Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

देवदह खयरडाँडामा भेटियो प्राचीन इनार   


सूचना कुण्ड
देवदह खयरडाँडामा भेटियो प्राचीन इनार   

लुम्बिनी, जेठ २५ : गौतमबुद्धको मावली कोलीय गणराज्यको दरबार क्षेत्र दाबी गर्दै आइएको रुपन्देहीको देवदहस्थित खयरडाँडामा प्राचीन इनार फेला परेको छ ।    
    
 देवदह नगरपालिकाको आर्थिक सहयोगमा लुम्बिनी विकास कोष, पुरातत्व विभागले यही जेठ १६ गतेदेखि उत्खननका क्रममा इँटाबाट निर्मित दुई मिटर चौडाइ र साढे तीन मिटर गहिराइ भएको प्राचीन इनार भेटिएको लुम्बिनी विकास कोषका वरिष्ठ पुरातत्व अधिकृत हिमालकुमार उप्रेतीले जानकारी दिनुभयो । गत वर्ष लुम्बिनी विकास कोषले उत्खनन गर्दा इँटाको माथिल्लो भाग मात्रै देखा परेको थियो ।    
    
 “गत वर्ष इनारको माथिल्लो भाग मात्रै भेटिएको थियो, यस वर्ष इनारको बेस(तल्लो भाग)सम्म जाने योजनाअनुसार उत्खनन गर्दा इनारको पूर्ण आकार भेटिएको छ”, उप्रेतीले भन्नुभयो । उहाँका अनुसार सो इनार कुन समयको भन्ने कार्बन डेटिङपछि मात्रै यकीन हुनेछ । इनारको दक्षिणतर्फ पर्खालका भग्नावशेष पनि भेटिएको उप्रेतीले बताउनुभयो । उत्खननका क्रममा खयरडाँडा क्षेत्रमा माटाका भाँडा, पर्खालका भग्नावशेष भेटिएका छन् ।    
     
 स्थानीयहरुले पुरातात्विकस्थल भन्ने थाहा नहुँदै इँटा लगेपछि संरचनाहरु देखिएको उप्रेतीको भनाइ छ । गौतमबुद्धको मावली कहाँ हो भन्नेबारेमा अहिले नै निक्र्यौल गर्न नसक्ने भन्दै पुरातात्विक उत्खनन र अन्वेषण अझै बढाउनुपर्ने उहाँको भनाइ छ ।    
    
 रोहिणी पूर्वका नागरिकहरुले देवदहवासीका रुपमा भन्न मिल्ने उप्रेतीले बताउनुभयो । तर बुद्धका समय र त्योभन्दा अगाडिका माटाका भाँडा र टुक्रा भने पण्डितपुरमा भेटिएका थिए । स्थानीयले भने बुद्धको मावली देवदहको दरबार नै यहाँ रहेको दाबी गर्दै आएका छन् ।    
    
 पुरातत्व विभागका अधिकृत राजेश परियारले तत्कालीन कोलीय राज्यका क्षेत्रमा निरन्तर उत्खनन आवश्यकता रहेको बताउनुभयो । उहाँले खयरडाँडाको उत्खननबाट प्राप्त ऐतिहासिक तथ्य र प्रमाणलाई अध्ययन गरी आगामी दिनमा थप कदम अगाडि बढाइने बताउनुभयो ।    
    
 देवदह नगरपालिका–९ स्थित खयरडाँडा क्षेत्रमा देवदह नगरपालिकाको रु १० लाख बजेटबाट अहिले उत्खनन गरिएको हो । स्थानीय पालिकाको साझेदारीमा गरिएको यो पहिलो उत्खनन भएको बताइएको छ ।    
    
 लुम्बिनी विकास कोषका पुरातत्व महाशाखा प्रमुख तथा वरिष्ठ पुरातत्व अधिकृत उप्रेतीको नेतृत्वमा पुरातत्व अधिकृत परियार, लुम्बिनी विकास कोषका नमराज अधिकारी, चन्द्रप्रकाश पाठक, अन्तरहुसेन मुसलमान र विज्ञ शुभेच्छा पोख्रेल उत्खननमा खटिनुभएको थियो । उत्खनन थप एक महिनासम्म चल्ने जनाइएको छ ।    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend