Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

   १४ घण्टा ३१ मिनेटमा सगरमाथा आरोहण गरी  गोरखाकी फुञ्जो लामाको कीर्तिमान  


सूचना कुण्ड
   १४ घण्टा ३१ मिनेटमा सगरमाथा आरोहण गरी  गोरखाकी फुञ्जो लामाको कीर्तिमान  

काठमाडौँ, जेठ११ :  नेपाली महिला आरोही फुञ्जो झङ्मु लामाले १५ घण्टाभन्दा कम समयमै विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गर्नुभएको छ । वसन्त ऋतुको जारी सगरमाथा आरोहणमा गोरखाकी फुञ्जोले सगरमाथाको चुचुरोमा पुगेर सगरमाथाको सबैभन्दा छिटो महिला आरोहीको कीर्तिमान बनाउनुभएको हो ।    
    
सगरमाथा आधारशिविरस्थित पर्यटन विभागको अस्थायी फिल्ड कार्यालयका प्रमुख खिमलाल गौतमका अनुसार बुधबार दिउँसो ३.५२ मा आधार शिविरबाट आरोहण सुरू गरी बिहीबार आरोही फुञ्जोले सगरमाथाको चुचुरोमा पाइला टेक्नुभएको थियो । उहाँले १४ घण्टा ३१ मिनेटमा सगरमाथा आरोहण गरी कीर्तिमान कायम गर्नुभएको जनाइएको छ ।    
    
यसअघि सन् २०१८ मा फुञ्जोले ३९ घण्टा ६ मिनेटमा सगरमाथाको शिखरमा पुगेर रेकर्ड बनाउनुभएको थियो । पछि सन् २०२१ मा हङकङकी स्याङ यिन हङले २५ घण्टा ५० मिनेटमा सगरमाथा आरोहण गरेर बनाएको कस्सतमान फुञ्जोले तोड्नुभएको हो । यसअघि दोलखाका पेम्बादोर्जे शेर्पाले आठघण्टा १० मिनेटमा सगरमाथा आरोहण गरेर सबैभन्दा छिटो सगरमाथा आरोहण गर्ने पुरुषको रूपमा गिनिजबुकमा रेकर्ड कायम गर्नुभएको थियो ।    
    
 विसं २०४३ मा गोरखाको छेकाम्बर बुर्जी गाउँ (चुम भ्याली) मा सामान्य परिवारमा जन्मेकी फुञ्जोको सानै उमेरदेखि हिमाल आरोहणमा रुचि थियो । अमेरिकाको ‘डेनाली’ हिमाल आरोहण गरेर आरोहण यात्रा प्रारम्भ गरेकी फुञ्जोले चोयु, अमाडब्लम, लापुछे, मनास्लुजस्ता हिमाल चढिसक्नु भएको छ । उहाँले फ्रान्सको ‘मोमलङ’ हिमाल पनि आरोहण गरिसक्नुभएको छ । सगरमाथा आरोही सङ्घका महासचिव नेपाल पर्वतारोहण सङ्घका सचिव शिवबहादुर सापकोटाका अनुसार आरोही फुञ्जोले २४ घण्टा २४ मिनेटमा सगरमाथाको आधारशिविरबाट चुचुरोसम्म र सगरमाथाको चुचुरोबाट आधार शिविरसम्म आरोहण सकेर नयाँ कीर्तिमान बनाउनुभएको छ ।    
    
उहाँले नेपाली चेलीको साहसिक कार्यले संसारभर नेपालको साहसिक पर्यटन प्रवर्द्धमा सन्देश दिनुका साथै विश्वशान्ति, जलवायु परिवर्तन, पर्यटन प्रवर्द्धमा लाग्ने आरोहीको प्रोत्साहनमा पनि भूमिका खेलेको बताउनुभयो ।    
    
 फुञ्जोले हिमाल आरोहणका क्रममा दुर्घटनामा परेकालाई हेलिकप्टरमा झुण्डिएर उद्धार गर्ने काम गर्दै आउनुभएको छ । उहाँले सोलुखुम्बुको खुम्बु क्षेत्र र गोरखाको मनास्लु क्षेत्रमा हेलिकप्टरमा झुण्डिएर हिमालको चुचुरा, खोच, ग्ल्यासिएरसम्म पुगेर उद्धार कार्य गर्दै आउनुभएको छ । पहिलो नेपाली महिला हेलिकप्टर लामोलाइन उद्धारकर्ता फुञ्जो यसअघि नै तेन्जिङ–हिलारी पुरस्कारबाट सम्मानित भइसक्नुभएको छ ।    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend