Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

दृढ इच्छा शक्ति चाहिन्छ, सफलता यसरी मिल्छ :  खुट्टाले लेखेर एसइई उत्तीर्ण   


सूचना कुण्ड
दृढ इच्छा शक्ति चाहिन्छ, सफलता यसरी मिल्छ :  खुट्टाले लेखेर एसइई उत्तीर्ण   

बाँके, असार१७ : “अरूलाई भन्दा मलाई आधा घण्टा बढी समय दिइएको थियो तर मैले खुट्टाले लेख्ने भएकाले सजिलो पक्कै थिएन”, खुट्टाले लेखेर एसइई उत्तीर्ण हुनुभएका बाँकेको राप्तीसोनारी गाउँपालिका–२ मदुवाका उमेश खत्रीले भन्नुभयो, “सोचे जतिको त भएन तर पनि यो उपलब्धिमा खुसी छु ।”    
    
 मदुईस्थित श्री लक्ष्मी माध्यमिक विद्यालयबाट खुट्टाले लेखेर एसइई परीक्षा दिनुभएका खत्रीले दुई दशमलव ९२ जिपिए ल्याएर एसइई परीक्षा उत्तीर्ण हुनुभएको छ । एसइई दिएकै विद्यालयबाट बाली विज्ञानमा उच्च शिक्षा हासिल गर्ने उहाँको योजना छ । उहाँले भन्नुभयो, “मैले कक्षा ९ देखि बाली विज्ञान लिएर पढेको हुनाले उच्च शिक्षा पनि बाली विज्ञानमा नै गर्ने सोचेको छु ।” पढाइ सकेपछि भविष्यमा लोकसेवा दिएर अधिकृत बन्ने इच्छा उहाँको छ ।    
    
 शारीरिक रुपले अशक्त १८ वर्षीय उमेश खुट्टाले लेखेर एसइई परीक्षामा उत्तीर्ण हुने यस क्षेत्रकै पहिलो विद्यार्थी हुनुहुन्छ । उमेश जन्मजात दुवै हात र खुट्टा नचल्ने भएर जन्मनुभएको हो । पटक पटकको उपचारपछि हातको नशामा कुनै सुधार नआएपछि उहाँको खुट्टाको भने तीनपटक शल्यक्रिया गरिएको थियो । त्यसपछि अलिअलि खुट्टा चल्न सुरु गरेको आमा गोमा खत्रीले बताउनुभयो ।    
    
 खुट्टा चल्न थालेपछि उमेशले खुट्टाकै भरमा आफूले सक्ने काम गर्न थालेको आमा गोमा बताउनुहुन्छ । खुट्टा चल्न सुरु गरेपछि उहाँलाई हिँड्न कसैको सहारा चाहिएन तर धेरै समय उभिन सक्नुहुन्न । खुट्टाले काम गर्न सक्ने भएपछि गोमाले छोरालाई विद्यालय भर्ना गर्नुभएको थियो ।    
    
 “सुरुमा गाउँकै जय दुर्गा आधारभूत विद्यालयमा पढायौँ । त्यसपछि गाउँमै सञ्चालित वागेश्वरी वेस्टर्न इङ्लिस बोर्डिङमा कक्षा ७ सम्म पढाएर लक्ष्मी माविमा भर्ना गरेका हौँ”, उहाँले भन्नुभयो, “छोरा पहिलादेखि पढाइमा अब्बल भएकाले एसइईमा पास हुन्छ भन्नेमा ढुक्क थिएँ ।”    
    
 छोराले एसइई पास गरेपछि चौतर्फी बधाईको ओइरो आफूलाई आउँदा गर्व लागेको गोमाको भनाइ छ । खुट्टाको नशामा सुधार आएपछि छोराले अरू काम गर्न नसके पनि किताब कापी मिलाउने, कलम समात्ने, मोबाइल र ल्यापटप चलाउन सक्ने भएको गोमाले बताउनुभयो । उमेशलाई परीक्षामा सहज वातावरण निर्माण गर्न विद्यालयले उचित व्यवस्थापन गरेर सहयोग पु¥याएको लक्ष्मी माविका प्रधानाध्यापक लक्ष्मणप्रसाद आचार्यले बताउनुभयो । उहाँका अनुसार परीक्षाको बेला कक्षाकोठाको बेन्चमा बसेर लेख्न उमेशलाई अप्ठ्यारो भएपछि विद्यालयले छुट्टै टेबल र कुर्सीको व्यवस्था गरेको थियो ।    
    
 प्रधानाध्यापक आचार्यले उमेश मेहनती मात्र नभई अनुशासित विद्यार्थी भएको बताउनुभयो । “उहाँको शारीरिक अपागङ्तालाई देखेर स्कुलले धेरै सहयोग र व्यवस्थापन गरेको छ”, उहाँले भन्नुभयो, “हुन त पढ्ने मान्छेलाई कुनै कुराले रोक्न सक्दैन् । यो सफलता उमेशको लगनशीलताको नतिजा हो ।”    
    
 घरबाट १५ मिनेटको दूरीमा रहेको विद्यालयमा उमेशलाई कहिले मामाको छोरा र कहिले आमाले विद्यालयसम्म पु¥याउनु पथ्र्यो । उमेश आफ्नो सफलताको श्रेय आमा बुबा र गुरुहरुलाई दिनुहुन्छ । पाँच वर्षको उमेरबाट उमेशले आफूले सक्ने काम खुट्टाकै सहारामा गर्न थाल्नुभयो । हात र खुट्टा दुवै नचल्दाभन्दा खुट्टाले काम गरेपछि धेरै सजिलो भएको उमेशको भनाइ छ ।    
    
 सशस्त्र प्रहरीमा जागिरे बुबा अहिले नवलपरासीमा कार्यरत हुनुहुन्छ । दुई छोरामध्ये उमेश जेठो हुन् । यस वर्षको एसइईमा धेरै विद्यार्थीले नतिजा राम्रो ल्याउन नसकेको बेला आफनै वडाबाट उमेशले राम्रो अङ्क ल्याएर पास गरेकामा वडावासी खुसी भएको वडाअध्यक्ष ज्ञानेन्द्र वलीले बताउनुभयो । उमेशलाई उच्च शिक्षाका लागि सहयोग गर्ने वडाध्यक्ष वलीले प्रतिबद्धता व्यक्त गर्नुभयो । उक्त विद्यालयबाट एक सय सातजना विद्यार्थीले एसइई परीक्षा दिएका थिए जसमध्ये १२ जनामात्र उत्तीर्ण भएका छन् ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend