Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

     अण्डा उत्पादक ७५ प्रतिशत किसान विस्थापित   


सूचना कुण्ड
     अण्डा उत्पादक ७५ प्रतिशत किसान विस्थापित   


चितवन, साउन २: अण्डा उत्पादन गर्ने ७५ प्रतिशत किसान विस्थापित भएका छन् । पाँच वर्षभन्दा बढी समयसम्म लागत मूल्यभन्दा निकै कममा अण्डा बिक्री गर्नु परेपछि किसान विस्थापित भएका हुन् ।    
    
 बैङ्कमा ऋण थपेर केही टिकेका हुन् भने केही नयाँ थपिएका छन् । पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष रघुनाथ भट्टका अनुसार दुई वर्षअघि सम्म नेपालमा पाँच हजारभन्दा बढी लेयर्स कुखुरा पाल्ने फार्म रहेकामा हाल यो सङ्ख्या दुई हजारभन्दा तल छ । उहाँले भन्नुभयो, “जसको कुखुरा बाँकी छ, उहाँहरुले ४० प्रतिशतभन्दा माथि ऋण थपेर टिकेको हो ।”     
    
 अधिकांश व्यवसायीको अवस्था दयनीय रहेको उहाँको भनाइ छ । अहिले अण्डाको मूल्य बढेर लागत मूल्य नजिक पुगेको उहाँ बताउनुहुन्छ । केही महिनाअघि विज्ञहरुले अण्डाको लागत मूल्य प्रतिगोटा १६ रुपैयाँ ५६ पैसा निकालेका थिए । अहिलेको फार्म मूल्य ठूलो प्रतिगोटा १६ रुपैयाँ ३३ पैसा र ‘मिडियम’ अण्डाको मूल्य रु १६ रहेको छ ।    
    
 गत महिनाबाट अण्डाको मूल्य प्रतिगोटा रु १६ हाराहारी आएपछि लागत मूल्य नजिक आएको भट्ट बताउनुहुन्छ । नेपाल अण्डा उत्पादक सङ्घका पूर्वअध्यक्ष त्रिलोचन कँडेल धेरै अण्डा उत्पादक किसानले बैङ्कको ऋण र ब्याज तिर्न नसकेको बताउनुहुन्छ ।    
    
 उद्योग सङ्घ चितवनका निवर्तमान अध्यक्षसमेत रहनुभएका कँडेलको भनाइमा दुई लाख ८२ हजार उद्योगी बैङ्कको कालो सूचीमा छन् । तीमध्ये ४० प्रतिशत कुखुरापालक किसान एवं पोल्ट्री व्यवसायी रहेको उहाँको भनाइ छ ।    
     
 पोल्ट्री व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछाने भूकम्प, नाकाबन्दी, कोभिड महामारी, आर्थिक मन्दीलगायत कारण मूल्य पाउन नसक्दा किसान विस्थापित भएको बताउनुहुन्छ । अघिल्ला वर्षहरुमा बैङ्कको ब्याज बढी हुँदा खर्च धान्न कठिन भएको उहाँको भनाइ छ ।     
    
 दानाको कच्चापदार्थ र औषधिको मूल्य दोब्बर बढेको, कामदारको ज्याला बढेको, खोरको भाडा बढेको, कार्टुन, क्रेटलगायत सामग्रीको मूल्य बढेको तर अण्डाको मूल्य लामो समयसम्म बढ्न नसक्दा किसानको अवस्था दयनीय बनेको उहाँ बताउनुहुन्छ । नेपालमा अहिले अण्डा उत्पादक किसानमध्ये एक लाखभन्दा बढी लेयर्स कुखुरा पाल्ने किसान एवं फार्मको सङ्ख्या १५ रहेको छ ।    
    
 ठूला फार्म बढेका कारण धेरै किसान विस्थापित भएर पनि माग धान्न सकेको हो । किसान पलायन हुन थालेपछि विसं २०७९ असोज २९ गते लेयर्स कुखुरापालक किसानले नेपाल लेयर्स कुखुरापालक सङ्घ गठन गरेका थिए । सो संस्थाले देशव्यापी रुपमा बजारीकरण गरेसँगै पुराना किसानले थप कुखुरा पाल्न थालेको र नयाँ किसानसमेत आउन थालेका हुन् ।    
    
 सङ्घका अध्यक्ष विनोद पोखरेलले कुखुरा पालिरहेकाहरु पनि अधिकांशको ठूलो मात्रामा बैङ्क ऋण रहेको बताउनुभयो । उहाँको भनाइमा धितो राखेर ऋण लिएकाहरुले धितो बिक्री गरेर ऋण तिर्ने अवस्थासमेत छैन । तत्कालीन समयमा लिएको ऋणमा ऋण थप्दै ब्याज तिर्दै आउँदा कुखुरा राख्न नसक्ने अवस्थामा धेरै किसान पुगेको उहाँको भनाइ छ । सङ्घ गठन हुँदै गर्दा किसानले अण्डाको मूल्य प्रतिगोटा रु आठभन्दा तल पाएका थिए । त्यतिबेलाको नोक्सान धान्न मुस्किल भएको उहाँको भनाइ छ । अहिले ५० लाख लेयर्स कुखुरा रहेको र २५ लाखभन्दा बढी अण्डा दैनिक उत्पादन हुँदै आएको उहाँले जानकारी दिनुभयो । धेरै कुखुरा हुँदा ६० लाख नाघेका थिए । कुखुरा पाल्दै आएका किसान विस्थापित भएपछि धेरै खोर खाली छन् ।    


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend