काठमाडौँ, असोज२५ ः बाढीपहिरोले क्षतिग्रस्त भई अवरुद्ध रहेको बिपी राजमार्ग शुक्रबारदेखि सञ्चालनमा आएको छ । असोज ११ र १२ गतेको बाढीपहिरोले काठमाडौँ उपत्यकालाई पूर्वी नेपालसँग जोड्ने छोटो स्थल मार्गका रूपमा रहेको बिपी राजमार्ग अवरुद्ध भएको थियो । बाढीपहिरोले राजमार्गको विभिन्न ठाउँमा गरी करिब १२ किलोमिटरसम्म क्षति पु-याएको थियो ।
नेपाली सेना सहितका सुरक्षाकर्मी, सडक विभाग र स्थानीय पालिकाले अहोरात्र खटिएर आजबाट एकतर्फी खुलाउन सफल भएका हुन् ।
बीपी राजमार्ग अन्तर्गत काभ्रेको रोशी- ९ मंगलटारको बोक्सीकुनामा डाइभर्सन बनाएसँगै बीपी राजमार्ग एकतर्फी सञ्चालनमा आएको हो । रोशी ९ मंगलटारका स्थानीय रूपक अधिकारीका अनुसार बोक्सीकुनाको डाइभर्सन बनेपछि बीपी राजमार्गमा सवारीसाधन चल्न थालेका छन् ।रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाका अनुसार शुक्रबार बिहान ८ बजेबाट राजमार्ग खुलाइएको छ । कतै एकतर्फी र कतै दुईतर्फी नै राजमार्ग खुलेको छ।
