ललितपुर, जेठ १२ : गीतकार कल्याण श्रेष्ठको नयाँ गीतिएल्बम सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा कार्यक्रम आयोजना गर्दै श्रेष्ठले ‘नबुझिएको जिन्दगी’ नामक गीतिएल्बम सार्वजनिक गरेका हुन् ।
पूर्वप्रधानन्यायाधीश समेत रहेका गीतकार श्रेष्ठको एल्बममा पाँचवटा गीत समावेश छन् । ‘जिन्दगी’ बोलको गीतमा महेश खड्काको संगीत र विनोद राईको स्वर छ । राज सिक्देलको स्वर रहेको ‘तिमीसँग’बोलको गीतमा सुनील मास्केको संगीत छ ।
‘एक झलक’ बोलको गीतमा रवि ओडको स्वर तथा महेश खड्काको संगीत छ । ‘कहिले आँखाले’ बोलको गीतमा रुपक चौधरीको स्वर छ भने संगीत सुदेश शर्माले भरेका छन् । ‘मेरो भगवान’ बोलको गीतमा संगीता शाक्य थापाको स्वर र सुदेश शर्माको संगीत सुन्न सकिन्छ । एल्बममा ‘जिन्दगी’ र ‘तिमीसँग’को म्युजिक ट्रयाक पनि समावेश छ ।
कार्यक्रममा राजनीतिले गुमाएको कुरा सङ्गीत र साहित्यले जोगाउनुपर्छ भन्नेमा सरोकारवालाहरुले जोड दिनुभएको छ पूर्वप्रधानन्यायाधीश श्रेष्ठद्वारा सृजित ‘नबुझिएको जिन्दगी’ गीति सङ्ग्रह लोकार्पणका लागि ललितपुरमा आयोजित कार्यक्रमका वक्ताहरुले साहित्य र सृजना अनुभूतिको सुक्ष्मतम क्षेत्र भएकाले यसले विश्वभर नेपालको अस्तित्व र पहिचानलाई जोगाइ राख्नुपर्ने बताउनुभयो ।
गीतकार तथा सङ्गीतकार प्रा दीपक जङ्गमले नेपाली गीत सङ्गीतमा गुणस्तरीयताको खाँचो रहेको उल्लेख गर्दै राम्रो गीत, सङ्गीत र साहित्यको महत्व शताब्दीऔँसम्म पनि कायम रहने बताउनुभयो ।
“सङ्ग्रहित गीतहरु सुन्दर र उत्कृष्ट रहेका छन्, ओझपूर्ण यी गीतहरु अमूल्य सम्पत्ति हुन्”, उहाँले भन्नुभयो । गीतसङ्गीत क्षेत्रमा क्रियाशील कलाकारको हीत र साहित्य र सङ्गीतको विषयमा ऐन कानुन बनाउन कलाकारहरु नै सक्रिय र एकजुट हुनुपर्ने प्रा जङ्गमले बताउनुभयो । उहाँले सम्बन्धित क्षेत्रमा ज्ञान नभएका बाहिरी मान्छे हावी हुँदा गीत सङ्गीतकर्मीले दुःख पाउने बताउनुभयो ।
कवि तथा गीतकारका रुपमा पहिचानका साथ क्रियाशील व्यक्तित्व पूर्वप्रधानन्यायाधीश श्रेष्ठले आफू नवप्रवेशी गीतकार भएको बताउनुभयो । चार दशक बढी समय न्याय क्षेत्रमा योगदान गरी सेवा निवृत हुनुभएका श्रेष्ठले आफू जीवनभर पेट पाल्ने विद्यामा रुमल्लिएर मन पाल्ने विद्या साहित्य र सृजनाको क्षेत्रलाई भुलेको बताउनुभयो । “अनुभूतिको सुक्ष्मतम क्षेत्र साहित्य र सृजना हो, नेपाली वाङ्मय विश्वभर झाङ्गिएको छ, विश्व प्रतिस्पर्धामा भाग लिन सक्ने छ । नेपालको जीवनशैली संगीतमय छ”, उहाँले भन्नुभयो ।
सङ्गीतकार महेश खड्काले प्रतिलिपी अधिकार ऐनलाई सर्जक र सष्टाले आफ्नो प्रतिलिपी अधिकार सुरक्षित गर्न सक्ने गरी पुनःलेखन गर्नुपर्ने बताउनुभयो । उहाँले नेपालमा वौद्धिक सम्पत्ति संरक्षण र प्रतिलिपी अधिकारसम्बन्धी प्रभावकारी र सर्जकमैत्री कानून नबन्दन कलाकार र श्रष्टाहरुले आफ्नो परिश्रमको मूल्य पाउन नसकेको बताउनुभयो ।
सबैभावका गीतहरु उत्तिकै रुपमा लेख्न सक्ने खुवी भएका वौद्धिक तथा सृजनशील व्यक्तित्व श्रेष्ठद्वारा सृजित सात वटा गीत यसअघि नै सार्वजनिक भइसकेको सञ्चारकर्मी नरेशराज भट्टराईले जानकारी गराउनुभयो । ‘नबुझिएको जिन्दगी’ नामक गीतिसङ्ग्रहमा रहेका पाँच वटा गीतमा युवा सङ्गीतकार महेश खड्का, सुदेशराज शर्मा र सुनिल मास्केले सङ्गीत रहेको छ । पूर्वप्रधानन्यायधीश, गीतकार तथा सङ्गीतकार श्रेष्ठका थुप्रै लेख रचना शारदा र मधुमर्क पत्रिकामा प्रकाशित छन् ।
कार्यक्रममा नेपाल कानुन समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधान, गीतकार सङ्घका पूर्वअध्यक्ष चुडामणि देवकोटा, वरिष्ठ गीतकार आनन्द कार्कीलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।
–––
