Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

एसईईमा दुईभन्दा बढी विषयमा एनजी ल्याउने विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने


सूचना कुण्ड
एसईईमा दुईभन्दा बढी विषयमा एनजी ल्याउने विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने

काठमाडौँ, असार१४ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई २०८०) मा दुईभन्दा बढी विषयमा एनजी अर्थात नन ग्रेड ल्याएका विद्यार्थीलाई पनि मौका परीक्षामा सहभागी गराउने निर्णय गरेको छ ।

शिक्षामन्त्री सुमना श्रेष्ठले धेरै विद्यार्थी अध्ययनबाट वञ्चित हुने भन्दै मौका परीक्षामा सहभागी हुन दिने व्यवस्था गर्न बिहीबारदेखि छलफल अघि बढाएर शुक्रबार निर्णय गरेकी छन् । मन्त्रालयले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै एनजी ल्याएका विद्यार्थीलाई मौका परीक्षामा सहभागी गराउन लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गर्ने प्रकृया अगाडि बढाउन पाठ्यक्रम विकास केन्द्रलाई, परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयलाई परीक्षा सञ्चालन व्यवस्थापन गर्न र शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई आवश्यक कक्षा सञ्चालन तथा सिकाइ सहजीकरण गर्न विद्यालय तथा सरोकार निकायलाई निर्देशन दिने निर्णय गरेको छ ।

सोही अनुसार सम्बन्धित निकायलाई पत्राचार पनि गरिसकिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता केशवप्रसाद दाहालले जानकारी दिए । उनले भने ‘एनजी ल्याएका विद्यार्थीलाई मौका परीक्षामा सहभागी गराउने भन्ने मन्त्रीस्तरीय निर्णय भएको छ । त्यहीअनुसार हामीले सम्बन्धित निकायहरूलाई आवश्यक निर्देशनसहित पत्राचार गरिसकेका छौं ।’

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले बिहीबार सार्वजनिक गरेको नतिजाअनुसार २ लाख ४२ हजार ३१३ जना विद्यार्थी नन ग्रेड (एनजी)मा परेका छन् । यो संख्या परीक्षामा सहभागी ४ लाख ६४ हजार ७८५ विद्यार्थीको ५२.१४ प्रतिशत हो ।

बोर्डले लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरेको हो । जसमा सैद्धान्तिक र आन्तरिकको मूल्याङ्कन फरक–फरक हुने व्यवस्था छ । विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्छ । ७५ अंकको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अंक ल्याउनुपर्छ । त्यसमा आन्तरिकतर्फ २५ पूर्णांकको परीक्षामा भने ४० प्रतिशत अर्थात् १० अंक ल्याउनुपर्छ । लेटर ग्रेडिङ निर्देशिका अनुसार सैद्धान्तिक र आन्तरिकतर्फ प्राप्त अंकलाई ग्रेडमा रुपान्तरण गरिन्छ ।

तर विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ पूर्णांकको परीक्षा हुने विषयमा ३५ प्रतिशत अर्थात् २६.२५ अंक पाएको छैन भने प्रमाणपत्रमा एनजी (नन ग्रेडेड) उल्लेख हुनेछ । र, ग्रेडवृद्धि परीक्षा नदिई कक्षा ११ मा पढ्न पाउने छैनन् ।

निर्देशिकामा दुईभन्दा बढी विषयमा न्यूनमत ३५ प्रतिशत अंक नपाएका र ग्रेड वृद्धि परीक्षा दिंदा पनि ३५ प्रतिशत अंक ल्याउन नसकेका परीक्षार्थीले अर्को वर्ष एनजी लागेको विषयमा मात्र परीक्षा दिन पाउने व्यवस्था छ ।

तर, ठूलो संख्याका विद्यार्थीले मौका परीक्षामा सहभागी हुन नपाउने भएपछि मन्त्रालयले दोस्रो पटक निर्देशिका संशोधन गर्ने र सबै विद्यार्थीलाई मौका परीक्षामा सहभागी गराउने निर्णय गरेको हो ।

यसअघि निर्देशिकामा दुईभन्दा बढी विषयमा एनजी ल्याएका विद्यार्थीले अर्को वर्ष सबै विषयमा परीक्षा दिनुपर्ने व्यवस्था रहेको थियो । गत वर्ष निर्देशिका संशोधन गर्दै दुईभन्दा बढी विषयमा एनजी लागेकाले अर्को वर्ष परीक्षा दिनुपर्ने तर एनजी लागेका विषयमा मात्रै दिनुपर्ने व्यवस्था गरिएको थियो । यो वर्षको मौका परीक्षा साउनको १८ र १९ गते तोकिएको छ ।---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend