काठमाडौं, जेठ ५:, नेपाल कम्युनिष्ट पार्टी एमाले चन्द्रागिरि नगर कमिटीको दोस्रो नगर अधिवेशन जेठ ५ गते चन्द्रागिरि वडा नं. ५ को ऐतिहासिक गाउँ किसिपिडीमा बिहान ११ बजे उद्घाटन हुने भएको छ ।
संगठन सुदृढीकरण र विस्तार अबको संकल्प, समृद्ध चन्द्रागिरिका लागि एमाले निर्विकल्प मूल नारासाथ हुन लागेको अधिवेशन जेठ ५ र ६ गते संचालन हुने छ ।
अधिवेशनबारे जानकारी दिन शुक्रबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नगर पार्टी अध्यक्ष राजु श्रेष्ठले केन्द्रीय उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको प्रमुख आतिथ्यतामा हुने उद्घाटन समारोहमा ३ हजारभन्दा बढीको सहभागिता रहने जानकारी दिनु भयो ।
उहाँका अनुसार पार्टीको दोस्रो नगर अधिवेशनमा नगरभरका करिब २ सय जना प्रतिनिधिहरुले भाग लिने छन् । यही अधिवेशनले चन्द्रागिरि नगर पार्टीको नयाँ नेतृत्वसमेत चयन गर्नेछ । खुल्ला सत्र र बन्दसत्र गरी २ चरणमा हुने अधिवेशनको उद्घाटन वडा नं. ५ को किसिपिडीमा र बन्दसत्र वडा नं. १० को सतुंगल पार्टी प्यालेसमा हुने छ ।
अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै पार्टी अध्यक्षले कार्यकर्ता उत्सुकतासाथ अधिवेशनको प्रतीक्षामा रहेको बताउनु भयो । अधिवेशनको तयारीस्वरुप शुक्रबार जेठ ४ गते बिहान किसिपिडी क्षेत्रमा सरसरफाइ गरिएको थियो । त्यसैगरी उद्घाटन क्षेत्रलाई पार्टी झण्डा र तुल ब्यानरले सिंगारिएको छ । अधिवेशन भव्य र सभ्यताका साथ सफल पार्न स्वयंसेवकहरु परिचालन गरिएको छ । किसिपिडी क्षेत्रका पार्टी कार्यकर्ताहरु दिनरात खटेका छन् ।
