Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

गुल्मीको रेसुङ्गा र मदानेमा भेटिए नयाँ प्रजातिका आठ चरा   


सूचना कुण्ड
गुल्मीको रेसुङ्गा र मदानेमा भेटिए नयाँ प्रजातिका आठ चरा   

गुल्मी, साउन ३० :  रेसुङ्गा र मदाने वन संरक्षित क्षेत्रमा आठ प्रकारका नयाँ प्रजातिका चरा फेला परेका छन् । नेपाल पक्षी संरक्षण सङ्घले गरेको सर्वेक्षणअनुसार मदाने र रेसुङ्गा संरक्षित वन क्षेत्रमा ती चरा फेलापरेका सङ्घका परियोजना अधिकृत भरत पन्थीले राससलाई जानकारी दिनुभयो ।    
    
मदाने वन क्षेत्रमा भेटिएका थप नयाँ प्रजातिका चरामा चाकासूचक, कालोकण्ठे भुइँरोबिन, श्यामश्वेत अर्जुनक, कालो बुङ्गेचरी, आली चुइँया र हिमाली लेकचरी र रेसुङ्गा वन क्षेत्रमा सानो सेतो बकुल्ला नामको नयाँ प्रजाति फेला परेको परियोजना अधिकृत पन्थीले बताउनुभयो । वर्षमा दुईपटक म्याकिनन्स लिस्टिङ मेर्थड विधिको माध्यमबाट गुल्मीमा चराको सर्वेक्षण गरिँदै आएको परियोजना अधिकृत पन्थीले बताउनुभयो ।    
    
 विश्वमा पाइने दुर्लभ प्रजातिका चरामध्ये गुल्मीमा मात्र छ किसिमका चरा पाइन्छन् । गुल्मीको रेसुङ्गा र मदाने वन संरक्षण क्षेत्रमा दुर्लभ प्रजातिका चराहरुमध्ये रेसुङ्गा वन संरक्षित क्षेत्रमा चिरकालिज, रणमच्च महाचिल, डङ्गर गिद्द, सोतो गिद्द, सुन गिद्द र गोमायो महाचिल पाइन्छन् । रेसुङ्गा र मदाने वन क्षेत्रमा नेपालमा मात्र पाइने चरा काँडे भ्याकुर पाइन्छ । नेपालमा पाइने आठ सय ९२ प्रजातिका चरामध्ये गुल्मीमा मात्र विभिन्न प्रजातिका ३५ प्रतिशत चरा पाइन्छन् ।    
    
एक सर्वेक्षणअनुसार रेसुङ्गामा दुई सय ६३ र मदानेमा २ सय ८६ प्रजातिका चरा फेला परेका हुन । मदानेको वन क्षेत्र नौ सय ७५ मिटरदेखि दुई हजार छ सय ९० मिटर र रेसुङ्गा वन क्षेत्र पाँच सय ७५ देखि दुई हजार तीन सय ४५ मिटर उचाइसम्म रहेकोे छ । वनको क्षेत्रफलको हिसाबले रेसुङ्गा १९ हजार दुई सय ८१ हेक्टर र मदाने १३ हजार सात सय ४३ हेक्टर क्षेत्रफल छ ।    
    
रेसुङ्गा र मदाने संरक्षित वनमा दुर्लभ प्रजातिका चराको सङ्ख्यामा वृद्धि हुँदै गएको परियोजना अधिकृत भरत पन्थीले बताउनुभयो । विश्वमा नेपालमा मात्र पाइने काँडे भ्याकुर रेसुङ्गा वन क्षेत्रमा मात्र पाइने भएकाले यसको संरक्षणका लागि सङ्कटापन्न अवस्थामा रहेका चराको बासस्थानलाई जोगाइराख्न स्थानीय पालिकाहरूको भूमिका महत्त्वपूर्ण हुने डिभिजन वन कार्यालयका प्रमुख जीवन पङ्गेनी बताउनुभयो ।    
    
नेपाल पक्षी संरक्षण सङ्घले वन क्षेत्रसँग जोडिएका वडामा जीविकोपार्जन कार्यक्रम सञ्चालन गर्दै आएको छ । कार्यक्रमले दुर्लभ चराको खोजी गरी वन क्षेत्रसँग जोडिएका स्थानीयलाई वनको संरक्षणमा टेवा पुर्याएको छ ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend