Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

आन्तरिक तथा बाह्य पर्यटकका लागि नयाँ गन्तव्यका रूपमा विकास हुँदै नुवाकोटको ‘सूर्यचौर’


सूचना कुण्ड
आन्तरिक तथा बाह्य पर्यटकका लागि नयाँ गन्तव्यका रूपमा विकास हुँदै नुवाकोटको ‘सूर्यचौर’

   

नुवाकोट, असार २१: नुवाकोटको सूर्यचौर (सुइरेचौर) आन्तरिक तथा बाह्य पर्यटकका लागि नयाँ गन्तव्यका रूपमा विकास हुँदै गएको छ । शिवपुरी गाउँपालिकामा रहेको यो ठाउँ काठमाडौँलगायत बाह्य तथा आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ ।    
    
समुद्र सतहदेखि दुई हजार मिटर उचाइमा रहेको सूर्यचौरबाट मुलुकको राजधानी काठमाडौँदेखि नुवाकोटका विभिन्न रमणीय फाँट, गणेश, मनास्लु र अन्नपूर्ण हिमाललाई देख्न सकिन्छ । काठमाडौँको सामाखुसी चोकदेखि १३ किलोमिटर सडक यात्रा र ककनीबाट चार घण्टाको पैदलयात्रामा यहाँ पुग्न सकिन्छ ।    
    
 पर्यटकीय गतिविधि बढ्न थालेपछि पछिल्लो समय पर्यटन व्यवसायीले यस क्षेत्रमा लगानीसमेत बढाउन थालेका छन् । यसअघि युवायुवती, साथीभाइदेखि परिवारसम्म पिकनिक र आरामका लागि खाली चौरको उपयोग हुने गरेको थियो । पछिल्लो समयमा भने नयाँ होटल तथा रेष्टुराँ सञ्चालनमा आएका छन् । पर्यटन व्यवसायी जग्गा खरिद गरी होटल तथा रेष्टुराँ निर्माणमा जुटिरहेका छन् ।    
    
नेपाल पर्यटन बोर्डका उपाध्यक्ष कमल सापकोटा, पर्यटन व्यवसायी राजन सिङ्खडा, जेवी सिंह, हेमराज बराल र कृष्ण घिमिरेलगायतको समूहले रु सात करोड लगानीमा ‘सूर्यचौर नेचर रिट्रिट’ सञ्चालनमा ल्याएका छन् । २७ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको रिसोर्टमा हाल १० डिलक्स कोठा, चार डिलक्स ‘ग्ल्याम्पिङ टेन्ट’ र पिङ निर्माण गरिएको छ । कूल रु ३० करोड लगानीमा बन्न लागेको उक्त रिसोर्टभित्र स्वीमिङ पुल र सभाहलसहित थप डिलक्स तथा भिला निर्माण हुने सञ्चालक सिङ्खडा बताउनुहुन्छ ।    
    
पिकनिक, जिपलाइन, हाइकिङ र बाइकिङको उत्कृष्ट गन्तव्यका रूपमा पनि यहाँको विकास हुँदै गएको छ । यहाँ प्याराग्लाइडिङ सञ्चालनका लागि अध्ययन भइसकेको छ भने जीपलाईन दर्ताको कामसमेत सम्पन्न भइसकेको छ ।     
    
यस स्थानलाई भगवान शिवको क्रिडास्थलका रूपमा लिने गरिएको र ऋषि महर्षि र तपस्वीहरुले तपस्या गर्ने गरेको किंवदन्ती छ । त्यसैकारण यस क्षेत्रलाई शिवपुरी भन्ने गरिएको छ । शिवपुरी राष्ट्रिय निकुञ्जसँग जोडिएको यहाँको एक गाउँपालिको नामसमेत शिवपुरी राखिएको छ । सोही गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद थपलिया यस क्षेत्रको विकासका लागि कृषि र पर्यटनलाई उच्च प्राथमिकतामा राखिएको बताउनुहुन्छ । “शिवपुरीभित्र रहेका प्राकृतिक सम्पदाका साथै यहाँभित्रका झरना, मठमन्दिर संरक्षणका लागि गाउँपालिका जुटेको छ”, उहाँले भन्नुभयो,“लौके झरना संरक्षण, झरनाको फेदमा पोखरी निर्माणका लागि रु एक करोड विनियोजन गरिसकेका छौँ ।”    
    
यसैगरी, शिवपुरीभित्रका पर्यटकीय स्थल संरक्षणका लागि पदमार्ग, विश्रामस्थल, प्रचारप्रसारलगायतका कामलाई गाउँपालिकाले प्राथमिकतामा राखेको अध्यक्ष थपलियाले बताउनुभयो । उहाँकानुसार पर्यटन प्रवर्द्धनका लागि शिवपुरीभित्रका विभिन्न गाउँमा होमस्टे सञ्चालन गर्न होमस्टे तालिमसमेत सञ्चालन गरिएको छ । यहाँभित्र रहेको थान्से भुमेको मन्दिर प्रचारप्रसार तथा पर्यटन पार्कसमेत निर्माण भइरहेको छ । “शिवपुरीको पर्यटन विकासका लागि गाउँपालिकाले प्रदेश र केन्द्र सरकारसँग पनि समन्वय गरिरहेको छ”, अध्यक्ष थपलियाले भन्नुभयो ।    
    
बागमती प्रदेश सरकारले दुप्चेश्वर गाउँपालिका–२ र ४, शिवपुरी गाउँपालिका–७ र ककनी गाउँपालिका–२ र ५ नं वडालाई समावेश गरी ककनी–सुइरेचौर–चिसापानी–कुटुमसाङलाई जोडेर पदमार्ग निर्माण गर्ने योजना बनाइरहेको जनाइएको छ ।    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend