Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

चन्द्रागिरिका सात वडा ‘बालश्रममुक्त वडा’ घोषणा


सूचना कुण्ड
चन्द्रागिरिका सात वडा ‘बालश्रममुक्त वडा’ घोषणा

काठमाडौँ, भदौ२९ : चन्द्रागिरि नगरपालिकाका  सात वडा ‘बालश्रममुक्त वडा’ घोषणा भएका छन् । ‘बालबालिकालाई श्रममा प्रयोग नगरौँ, बालश्रममुक्त समाजको निर्माण गरौँ’ भन्ने नारासहित हालसम्म नगरपालिकाका १५ मध्ये वडा नं ३, ५, ६, ७ , ८, ११ र १४ लाई ‘बालश्रममुक्त वडा’ घोषणा गरिएको हो ।

चालु आर्थिक वर्षभित्र सबै वडालाई ‘बालश्रममुक्त वडा’ घोषणा गरिसक्ने नगरपालिकाका प्रमुख घनश्याम गिरिले बताउनुभयो । यसका लागि नगरपालिकाले ‘बालश्रममुक्त वडा’ घोषणा कार्यक्रमलाई उच्च प्राथमितामा राखेर बजेट समेत विनियोजन गरेको छ । शनिबार वडा नं. ११ लाई बालश्रममुक्त घोषणा सभामा प्रमुख गिरीले  बालश्रममुक्त स्थानीय तह घोषणा कार्यबिधि २०७५ को लक्ष्य अनुसार बालश्रम निवारणको लागि आफूहरूले अग्रसरता लिएको बताउनुभयो ।  

बालबालिकासम्बन्धी बालमैत्री स्थानीय शासन कार्यविधि, २०६८ ले विभिन्न ३९ सूचक पूरा गरेको अवस्थामा बालश्रम घटेको हुनुपर्ने उल्लेख छ । बालमैत्री नगर घोषणाका लागि प्रारम्भिक चरणमा विभिन्न सूचक पूरा गरी वडालाई बालश्रम मुक्त बनाउँदै लगिएको उहाँले बताउनुभयो ।  उहाँले आगामी २०८१ सालको चैतसम्ममा नगरका सबै वडा बालश्रम मुक्त वडा घोषणा भइसक्ने बताउनुभयो ।

यसअघि देशभरका ६ स्थानीय तहमात्रै बालश्रममुक्त घोषणा भएका छन् । कार्यक्रममा उपप्रमुख बसन्ती श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल, वडा ११ का वडाध्यक्ष नरेन्द्रराज श्रेष्ठ , वडा १५ का वडाध्यक्ष घनश्याम लुईँटेल,सामाजिक विकास शाखाका प्रमुख रश्मी श्रेष्ठ लगायत विभिन्न नगरपालिकाका विषयगत शाखाका प्रमुख , विभिन्न बालक्लब, विद्यालयका छात्रछात्रा एवं स्थानीयवासी सहभागी थिए ।
    
 नगरपालिकाले बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यबिधि २०७५ को लक्ष्य अनुसार बालश्रम निवारणको लागि बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यबिधि २०७७ अबलम्बन गरेको छ । साथै नगरापालिकाले बालश्रम निवारणसम्बन्धी कार्ययोजना बनाई बालश्रम मुक्त नगर तथा बडा निर्माणका लागि बिबिध कार्यक्रम सञ्चालन गरिरहेको छ ।    
    
बालबालिकासम्बन्धी बालमैत्री स्थानीय शासन कार्यविधि, २०६८ ले विभिन्न ३९ सूचक पूरा गरेको अवस्थामा बालश्रम घटेको हुनुपर्ने उल्लेख छ ।  प्रमुख प्रशासकीय अधिकृत अर्यालले ‘बालश्रममुक्त वडा’पछिकोे दीगोपनका लागि स्थानीय पालिका, संघसस्थाको सहकार्य आवश्यकरहेको र यसका लागि नगरपालिकाले सहजीकरण गर्ने बताउनुभयो । अवसरमा चन्द्रागिरि –११ का वडाध्यक्ष श्रेष्ठले बालश्रम मुक्त घोषणासम्म आइपुग्न पु¥याइएको साथ र सहयोगप्रति वडावासीलाई धन्यवाद दिँदै यसको दीगोपनका लागि भविष्यमा काम गर्ने जानकारी दिनुभयो । चन्द्रागिरि –११ का वडा सदस्य सिंहबहादुर महर्जनले समृद्ध वडा बनाउन विभिन्न काम भैराखेको बताउनुभयो ।    
    
 यस अगाडि बाजागाज सहितको निस्केको ¥याली घोषणासभामा परिणत भएको थियो । सो अवसरमा कार्यक्रममा सहभागीले ‘चन्द्रागिरि नगरपालिका , ११ नं वडा, काठमाडौँलाई बालश्रम मुक्त घोषणा गरी हामी नगरपालिकाका जनप्रनिधि, विषयगत समिति, विद्यालय, बालक्लव, सञ्चारकर्मी, उद्योग व्यवसायी, संघसस्था तथा सरोकारवालाहरु बालश्रम मुक्त वडालाई नियमितता दिन र बालश्रम निवारण गर्न प्रतिवद्धछौ’भन्ने घोषणापत्रमा हस्ताक्षर समेत गर्नुभएको थियो । बालश्रम मुक्त बनाउनका लागि विभिन्न २० सूचक पार गर्नुपर्छ ।    
    
 यस्तै बालमैत्री बनाउनका लागि विभिन्न ५१ सूचक पूरा गर्नुपर्ने जनाइएको छ । अन्तर्राष्ट्रिय श्रम सङ्गठनका (आइएलओ) को प्रतिवेदनअनुसार नेपालमा पाँचदेखि १७ वर्ष उमेर समूहका ७० लाख बालबालिकामध्ये ११ लाख बालश्रममा संलग्न छन् । १३ वर्ष उमेरसमूहसम्मका बालबालिकाको संलग्नता १८ प्रतिशत रहेको छ भने १४ देखि १७ वर्ष उमेर समूहका १० प्रतिशत बालबालिका श्रममा छन् । बालकभन्दा बालिका श्रममा बढी रहेको जनाइएको छ । चौध प्रतिशत बालक र १७ प्रतिशत बालिका श्रममा रहेका हुन्छन् । –––   


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend