Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

२५ वर्षअघि बनाइएको राष्ट्रिय चिया नीति संशोधन हुन्छ : कृषि मन्त्री अधिकारी 


सूचना कुण्ड
२५ वर्षअघि बनाइएको राष्ट्रिय चिया नीति संशोधन हुन्छ : कृषि मन्त्री अधिकारी 

काठमाडौँ, भदौ ११: कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले राष्ट्रिय चिया नीति, २०५७ मा आवश्यक संशोधन गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।    
    
नेपाली अर्थोेडक्स चिया प्रदर्शनीको आज यहाँ उद्घाटन गर्नुहुँदै मन्त्री अधिकारीले २५ वर्षअघि बनाइएको चिया नीतिलाई समय सापेक्ष संशोधन गरी नेपालमा उत्पादन हुने चियाको प्रवद्र्धन गरिने बताउनुभयो । विदेश निर्यात हुने चियाको उचित मूल्य दिलाउन पनि आफूले प्रयत्न गर्ने उहाँको भनाइ थियो । नेपालमा उत्पादन हुने चियालाई आन्तरिक र बाह्य बजारमा प्रवद्र्धन गर्न मन्त्रालयले काम गरिरहेको मन्त्री अधिकारीले बताउनुभयो ।    
    
नेपाली चियाको मूख्य निर्यात बजार भारत भएको तर भारत आफै चियाको ठूलो उत्पादक रहेकाले नेपाली चियाले उचित मूल्य नपाउँदा उत्पादन लागत समेत नउठ्ने गरी चिया बिक्री गर्न चिया उद्योगी बाध्य हुने गरेकाले यो समस्या समाधानका लागि पहल गर्ने मन्त्री अधिकारीले बताउनुभयो ।  “कार्यक्रमले हाम्रो ध्यान उत्पादनको गुणस्तर सुधारमा केन्द्रित गराउन, जैविक र दिगो खेती प्रणालीलाई कायम गरी निरन्तरता दिन प्रोत्साहन गर्नेछ, नेपाली अर्थोडक्स चियाले विश्वका उत्कृष्ट चियाको बीचमा उभिन सक्ने सम्भावना छ”, उहाँले भन्नुभयो ।   

 
नेपाली चियाको बजारीकरणका लागि भारतीय बजारको विकल्प खोज्नुपर्नेमा जोड दिँदै मन्त्री अधिकारीले यसका लागि चियाको अक्सन विकल्प हुनसक्ने बताउनुभयो । नेपालमा चिया अक्सन केन्द्रलाई सञ्चालनमा ल्याउन पहल गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । प्रदर्शनीले नागरिकलाई नेपाली चियाको गुणस्तरको बारेमा जागरूकता पैदा गर्ने विश्वास गरिएको छ । स्वदेशमा उत्पादित चियाको उपभोगलाई प्रोत्साहन गर्नेछ, जसले बलियो राष्ट्रिय बजार निर्माण गर्न मद्दत गर्ने विश्वास गरेको मन्त्री अधिकारीले बताउनुभयो । निजी क्षेत्रलाई चिया प्रशोधन र प्याकेजिङमा लगानी तथा प्रोत्साहन गर्न सरकार सदैव तयार रहने उहाँले बताउनुभयो ।    
    
“नेपालको ओर्थोडक्स चिया केवल उत्पादन मात्र होइन, यो हाम्रो सम्पदा हो जसलाई हामीले माया र प्रवद्र्धन गर्नुपर्छ । नेपालको अर्थोडक्स चियालाई हाम्रो देश र विश्वभरि एक परिचित नाम बनाउन सबै मिलेर काम गरौँ”, मन्त्री अधिकारीले भन्नुभयो । चियाको ब्राण्डिङ अनि प्रवद्र्धनका कार्यक्रमलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता सो अवसरमा उहाँले व्यक्त गर्नुभयो । सामूहिक प्रयासले नेपालको अर्थोडक्स चियालाई विश्व बजारमा नेपाल चिनाउने प्रतिनिधिको रुपमा स्थापित गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने आशा गरिएको मन्त्री अधिकारीको भनाइ थियो ।    
    
चिया प्रदर्शनी आयोजक समितिका सोनाम पाल्जोर लामाले नेपाली चियाको आन्तरिक र बाह्य बजार प्रवद्र्धन गराउने उद्देश्यले नै चिया प्रदर्शनी गरिएको जानकारी दिनुभयो । चियाको प्रवद्र्धनमा २५ वर्ष अघि बनेको चिया नीति बाधक भएकाले त्यसलाई समय सापेक्ष संशोधन गरिनुपर्ने उहाँको माग थियो ।     चियाको आन्तरिक बजार प्रवद्र्धन गर्ने मुख्य उद्देश्यले प्रदर्शनी आयोजना गरिएको हो । ठमेलस्थित छायाँ सेन्टरमा आयोजना गरिएको प्रदर्शनीमा ५८ कम्पनीका एक सय ४० प्रकारका चिया राखिएको व्यवसायी पेम्बा ह्योल्मोले राससलाई जानकारी दिनुभयो । पूर्वी नेपालमा उत्पादित उच्च गुणस्तरको चिया विदेश निर्यात हुने गरेको छ । नेपालमा उत्पादित सबै चिया विदेश निर्यात हुँदैन । उच्च गुणस्तरको चिया नेपालको ठमेल र पोखराजस्ता पर्यटकको बढी चहलपहल हुने ठाउँमा पनि खपत हुने गरेको छ । इलामको सूर्योदय नगरपालिकाका युवाले उक्त कार्यक्रम आयोजना गरेका हुन् ।    
    
नेपालका विभिन्न जिल्लामा उत्पादित उच्च गुणस्तरको चिया ठमेल र पोखरा जस्ता पर्यटकको बढी चहलपहल हुने ठाउँमा प्रतिकिलो रु तीन हजारदेखि रु २० हजारसम्ममा बिक्री हुने गरेको छ । चिया एवं कफी क्षेत्रका प्रवद्र्धनमा स्थानीय, प्रदेश र केन्द्र गरी तीनै तहका सरकारको सहयोग आवश्यक पर्नेमा व्यवसायीले जोड दिएका छन् ।    
–––  

 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend