Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

मौसम विशेष बुलेटिन : पश्चिम तराईमा ६ असारसम्म तातो हावाको लहर चल्ने , काठमाडौंमा गर्मी उच्च


सूचना कुण्ड
मौसम विशेष बुलेटिन  : पश्चिम तराईमा ६ असारसम्म तातो हावाको लहर चल्ने , काठमाडौंमा गर्मी उच्च

 

काठमाडौँ, असार २ : पश्चिम तराईका बासिन्दाले असार ६ गतेसम्मै चर्को गर्मीको सामना गर्नुपर्ने भएको छ ।

किनभने सदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा यही असार ६ गतेसम्म ताताे हावाको लहर चल्ने प्रक्षेपण छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज विशेष बुलेटिन जारी गर्दै असार ३ गतेदेखि ६ गतेसम्म तातो हावा तथा तातो हावाको लहर चल्ने जानकारी दिएको हो ।

यसअघि तीन दिनको मात्रै मौसम पूर्वानुमान गर्दै आएको महाशाखाले तातो हावाको लहरको यो पूर्वानुमान भने चार दिनसम्म गरेको छ  ।

तातो लहर अर्थात् हिट वेभका असरबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले भनेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ ।

लामो समयदेखि पानी नपर्दा पश्चिम नेपालका तराई तथा भित्री मधेशबासी सुख्खा र खडेरीको मारमा परेका छन् । महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले कोशी प्रदेशमा २८ जेठमा भित्रिएको मनसुन पश्चिमतिर फैलन नसक्दा गर्मी बढेको बताइन् ।

स्थानीय वायु, पश्चिमी वायु र भारतको बिहार आसपास रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभावका कारण मनसुन फैलिन ढिलाइ भइरहेको मौसमविद्हरू बताउँछन् ।

त्यसैले काठमाडौंसहित लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका जिल्लाहरूमा गर्मी उच्च छ । काठमाडौंको अधिकतम तापक्रम शनिबार ३५ वर्षपछिकै उच्च बिन्दुमा पुगेको थियो । शनिबार काठमाडौंको अधिकतम तापक्रम ३५.३ डिग्री सेल्सियस रेकर्ड भएको छ । यो २०४६ सालयताको सबैभन्दा उच्च अधिकतम तापक्रमको रेकर्ड हो । काठमाडौंमा २०४६ साल वैशाख २५ गते अर्थात् सन् १९८९ मे ७ तारिकको दिन अधिकतम तापक्रम ३६.६ डिग्री सेल्सियस मापन भएको थियो ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend