Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

 स्वास्थ्य क्षेत्रमा बेथिति : कोरोना भाइरसको बेला आएका उपकरण अहिले त्यत्तिकै थन्किए 


सूचना कुण्ड
 स्वास्थ्य क्षेत्रमा बेथिति : कोरोना भाइरसको बेला आएका उपकरण अहिले त्यत्तिकै थन्किए 

   
काठमाडौँ, ७ जेठ : मुलुकका सङ्घीय अस्पतालमा आएका उपकरणमध्ये १४ प्रतिशत जडान नै नगरिएको पाइएको छ ।    
    
 स्वास्थ्य सेवा विभागले लाइफलाइन इन्टरप्राइजेजसँगको सहकार्यमा गरेको ‘नेपालका सार्वजनिक स्वास्थ्य संस्थामा बायोमेडिकल उपकरणको सर्वेक्षण’ सार्वजनिक कार्यक्रममा इन्टरप्राइजेजका अध्यक्ष अञ्जली टिवरिवालले दुई हजार छ सय ४५ स्वास्थ्य उपकरण अझै जडान नगरिएको जानकारी दिनुभयो ।    
    
 उहाँका अनुसार वाग्मती, कोशी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका ११ अस्पतालमा गरिएको सर्वेक्षणमा एक हजार आठ सय २३ उपकरण बिग्रेका छन् । गत कात्तिकदेखि चैतसम्ममा ती अस्पतालमा १९ हजार एक सय ७४ उपकरणको अवस्थाका बारेमा सर्वेक्षण गरिएको थियो । सर्वेक्षणमा एक हजार ७४ उपकरण राम्रा रहे पनि प्रयोगमा नआएको देखिएको पाइएको सर्वेक्षणका बायोमेडिकल इन्जिनियर भाष्कर रिजालले जानकारी दिनुभयो ।    
    
 “ कोरोना भाइरसको बेला आएका उपकरण अहिले त्यत्तिकै थन्किएर रहेका छन्”, उहाँले भन्नुभयो, “पहिला कोरोनाकालमा प्रयोग भएका ती उपकरण अहिले बिरामी नभएपछि त्यत्तिकै प्रयोगमा आएका छैनन् ।” यस्तै, सर्वेक्षणमा ती अस्पतालमा रहेका तीन सिटी स्क्यान मेसिन बिग्रेर थन्किएका छन् ।    
    
 बायोमेडिकल इन्जिनियर रिजालका अनुसार वीर अस्पताल, नेपाल सशस्त्र प्रहरी वल अस्पताल र कोशी अस्पतालमा रहेका सिटी स्क्यान मेसिन बिग्रेका छन् । ती सिटी स्क्यानका अधिकांशको चार्जर बोर्ड, ब्याट्री, टेबल बिग्रेको उहाँले बताउनुभयो । उहाँले कोशी अस्पतालको सिटी स्क्यान बनाउन धेरै नै खर्च लाग्ने भएकाले नबनाउन आग्रहसमेत गरिएको बताउनुभयो । “कोशी अस्पतालको सिटी स्क्यान पुरानो र मर्मत गरेर सञ्चालन गर्न धेरै खर्च लाग्ने भएकाले नबनाउन सुझाव दिएका छौँ”, उहाँले भन्नुभयो, “वीर र नेपाल सशस्त्र प्रहरी बल अस्पतालको सिटी स्क्यान चलाएर बिरामीको उपचारमा प्रयोग गर्न सकिन्छ ।”    
    
 वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेलले अस्पतालमा बिग्रिएका स्वास्थ्य उपकरणको मर्मत गरेर सञ्चालन गर्नका लागि बायोमेडिकल इन्जिनियर नभएको बताउनुभयो । “हामीले पटक पटक बायोमेडिकल इन्जिनियर चाहियो भनेर सरकारलाई भनेको छौँ”, उहाँले भन्नुभयो, “तर सरकारले अहिलेसम्म एकजना पनि बायोमेडिकल इन्जिनियर पठाउन सकेको छैन, अहिले हामीले बायोमेडिकल प्राविधिकको सहयोगमा स्वास्थ्य उपकरणको परीक्षण गरिरहेका छौँ ।”    
    
 स्वास्थ्य सेवा विभागका महानिर्देशक डा सङ्गीता मिश्राले सरकारले स्वास्थ्य उपकरणको मर्मतका लागि कम बजेट विनियोजन गर्ने भएकाले मर्मतमा समस्या भएको बताउनुभयो । उहाँले सातवटा प्रदेशमा स्वास्थ्य उपकरण मर्मतका लागि केन्द्र स्थापनाको तयारी भइरहेको जानकारी दिनुभयो ।    
    
 विभागको व्यवस्थापन शाखाका निर्देशक डा श्रवण थापाले नचलेका ठाउँका उपकरण चलाउने ठाउँमा पठाउने काम भइरहेको बताउनुभयो ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend