Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

चन्दा सङ्कलन गरेर विद्यालय भवन निर्माण  


सूचना कुण्ड
चन्दा सङ्कलन गरेर विद्यालय भवन निर्माण  

  
  बझाङ, जेठ २३ :  सपना विष्ट कक्षा ७ मा अध्ययनरत हुनुहुन्छ । कक्षामा पढिरहेका बेला गत असोज १६ गते अपराह्न २ बजेको भूकम्पले भागाभाग भएको थियो । थलारा गाउँपालिका–९ मा रहेको भवानी आधारभूत विद्यालयका सपनासहितका विद्यार्थी कापीकलम छाडेर भाग्नुभएको थियो ।     
    
“भुँयचालोले भवानी आधारभूत विद्यालयको भवन भग्नावशेषमा परिणत भएपछि विद्यार्थीहरू चौरमा बसेर पढ्न थाल्नुभयो । “चौरमा बस्दा पनि भूकम्प हुने र ढुङ्गाहरू खस्ने डर भइरह्यो”, विद्यालयका प्रधानाध्यापक पूर्णबहादुर विष्टले भन्नुभयो, “विद्यालय बन्द गर्ने कुरा भएन । चौरमा पढाउन पनि डर भयो । भिरालो ठाउँमा जोखिम मोलेर गुजार्यौँ ।”    
    
उक्त विद्यालयका बालबालिका खुला चौरमा पढ्न बाध्य भएको खबर सार्वजनिक भएपछि नेपाल रेडक्रस ले चासो देखाएको प्रधानाध्यापक विष्ट सम्झनुहुन्छ । “समाचार सार्वजनिक भएपछि रेडक्रसको काठमाडौँ शाखाले विद्यार्थीको समस्या समाधानको चासो देखायो । हामी निकै उत्साहित भयौँ ”, उहाँले भन्नुभयो ।    
    
शाखाले काठमाडौँका विद्यालयमा सञ्चालन गरेको ‘मेरो एक दिनको खाजा भूकम्प प्रभावित साथीलाई’ कार्यक्रम चलाएर रकम सङ्कलन गर्दै विद्यालयको खातामा जम्मा गर्यो । विद्यालय भवनको काम भइरह्यो र निर्माण कम्पनीसँग सम्झौता भएको तीन महिनामै भवन निर्माण गरेर रेडक्रस काठमाडौँ शाखाले हस्तान्तरण गर्यो ।    
    
काठमाडौँ शाखाले रेडक्रसकै विभिन्न उपशाखा, संस्था, व्यक्तिसँग हात फिजाएर रकम जम्मा गर्दै विद्यालय भवन निर्माण गरेको नेपाल रेडक्रस सोसाइटी काठमाडौँ शाखाका सभापति श्यामकाजी डोटेलले बताउनुभयो । उहाँले समाचारमा पढेको पीडालाई सहन नसकेर सबैलाई सहयोग माग्दै भवन निर्माण गरेको बताउनुभयो ।    
    
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ढेपबहादुर विष्टलाई भवन हस्तान्तरण गर्दै सभापति डोटेलले भन्नुभयो, “रेडक्रस भनेको पीडितको घाउमा मल्हम लगाउने संस्था हो ।”    
विद्यालय भवन हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख कृष्णबहादुर विष्टले विद्यार्थीलाई खुला चौरमा पठनपाठन गराउँदा कापीकलम उडेर खोलामा पुग्ने समस्या अब टरेको बताउनुभयो । “पहिले खुलाचौरमा शिक्षक विद्यार्थीलाई अति नै समस्या थियो । त्यसै बेलामा काठमाडौँ रेडक्रसलाई भगवान्ले टुप्लक्क पठाएजस्तै भयो । बेसहारालाई सहारा दिनुभयो । विद्यालय परिवार खुसी छ”, उहाँले भन्नुभयो ।    
    
विद्यालय व्यवस्थापन समिति अध्यक्ष डिबी विष्टले पनि समाचारका आधारमा विद्यालय भवन बनाउने काठमाडौँ शाखाको कामको प्रशंसा गर्नुभयो । “सानो लगानीमा बलियो तीनकोठे भवन बन्छ भन्ने कसैलाई विश्वास थिएन । तर, सम्भव भयो”, उहाँले भन्नुभयो ।    
    
काठमाडौँ रेडक्रसले भवानी आधारभूत विद्यालयको तीनकोठे भवन निर्माण गरेको छ । “विद्यार्थीको पीडा सुनेर नयाँ शैक्षिकसत्रदेखि पठनपाठन हुनेगरी तयारी गरेका थियौँ”, रेडक्रस काठमाडौँ शाखाका सभापति डोटेलले भन्नुभयो, “हाम्रो अभियान सफल भयो । अब बालबालिकालाई सहज हुनेछ । हामी पनि खुसी छौँ ।”    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend