Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

शौचालयको अभावमा च्यापेरै बस्नुपर्ने बाध्यता


सूचना कुण्ड
शौचालयको अभावमा च्यापेरै बस्नुपर्ने बाध्यता

     कपिलवस्तु, असार ६ :  “बिहान घाम नझुल्किँदै शौचालय गइसक्नु पर्छ दिउँसो दिसा लाग्यो भने त च्यापेरै बस्ने हो । कतिबेला अँध्यारो होला भनेर कुर्नुपर्ने बाध्यता छ । अब त रोक्ने बानी पनि परिसक्यो तर बिरामी हुँदा भने धेरै समस्या हुन्छ ।”

यो पीडादायी अभिव्यक्ति कपिलवस्तु नगरपालिका–१२, बिठुवाका महिलाको हो तर यो उनीहरूको मात्र समस्या होइन बरु नेपालका तराई र पहाडका अधिकांश स्थानमा शौचालयको अभावमा सर्वसाधारणले बेहोर्नुपरेको लज्जास्पद पीडाको प्रतिनिधि भनाइ पनि हो । 

सबैतिर सर्वसुलभ शौचालय छन् भन्ने मानेर २०७६ असोज १३ गते नै नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा भइसकेको छ । काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजित विशेष समारोहमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल खुला दिसामुक्त राष्ट्र भएको घोषणा गर्नुभएको थियो । त्यस घटनालाई नेपाल यस मामिलामा दक्षिण एसियाली राष्ट्रहरूमा नै अग्रणी बनेको बताइएको थियो । 

तर बिठुवा जस्तै शौचालय नभएका कपिलवस्तुका सयौँ बस्तीको समस्या एउटै छ । यसमा पनि अन्य घटनामा जस्तै महिला नै पीडित छन् जहाँ उनीहरूले शौच गर्न रात कुर्नु पर्छ । पुरुषलाई भने सजिलै छ लोटामा पानी लिएर जता भागे पनि भयो । महिलालाई कसैले देख्ला कि भन्ने डर हुन्छ । सुत्केरी र गर्भवतीका त दुःख अरू थपिने नै भए । 

खास गरी मधेशी समुदायका बस्तीमा शौचालय भेट्न मुस्किल पर्छ । अभियानका व्रmममा बनेका शौचालय जीर्ण भई प्रयोगविहीन छन् । ट्वाइलेट सिट मात्र ह्वाङ्ग देखिन्छ । बनेका शौचालयमा गुइँठा दाउरा भण्डारका लागि प्रयोग गरिएको छ । सन् २०१३ सालमा निर्माण गरिएको वास योजना अनुसार ८९ हजार ८६१ घरधुरीमध्ये शौचालय नभएका ६५.६ प्रतिशत घरमा शौचालय निर्माण गर्ने लक्ष्य राखिएको थियो जसका लागि १७ करोड २६ लाख ५२ हजार रुपियाँ बजेट आवश्यक हुने अनुमान गरिएको थियो ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय कपिलवस्तुको तथ्याङ्क अनुसार खुला दिसामुक्त अभियानमा जिल्लामा ८६ हजार ७०२ घरमा शौचालय निर्माण भएको डिभिजन प्रमुख दिनेश शाह बताउनुहुन्छ । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार जिल्लामा २६ हजार ८३३ घरधुरी शौचालयविहीन रहेको छ । कुल एक लाख २१ हजार ६२१ घरमध्ये ४१ प्रतिशत सेफ्टीट्याङ्क र ३३ प्रतिशत पिट प्रयोग गरी शौचालय निर्माण भएका छन् । 

रोगको जोखिम बढ्दो

२०७८ कात्तिकमा कपिलवस्तुमा हैजाको महामारी देखियो । करिब डेढ महिनासम्म त्यसको प्रभाव देखिएको थियो । पाँच पालिकाका एक हजार पाँच सयभन्दा बढी व्यक्ति सङ्क्रमित हुँदा छ जनाले ज्यान गुमाएका थिए । हैजाको उच्च जोखिम देखिएपछि खोपको व्यवस्था भएको थियो । हैजाविरुद्ध खोपले सुरक्षित भए पनि अन्य रोगको जोखिम कायमै छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुको तथ्याङ्क अनुसार आउँ, झाडापखाला, हैजा, जुका पर्ने, टाइफाइड, जन्डिस, पखाला (ब्यासिलरी डिसेन्ट्री) को जोखिम बढी भएको देखिएको छ ।

जिल्लामा झाडापखालाको समस्या बढ्दो क्रममा छ । २०६६ देखि २०६८ सालसम्ममा औसत १२ हजारको हाराहारीमा बिरामी देखिए पनि पछिल्लो पाँच वर्षमा औसत २० हजार ३६४ पुगेका छन् । स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार पाँच वर्षमा आठ हजार तीन सय आउँ, चार हजार ९३ जना पखाला, सात हजार ४२१ जुका पर्ने समस्या भएका बिरामी छन् । 

गर्भवती र सुत्केरीलाई सकस

बुद्धभूमि नगरपालिकाको वडा नम्बर ८ हरिहरपुर स्वास्थ्य चौकीका प्रमुख कमल ज्ञवालीले शौचालय नहुँदा गर्भवती  र नवजात शिशुमा समेत असर गरेको बताउनुभयो । शौचालय नभएकाले आमाहरूले पर्याप्त खाना नखाँदाको असर बच्चामा देखिएको छ । यसको प्रभावको विस्तृत अध्ययन हुनुपर्ने ज्ञवालीको बुझाइ छ ।

स्थानीय महिला किरण ठाकुरले सुत्केरी हुँदा पाएको पीडा अहिलेसम्म भुल्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “काखमा नाबालक छोरा छ । दिसा लाग्दा रोकेर बस्नु परेको छ । कतिसम्म रोक्ने ? रोक्दा रोक्दा पेट दुख्छ । अरूबेला जेनतेन रोकिन्छ तर बिरामी हुँदा सकिँदैन । आमा बनेपछि दुई÷तीन पटक धेरै कष्ट सहेकी छु । पेट दुख्ने समस्या थियो । दिसा रोक्न सकिनँ । दिउँसो सासूआमा केवलीको सहयोग लिई हात समाउँदै हिँडेँ । कसैले नदेख्ने ठाउँमा पुग्नु पर्छ । शौचालय जाँदा चार/पाँच पटक चक्कर लागेर खेतमै ढलेकी छु ।” 

मधेशी समुदायमा नवजात शिशुको स्याहारसुसारको जिम्मा आमालाई हुन्छ । बच्चाले दिसा गरेका टाला धुने जिम्मा आमाको हुन्छ । टोलवरिपरि धुन पाइँदैन । तलाउमा जानु पर्छ । तलाउ टाढा हुँदासमेत समस्या थपिएको हुने स्थानीय शर्मिला ठाकुर बताउनुहुन्छ । ससुरा र बुहारी एउटै शौचालयमा जान हुँदैन र घरभित्र र आँगनमा शौचालय बनाउन हुँदैन भन्ने मान्यताले गर्दा बनेका शौचालयसमेत प्रयोगविहीन छन् ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend