Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

एनपिएलको उपाधिका लागि जनकपुर र सुदूरपश्चिम भिड्ने, बाहिरियो कर्णाली


सूचना कुण्ड
एनपिएलको उपाधिका लागि जनकपुर र सुदूरपश्चिम भिड्ने, बाहिरियो कर्णाली

काठमाडौँ, पुस४ :सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधिका लागि जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुने भएको छ‍। 

बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको दोस्रो क्वालिफायरमा कर्णाली याक्सलाई २ विकेटले पराजित गर्दै जनकपुरले फाइनलमा स्थान पक्का गरेको हो।

जारी एनपिएलमा सुदूरपश्चिम र जनकपुरबीच अब तेस्रो भिडन्त हुने भएको छ। यसअघि लिग चरणमा र पहिलो क्वालिफायर दुवै खेलमा जनकपुरमाथि सुदूरपश्चिमले जित निकालेको थियो। फाइनल खेल शनिबार मध्यान्ह हुनेछ।

बिहीबार कर्णालीले दिएको ११९ रनको सामान्य लक्ष्य जनकपुरले १९ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्‍यो। 

जनकपुरका शीर्ष तीन ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। ओपनरद्वय शुभ कंसाकार ३ रन र कप्तान आसिफ शेख ४ रनमै आउट भए। लाहिरू मिलान्था पनि २ रनमा आउट भएपछि जनकपुरले चार ओभर चल्दै गर्दा ३ विकेट गुमाएको थियो। 

आकास त्रिपाठीले १३ रन र हर्ष थाकरले १७ रन जोडे। थाकर जिमी निशमसँग असमझदारीका कारण १२औं ओभरमा रनआउट हुन पुगेका थिए।

त्यसपछि जिमी निशमले जनकपुरको आसा जगाए। उनले १७ बलमा २ चौका र ५ छक्काको मद्दतमा ४५ रन जोडे। तर उनी १५औं ओभरको तेस्रो बलमा कर्णालीका विपिनप्रसाद शर्माबाट बोल्ड हुँदा जनकपुर दबाबमा आयो। यहि ओभरको अन्तिम बलमा मोहमद मोहसिनलाई विपिनले १ रनमा एलबिडब्लूको धरापमा पर्दा खेल रोमाञ्चक मोडमा पुगेको थियो।

१९औं ओभरको चौथो बलमा मयन यादव दुई रन लिने क्रममा रनआउट हुन पुगेका थिए। उनले १८ बलमा १४ रन जोडे। यो ओभरमा जनकपुरले १४ रन लिएपछि जित निकाल्न सफल भयो। जसमा शेर मल्लले १० बलमा जोडेको नटआउट १६ रन महत्वपूर्ण सावित भयो।

Ncell

बलिङमा कर्णालीका विपिन शर्माले ३ विकेट लिए भने सोमपाल कामी, विलियम बासिस्टो र जिशन मक्सुदले १-१ रन हात पारे।

कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार दोस्रो क्वालिफायरमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको कर्णालीले ९ विकेटको क्षतिमा ११८ रन जोड्यो। 

महत्वपूर्ण खेलमा कर्णालीको ओपनिङ चल्न सकेन। चितवनविरूद्धको एलिमिनेटरको खेलमा अर्धशतक प्रहार गरेका जयकिशन कोल्सावाला १ रनमै आउट भए। उनी दोस्रो ओभरमा जनकपुरका ललितनारायण राजवंशीको बलमा हर्ष थाकरबाट क्याच भए। 

त्यसपछि छैटौं ओभरमा ओपनर देव खनाल २४ रन जोडेर आउट भए। जिमी निशमको बलमा आकाश त्रिपाठीबाट क्याच हुनुअघि उनले २० बलमा ३ चौका र १ छक्का प्रहार गरे। 

त्यसपछि जिशन मक्सुद १२ रन र विलियम बोसिस्टो १४ रनमा पेभिलियन फर्के। सातौं ओभरमा मोहमद मोहसिनले विकेटकिपर लाहिरू मिलन्थाबाट जिशनलाई क्याच गराए। बोस्सिटोलाई दशौं ओभरमा ललितले मिलन्थाबाटै क्याच गराए। 

चाडविक वाल्टनलाई १२औं औभरमा हर्ष थाकरले ११ रनमा क्याच गराए भने अर्को ओभरमा अर्जुन घर्तीलाई २ रनमा मयन यादवले रनआउट गरे। जससँगै कर्णालीले १३ ओभर चल्दै गर्दा ६ विकेट गुमाउँदा ७९ रन जोडेको थियो।

त्यसपछि सोमपाल कामी ५ रनमा आउट भए। उनी १६औं ओभरमा शेर मल्लको बलमा मोहसिनबाट क्याच भए। 

१७औं ओभरमा गुल्सन झा २५ रनमा आउट भएपछि कर्णालीको स्कोरबोर्ड झनै सुस्त हुन पुग्यो। २० बलमा १ चौका र २ छक्का प्रहार गरेका गुल्सनलाई मोहसिनले बोल्ड गरेका थिए। 

यस्तै अन्तिम बलमा जिमी निशमको एलबिडब्लूको धरापमा पर्नुअघि युनिस ठकुरीले १२ रन जोडे। अघिल्ला दुई बलमा उनले निशमलाई लगातार चौका प्रहार गरेका थिए।

बलिङमा जनकपुरका जिमी निशम, ललितनारायण राजवंशी र मोहमद मोहसिनले २-२ विकेट लिए। हर्ष थाकर र शेर मल्लले १-१ विकेट हात पारे।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend