Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

मारवाडीको कब्जाबाट २१ वर्षपछि मुक्त पशुपति गौशाला धर्मशाला खाली गरिँदै


सूचना कुण्ड
मारवाडीको कब्जाबाट २१ वर्षपछि मुक्त पशुपति गौशाला धर्मशाला खाली गरिँदै

काठमाडौं, असोज २३, पशुपति क्षेत्र विकास कोष र काठमाडौँ महानगरपालिकाबिच सातबुँदे सहमति भएपछि पशुपति गौशाला धर्मशाला खाली गराउने तयारी थालिएको छ । कोष र महानगरबिच भएको सहमतिमा मारवाडी सेवा समितिले व्यापार गरिरहेको पशुपति गौशाला धर्मशालामा अब गैरनाफामूलक र पूर्ण निःशुल्क रुपमा भक्तजनलाई सेवा दिने उल्लेख छ । तर अहिलेसम्म मारवाडी सेवा समितिले १९ वटा सटरबाट मासिक ३५ हजारभन्दा बढी असुल्ने तथा होटल, लज, रेस्टुरेन्ट, डायलासिस सेन्टर र व्यावसायिक प्रयोजनकै लागि जर्सी गाई पालेर दुध बेच्ने गरेको छ । समितिले धर्मशालामा व्यापार गरेर ५० लाख रुपियाँभन्दा बढी आम्दानी गरे पनि कोषलाई वार्षिक ५१ हजार रुपियाँ मात्रै बुझाउने गरेको छ ।

मारवाडी सेवा समितिले २१ वर्षदेखि कौडीको भाउमा कब्जा गरेको पशुपति गौशाला धर्मशाला काठमाडौँ जिल्ला अदालतको असोज १६ गतेको फैसलापछि कोषकै स्वामित्वमा आएको हो । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले गरेको फैसलापछि कोष सञ्चालक परिषद्को असोज २० गतेको निर्णयअनुसार कोष र महानगरपालिकाबिच धर्मशाला सञ्चालन र व्यवस्थापनसम्बन्धी सम्झौता भएको छ ।

मारवाडी सेवा समितिले २०६० मा श्रीपशुपतिनाथ अमालकोट कचहरी (हाल पशुपति क्षेत्र विकास कोष) सँग भएको सम्झौता अनुसार वार्षिक ५१ हजार रुपियाँ ‘सहयोग’ बुझाएर होटल, लज, रेस्टुरेन्ट, डायलासिस सेन्टर र जर्सी गाई पालेर व्यापार गरी पशुपतिको सम्पत्तिमा रजाइँ गर्दै आएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं पशुपति क्षेत्र विकास कोषका अध्यक्ष बद्रीप्रसाद पाण्डेले पशुपति गौशाला धर्मशालाका सन्दर्भमा अदालतले गरेको फैसलाअनुसार नीतिगत निर्णय गरेकाले अब कार्यान्वयन प्रक्रिया सुरु गरिएको जानकारी दिए । उनले अब सरकारी निकायसँगकै समन्वय र सहकार्यमा धर्मशाला सञ्चालन हुने र फैसलाको कार्यान्वयन प्रक्रिया अघि बढाउने जिम्मेवारी कोषको व्यवस्थापनले नै गर्ने बताए । 

निःशुल्क सेवा दिने, गौशाला सञ्चालन गर्ने पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाका अनुसार कोष र महानगरपालिकाबिच भएको सहमतिमा काठमाडौँ महानगरपालिका–८, स्थित (साबिक पशुपति वडा नं. २ (क) कित्ता नम्बर ८३ को चार आना १५ पैसा दुई दाम, कित्ता नम्बर ८५ मा चार रोपनी १० आना र हाल वडा नं. ८ कित्ता नम्बार ३ को तीन रोपनी पाँच आना तीन पैसा तीन दाम कित्ता नम्बर १५ को चार रोपनी आठ आना एक दाम र कित्ता नम्बर १६ को ११ आना एक पैसा तीन दामको घरजग्गामा सञ्चालन गर्न सम्झौता भएको छ । डा. थापाले गौशाला चोकस्थित पशुपति गौशाला धर्मशालाको घरजग्गालाई काठमाडौँ महानगरपालिकाले गौशाला धर्मशाला तथा सामाजिक, धार्मिक कार्य तथा सेवाका लागि आवश्यक पूर्वाधारको विकास गरी सञ्चालन तथा व्यवस्थापन गर्ने सहमति भएको बताएका छन् ।

सहमतिपत्रमा गौशाला सञ्चालन गर्ने, पशुपतिनाथ मन्दिरमा आउने श्रद्धालु भक्तजनलाई निःशुल्क भोजन, अन्नदान स्वीकार गर्ने तथा आवास सेवा सञ्चालन गर्ने धर्मशाला सञ्चालन, निःशुल्क सार्वजनिक शौचालय सञ्चालन गर्ने भनिएको छ । डा. थापाका अनुसार सहमतिबमोजिमको गौशाला एवं धर्मशाला सञ्चालन तथा व्यवस्थापन गर्न दुई पक्षीय सम्झौता र कार्यविधि निर्माण नभएसम्मका लागि काठमाडौँ महानगरपालिका–८ का वडा अध्यक्ष आशामान संगत संयोजक रहने गरी व्यवस्थापन समिति गठन गरिएको छ । समितिमा काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन विभागका विभागीय प्रमुख र पशुपति क्षेत्र विकास कोषले तोकेका प्रतिनिधि दुई जना सदस्य, काठमाडौँ महानगरपालिकाका प्रमुखले तोकेको व्यक्ति एक जना सदस्य रहने छन् । सम्झौतापत्रमा गौशाला धर्मशाला सञ्चालन तथा व्यवस्थापन गर्न व्यवस्थापन समितिले आवश्यक योजना तथा कार्यक्रम, वित्तीय स्रोत व्यवस्थापन गर्न कोष र महानगरसँग समन्वय तथा सहकार्यका कार्यक्रम तय गर्न सक्ने उल्लेख छ ।

गौशाला धर्मशाला सञ्चालन, व्यवस्थापनसम्बन्धी सम्झौता भएको मितिबाट र कार्यविधि पहिलो पक्षको सञ्चालक परिषद्को स्वीकृतिपछि महानगरको नगर कार्यपालिकाबाट स्वीकृत भई स्थानीय राजपत्रमा प्रकाशित भएको मितिबाट लागु हुने छ । डा. थापाले सहमति कार्यान्वयन गर्ने क्रममा कुनै विवाद उत्पन्न भएमा कोष र महानगरको समझदारीमा समाधान गरिने र आवश्यक ठानेमा पूरक सहमति वा कुनै नीतिगत निर्णयसमेत गर्न सक्ने सहमति भएको बताउनुभयो । सहमतिपत्रमा कोषका तर्फबाट कार्यकारी निर्देशक सुभाषचन्द्र जोशी र काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले हस्ताक्षर गर्नुभएको छ । सम्झौतापछि वडाध्यक्ष आशामान संगतले सार्वजनिक सम्पत्तिमा सबैको समान पहुँच बनाउनु सहमतिको उद्देश्य रहेको बताए । कोषका सदस्य सचिव डा. थापाको प्रस्तावमा तत्कालीन संस्कृति पर्यटनमन्त्री एवं कोष सञ्चालक परिषद्का तत्कालीन अध्यक्ष सुदन किराँतीको अध्यक्षतामा २०८० साउन १७ गते बसेको बैठकले मारवाडी सेवा समितिसँग भएको नौबुँदे सम्झौता खारेज गर्ने निर्णय गरेको थियो । कोषको निर्णयपछि समितिले दायर गरेको मुद्दामा अदालतले दाबी नपुग्ने फैसला गरेको हो ।

मासिक एक करोड रुपियाँभन्दा बढीसम्म व्यापार गर्ने मारवाडी सेवा समितिले कोषलाई वार्षिक ५१ हजार रुपियाँ तिर्ने गरेको थियो । कोषले वार्षिक भाडा परिमार्जन गर्न पत्राचार गरे पनि समितिले पटक पटक अटेरी गरेपछि सम्झौता खारेजी गर्ने निर्णयमा कोष पुगेको थियो । सम्झौता अनुसार श्रीपशुपतिनाथमा पर्व पर्वमा छाडिएका साँढेलाई परम्परा अनुसार संरक्षण गर्न सेवा समितिले सहयोग गर्ने सर्त रहे पनि मारवाडी सेवा समितिले व्यापार गर्दै आएको छ । समितिले १९ वटै सटर मासिक ३५ हजार रुपियाँभन्दा बढी भाडा असुल्ने गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् अध्यक्ष बद्रीप्रसाद पाण्डे, कोषका सदस्य सचिव डा. मिलनकुमार थापा, काठमाडौँ महानगरपालिकाका तर्फबाट प्रमुख बालेन शाहको नेतृत्वको टोलीबिच परिषद् बैठकमा पशुपति गौशाला धर्मशाला सञ्चालनसम्बन्धी कार्यविधिमा छलफल भएपछि सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

परिषद् बैठकले ‘काठमाडौँ जिल्ला अदालतको असोज १६ गतेको फैसलाबमोजिम मारवाडी सेवा समितिको दाबी नपुग्ने ठहरी फैसला भई गौशाला धर्मशालाको व्यवस्थापन गर्ने अधिकार कोषमा नै निहित भएकाले गौशाला धर्मशालाको पशुपति क्षेत्र विकास कोष व्यवस्थापनले आवश्यकता अनुसार सम्बन्धित सरकारी निकायसँग समन्वय गरी व्यवस्थापन गर्न कोषलाई निर्देशन दिने’ निर्णय गरेको थियो । मारवाडी सेवा समितिको दावी मारवाडी सेवा समितिले २०६० को सम्झौताभन्दा अघि नै धर्मशाला सञ्चालन गर्दै आएको बताएको छ । समिति निवर्तमान अध्यक्ष कैलाशचन्द्र गोयलले धर्मशाला सञ्चालन ८४ वर्षदेखि सञ्चालन गरिरहेको, २०६० मा सहयोग सम्झौता भएको र आफूहरू मोही भएको दावी गरे । २०६० मा सम्झौता हुँदा तत्कालीन अमालकोट कचहरीका तर्फबाट द्वारे कृष्णलाल वैद्य र सेवा समितिका तर्फबाट महासचिव शिवभगवान अग्रवालले हस्ताक्षर गरेको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend