Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान


सूचना कुण्ड
जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान

काठमाडौँ,  पुस ७ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सलाई बधाईसहित सम्मान गर्नुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्कृष्ट प्रदर्शनका साथ नेपाली क्रिकेटको स्तर उकास्न भूमिका निर्वाह गर्ने उक्त टिमका क्याप्टेन र खेलाडीका साथै नेपाल क्रिकेट सङ्घ र खेलका व्यवस्थापकलाई बधाइ दिनुभएको हो । शनिबार कीर्तिपुर क्रिकेट मैदानमा भएको खेलामा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोएल्सलाई विजय हासिल गरेको थियो । प्रधानमन्त्री ओलीले आगामी दिनमा अझ ठुला सफलता हासिल गर्न शुभकामना दिँदै विश्वमा ख्यातिप्राप्त ब्याट्सम्यान पनि नेपाली हुन सक्छन् भन्ने देखाउने गरी आत्मबल, सीप र उत्साह कायम गर्न आग्रह गर्नुभयो । “यो हामी सबैको जित हो । नेपालीको जित हो । एनपिएलको जित हो । यस खेलमा तपाईँहरुको असाधारण क्षमता देखिएको छ । दोस्रो हुने सुदूरपश्चिम पनि कमजोर थिएन । कठोर चुनौतीको सामना गरेर विजय हासिल गर्ने जनकपुर बोल्ट्स्का खेलाडीहरु बधाईका पात्र हुनुहुन्छ ।”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “तपाईँहरु हिरो हो । नायक र महानायक हो । म तपार्ईँहरुको प्रशंसा गर्दछु । खेलको विकासले देश विकासको स्तर पनि मापन गर्छ, आगामी दिनमा अझ ठुला सफलता हासिलका लागि म शुभकामना दिन्छु ।” आफूले प्रधानमन्त्री बहालीपछि हुँदा कीर्तिपुर क्रिकेट मैदानको स्तरतोन्नतीको पहिलो निर्णयमा गरिएको र निर्माणका लागि बोलपत्र आव्हान गरिएको सुनाउँदै उहाँले नेपालमा सरकार र आफ्नो तर्फबाट खेल क्षेत्रको विकासका लागि गर्नुपर्ने प्रयास निरन्तर हुने अवगत गराउनुभयो । विदेशी खेलाडी नेपाल आउँदा र नेपालको खेल क्षेत्रमा विदेशको लगानी वा सहयोग ल्याउन झञ्झटिलो प्रक्रिया भएको क्रिकेट सङ्घ र खेल व्यवस्थापकका गुनासो सुनेपछि प्रधानमन्त्री ओलीले त्यस्तो खालको अवस्था हुन नहुने र सरकारले आवश्यक सहजीकरण गर्ने विश्वास दिलाउनुभयो । सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले सरकारले क्रिकेट खेललाई प्राथमिकतामा राखेकामा धन्यवाद दिँदै विदेशका ठुला खेलाडीलाई श्रम स्वीकृतिमा झञ्झटिलो प्रक्रिया अन्त्य गराउन आग्रह गर्नुभएको थियो । उक्त टिमका क्याप्टेन आसिफ शेखले प्रधानमन्त्री ओलीसँग भेटेर बधाई र सम्मान पाउँदा आफूहरुलाई खुसी लागेको प्रतिक्रिया दिनुभयो ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend