काठमाडौँ, असोज २९ :दसैँपछिको पहिलो सेयर कारोबार दिन धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ३१.४८ अंकले बढेर बन्द भएको छ । यसदिन नेप्से परिसूचक १.१७ प्रतिशतले वृद्धि भएर २६९९.६६ विन्दुमा बन्द भएको हो ।
यसदिन २०५ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने ३२ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्य स्थिर छ ।
आज तीन अर्ब ६ करोड २३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यसदिन जानकी फाइनान्स कम्पनी र मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । मिड सोलु हाइड्रोपावरको सेयर मूल्य भने १० प्रतिशतले घटेको छ ।
मंगलबार कारोबारमा आएका १३ मध्ये उत्पादन तथा प्रशोधन समूहको परिसूचकबाहेक सबै समूहको परिसूचक वृद्धि भएको छ । उत्पादन तथा प्रशोधन समूहको परिसूचक ०.२२ प्रतिशतले घटेको छ । फाइनान्स समूहको परिसूचक सर्वाधिक वृद्धि भएको छ । यो समूहको परिसूचक ४.६१ प्रतिशतले वृद्धि भएको छ ।
दसैंअघि बुधबारको कारोबारमा तीन अर्ब ७६ करोडको कारोबार भएकोमा यस मंगलबार तीन अर्ब ६ करोड रूपैयाँको कारोबार भएको छ।
यस दिन ३०७ वटा स्क्रिप्सको कारोबार भएकोमा २३० वटाको बढ्यो। त्यस्तै, ५७ को घटेको छ भने बाँकीको स्थिर छ।
यस दिन जानकी फाइनान्स र मिथिला लघुवित्तको सेयर मूल्य बढेर सर्किट लागेको छ। जानकीको १० प्रतिशतले मूल्य बढेर ६७७ रूपैयाँ ६० पैसामा कारोबार भएको छ।
मिथिलाको पनि १० प्रतिशतले बढेर एक हजार २६ रूपैंयाँमा कारोबार भएको हो। मिड सोलु हाइड्रोपावरको मूल्य १० प्रतिशतले घटेर एक हजार २६ रूपैयाँमा कारोबार भएको छ।दसैंअघि ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने अनुमति पाएको लिबर्टी इनर्जीको सेयर मूल्य २.१९ प्रतिशतले बढेको छ। कम्पनीको सेयर दुई सय ८४ रूपैयाँ १० पैसामा किनबेच भइरहेको छ।
