Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

राप्ती नदीको जल सतह  बढ्दै , दाउरा जम्मा गर्न नागरिकको भीड     


सूचना कुण्ड
राप्ती नदीको जल सतह  बढ्दै , दाउरा जम्मा गर्न नागरिकको भीड     


बाँके, असार असार२३: वर्षाका कारण बाँकेको डुडुवा गाउँपालिका–४ सिधनवा घाटस्थित राप्ती नदीमा पानीको बहाव बढ्दै गइरहेको छ तर स्थानीयलाई त्यसको प्रवाह छैन । पानीसँगै बगेर आएका दाउरा जम्मा गर्न राप्ती नदी किनारमा स्थानीयको भीड लागेको छ ।    
    
दाउरा जम्मा गर्न गाउँपालिकाका विभिन्न स्थानमा सयौँ स्थानीय आज बिहानदेखि दिनभर व्यस्त रहे । नागरिक दाउरा सङ्कलन गर्न पानीमा रुझ्दै बालबालिकादेखि युवालगायत ज्येष्ठको घुइँचो देख्न सकिन्थ्यो । स्थानीयले लौरो (लामो कैँची लौरो) बनाएर त्यसैको सहयोगबाट नदीका दाउरा तानिरहेका देखिन्थे ।    
    
डुडुवा–४ का पल्लवी वर्माले दाउरा जम्मा गर्न नदी किनारामा आएको बताउनुभयो । उहाँले अहिलेसम्म करिब आठ क्विन्टल दाउरा जम्मा गरेको बताउनुभयो । वर्माले सङ्कलन गरिएका मध्ये ठूला दाउरा बिक्री गर्ने र साना दाउरा घरमै प्रयोग गर्ने गरेको सुनाउनुभयो ।    
    
वर्मा जस्तै सोही गाउँपालिका–६ का गौरी यादव नदीबाट दाउरा झिक्न दुई सन्तानसहित नदी छेउमा देखिनुभयो । “घरमा लोग्ने मान्छे कोही पनि छैनन्, त्यसैले ज्यानको बाजी लगाएर दाउरा झिक्नु परिरहेको छ”, उहाँले भन्नुभयो, “बग्दै गरेको नदीबाट दाउरा झिक्न सजिलो छैन नि ! तर पनि दाउरा जोहो नगरेर हुँदैन ।” गौरीले  करिब नौ क्विन्टल दाउरा जम्मा गरेको बताउनुभयो ।    
    
स्थानीय शेखर अन्सारी पनि बिहानै सपरिवार राप्ती नदीमा पुग्नुभयो । उहाँसँगै सात वर्षीया छोरी र नौ वर्षीय छोरासहित वृद्ध आमाबुबासमेत हुनुहुन्थ्यो । १२ क्विन्टल जति दाउरा निकालेको र त्यसमध्ये केही बेच्ने योजना रहेको उहाँले सुनाउनुभयो ।    
जति सम्झाउँदा पनि स्थानीयले जोखिम मोलेर दाउरा निकाल्न नछाडेपछि सम्भावित दुर्घटनालाई मध्यनजर गरी यस क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल नं ३० गण हेडक्वाटर बागेश्वरी बाँकेबाट प्रहरी निरीक्षकको नेतृत्वमा २५ जनाको तालिम प्राप्त उद्धार टोली तैनाथ गरिएको छ । गणले सशस्त्र प्रहरी निरीक्षक ललित शाहीको नेतृत्वमा आवश्यकसामग्रीसहित उद्धार टोली खटाएको हो । “ नदीको सतह क्रमशः बढ्दै गएको छ, दाउरा जम्मा गर्न सयौँ नागरिकको भीड लाग्ने गरेको छ”, सशस्त्र प्रहरी निरीक्षक शाहीले भन्नुभयो, “हामी बिहान १० बजेदेखि यहाँ ड्युटी गरिरहेका छौँ । सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै स्थानीयलाई नदीमा पस्न भने दिएका छैनौँ । कुनै दुर्घटना भइहालेमा उद्धार सामग्रीसहित २५ जनाको तालिम प्राप्त उद्धार टोली तत्काल परिचालन हुन्छौँ ।”    
    
उहाँकानुसार कुसुममा रहेको बाढी मापन केन्द्रले नदीको अवस्थाका बारेमा गणमा जानकारी गराउने र तालिम प्राप्त उद्धार टोली जोखिमयुक्त स्थानहरूमा तुरुन्तै परिचालन हुनेछ ।    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend