काठमाडौँ, जेठ ९ : यही जेठ १३ गतेदेखि २२ गतेसम्म चन्दगिरि नगरपालिका सहित देशभरिका बालबालिकाका लागि पोलियो रोगविरुद्धको ‘आइपिभी’ खोप अभियान सञ्चालन गरिने भएको छ । विसं २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई खोप लगाइने छ । तत्कालीन समयमा ‘आइपिभी’ खोप उत्पादन हुन नसकेपछि ती उमेर समूहका बालबालिका खोप लगाउनबाट छुटेका थिए ।
चन्द्रागिरि नगरपालिका , स्वास्थ्य शाखाका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत शम्भुकुमार महतोले विसं २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई पोलियो रोगविरुद्धको ‘आइपिभी’ खोप लगाउन लागिएको जानकारी दिनुभयो । उहाँले यही जेठ १३ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने खोप अभियानमा करिव सातहजार ५१० बालबालिकालाई खोप लगाइने जानकारी दिनुभयो । खोपका लागि स्वास्थ्य शाखाले बालबालिकालाई पायक पर्ने स्थान विद्यालय र केही स्वास्थ्य सस्था गरी ६९ स्थानबाट सेवा प्रदान गर्ने तयारी गरेको छ ।
चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी एवं प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले नगरपालिकाले बालस्वास्थ्यमा उच्च प्राथमिता दिँदै आएको जनाउनुहुँदै यही जेठ १३ गतेदेखि २२ गतेसम्म नगरक्षेत्रमा सञ्चालन हुने पोलियोविरुद्धको आइपिभी खोप अभियानमा सहयोग पु र् याउन अपील गर्नुभएको छ ।
स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले पोलियो रोगबाट बचाउन आगामी जेठ १३ गतेदेखि पोलियो रोगविरुद्धको खोप ‘आइपिभी’ अभियान सञ्चालन गर्ने जानकारी दिनुभयो । देशभरिका करिब १४ लाख ६२ हजार बालबालिकालाई पोलियो रोगविरुद्धको खोप ‘आइपिभी’ लगाइने छ । उहाँले पोलियो रोगको सङ्क्रमण अझै देखिएकाले अभियान सञ्चालन गर्न लागिएको बताउनुभयो ।
जिल्ला जनस्वास्थ्य कार्यालय, काठमाडौँका जनस्वास्थ्य अधिकृत तुलसी सुवेदीले काठमाडौँ जिल्लाका एक लाख २५ हजार एक सय १७ बालबालिकालाई पोलियोविरुद्धको आइपिभी खोप खोप लगाइने जानकारी दिनुभयो । उहाँले काठमाडौँ एक हजार चार सय २१ विद्यालयका अतिरिक्त सात सय ८३ खोप केन्द्र स्थापना गरी खोप प्रदान गरिने र अभियानका लागि दुई सय ७८ स्वास्थ्यकर्मी र पाँच सय ५६ स्वयम्सेविका परिचालन गरिने बताउनुभयो । नेपालमा सन् २०१० देखि नै पोलियो रोग नदेखिए पनि छिमेकीमुलुक पाकिस्तान र अफगानिस्तानमा पोलियो रोगको सङ्क्रमण देखिएकाले खोप अभियान सञ्चालन गर्नुपरेको जनस्वास्थ्य अधिकृत सुवेदीको भनाइ छ । “नेपालबाट ती दुई देशमा आवतजावत भइरहने हुनाले यहाँ पनि सङ्क्रमणको जोखिम रहेको छ । त्यसैले जोखिमलाई मध्यनजर गरी खोप लगाउनुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो ।
कार्यालय प्रमुख अर्जुनप्रसाद सापकोटाले त्यस अवधिमा विश्वबजारमा ‘आइपिभि’ खोपको अभाव रहेकाले बालबालिकालाई खोप लगाउन नपाइएकाले खोप प्रदान गर्न थालिएको जानकारी दिनुभयो । नियमिततर्फ पोलियोविरुद्ध छ हप्ता, १० हप्ता र १४ हप्ताका बालबालिकालाई मुखबाट थोपा तथा १४ हप्ता र नौ महिनासम्मका बालबालिकालाई खोप लगाइन्छ । खोप अभियानका लागि ग्लोबल एलाएन्स फर भ्याक्सिन एण्ड इमुनाइजेसन (गाभी)ले रु ३२ करोड बराबरको खोप उपलब्ध गराइसकेको छ । सरकारले सन् २०२६ सम्म पोलियो उन्मूलन गर्ने लक्ष्य राखेको छ ।
---
