको माटोको गुणस्तरबारे जानकारी पाउन सकिन्छ । केही वर्षअघि तराईका जिल्लामा मात्रै माटोको अवस्थाबारे जानकारी पाउने भए पनि अहिले ७७ जिल्लाको वडाको टोलमा माटोको अवस्था कस्तो छ भनेर जानकारी आएको उहाँले स्पष्ट पार्नुभयो । 

सोही नक्साका आधारमा आफ्नो खेतमा कस्तो खेती लगाउँदा उपयुक्त हुन्छ भनेर जानकारी पाएको मण्डनदेउपुरका कृषक उमेश सापकोटाले बताउनुभयो । उहाँले विदेशबाट फर्किएपछि सोही नक्साका आधारमा आफ्नो जग्गामा माटोको गुण कस्तो रहेछ भन्ने जानकारी मिलेको बताउनुभयो । उहाँले त्यसपछि मात्रै मल कति प्रयोग गर्ने, कस्तो बाली लगाउने माटोको स्वास्थ्य सुधार्न के कस्तो उपाय अपनाउन भन्नेबारे जानकारी पाएको बताउनुभयो । 

सिन्धुपाल्चोक जुगलका मित्र श्रेष्ठले भूकम्पपछि सुन्तला अमिलो हुनुमा अम्लीयपन बढेको भन्ने जानकारी सोही माध्यमबाट थाहा पाएको र कृषिचुनको प्रयोगपछि सुन्तलाको स्वाद पुरानै अवस्थामा पुगेको बताउनुभयो । उहाँले प्रयोग गर्न जान्ने हो भने सो वेबसाइट निकै फलदायी रहेको बताउनुभयो । त्यसका लागि इन्टरनेटको पहुँच र स्मार्ट फोन आवश्यक पर्ने नार्कले उल्लेख गरेको छ । गुगलमा ‘सोयल डट नार्क डट एनपी’ लाई अङ्ग्रेजी अक्षरमा राखेर निर्देशन अनुसार माटो परीक्षण गर्न सकिन्छ । 

प्रविधि विकाससँगै कृषकले प्रयोगशालामा माटो ल्याएर आफ्नो माटोको अवस्था जान्न पछिल्लो १६ महिनामा एकभन्दा धेरै किसानले यसको प्रयोग गरेका छन् । 


प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
ट्रेन्डिङ
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend