काठमाडौँ, कात्तिक २: चन्द्रागिरि नगरपालिका भित्रका बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत हरेक वर्ष ६ महिनादेखि पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्यापसुल तथा एक वर्षदेखि पाँच वर्ष मुनिका बालबालिकालाई जुकाको औषधि खुवाइने गरिएको छ ।
चन्द्रागिरि नगरपालिकाका वरिष्ठ जनस्वास्थ्य अधिकृत शम्भुकुमार महतोले ६ महिनादेखि पाँच वर्ष मुनिका दशहजार ३७६ बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा एक वर्षदेखि पाँच वर्ष मुनिका नौहजार ५०२ बालबालिकालाई जुकाको औषधि खुवाइने लक्ष्य राखिएको जानकारी दिनुभयो । यसका साथै नगरपालिकाले ६ महिनादेखि २ वर्ष मुनिका बालबालिकालाई बालभिटा ट््यावलेट वितरण समेत गरेको छ ।
यसपटकको बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाउने कार्यक्रमका लागि नगरका १५ वटै वडामा कार्यरत १४९ महिला स्वयंसेविका सहित अन्य स्वास्थ्यकर्मी परिचालन भैराखेको छ । उनीहरुले बालबालिकालाई पायकपर्ने स्थान, विद्यालय, वडा कार्यालयमा भिटामिन ए, जुकाको औषधि र बालभिटा ट््यावलेट खुवाउने छन् । आज भिटामिन ‘ए’ ,जुकाको औषधि खान छुटेका बालबालिकालाई महिला स्वयंसेविकाले भोली घर घरमा पुगेर भिटामिन ‘ए’ ,जुकाको औषधि खुवाउने छन् । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत हरेक वर्ष ६ महिनादेखि पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्यापसुल तथा एक वर्षदेखि पाँच वर्ष मुनिका बालबालिकालाई जुकाको औषधि खुवाइने गरिएको छ ।
चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले बालबालिकाको सर्वाङ्गीण विकासको लागि खोप र पोषण दुवै अपरिहार्य आवश्यक रहेको हुँदा आफूलाई पायक पर्ने स्थानमा आफ्ना बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन आग्रह गर्नुभयो । यसवर्ष ६ महिनादेखि ५ वर्ष मुनिका करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ र एक देखि पाँच वर्ष मुनिका बालबालिकालाई १८ देखि १९ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयल लक्ष्य रहेको छ ।
