Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

मिथिलामा जानकी नवमी मनाइँदै   


सूचना कुण्ड
मिथिलामा जानकी नवमी मनाइँदै   


   
महोत्तरी, जेठ ४: प्राचीन मिथिला क्षेत्रमा आज धुमधामका साथ जानकी नवमी मनाइँदैछ । आदर्श नारी सीता प्रकट भएको वैशाख शुक्ल नवमीमा यो पर्व मनाइने परम्परा छ । बिहीबारदेखि नै यो पर्वका अवसरमा आयोजित विविध धार्मिक अनुष्ठान आज सम्पन्न हुँदैछन् ।    
    
सीता, वैदेही, जनकनन्दिनी, मिथिला, रामिणी र किशोरीजीलगायत धेरै नाउँले जानकीलाई पुकारिन्छ । हिन्दू परम्परा र मान्यतामा देवीस्वरुपा मानिने जानकी अघि त्रेता युगमा वैशाख शुक्ल नवमीका दिन प्रकट भएकी विश्वास गरिन्छ । पर्वका अवसरमा मिथिलाका मठ, मन्दिरमा यो पर्व वैशाख शुक्लपक्ष सुरु भएसँगै नौ दिनसम्म विभिन्न विधिका साथ मनाउने चलन छ ।    
    
जानकी नवमी पर्व सम्पूर्ण हिन्दू समुदाय, नेपालीहरुका लागि उत्तिकै महत्वपूर्ण भएपनि सीता प्राचीन मिथिलाकी छोरी भएकी हुँदा यहाँका बासिन्दामा यस पर्वको भावात्मक सम्बन्ध रहेको महोत्तरीको मटिहानीस्थित लक्ष्मीनारायण मठका सन्त तथा मिथिला परम्परा तथा संस्कृतिका ज्ञाता रवीन्द्रदास वैष्णव बताउनुहुन्छ ।    
    
पर्वका अवसरमा प्राचीन मिथिलाका सबैजसो मठमन्दिरमा विशेष भजनकीर्तन हुँदै आएका छन् । त्यसैगरी सीताजी प्रकट हुनु भएको पौराणिक कथाका आधारमा ती विषय समेटिएको भावका मङ्गलगान आज जताततै गुञ्जिरहेका छन् ।    
    
    
मटिहानीस्थित लक्ष्मीनारायण मठ, लक्ष्मीनारायण मन्दिर, जलेश्वरको ब्रह्मचारीकुटीस्थित रामजानकी मन्दिर, बर्दिबासस्थित रामजानकी मन्दिर र जिल्लाका सबैजसो मठमन्दिरमा जानकी नवमीका अवसरमा विशेष धार्मिक अनुष्ठान भएका छन् । यस अवसरमा सीता जन्म कथा, सीता स्वयंवर, रामलीला र रासलीलासहितका कार्यक्रम मञ्चन भएका छन् ।    
    
यसैबीच, प्राचीन मिथिलाको राजधानी जनकपुरधाम र त्यहाँका मठमन्दिरमात्र नभएर घरघरमा हिजो बिहीबार साँझदेखि नै दीपावली गरिएको छ । तिथिको घटबढले हिजोको साँझ र रात नवमी तिथि परेको हुँदा हिजो न दीपावली गरिएको थियोे । जनकपुरधामस्थित दुधमती नदीमा आज बिहानै शाहीस्नान सम्पन्न भएको छ । यस अवसरमा महोत्तरीको मटिहानीस्थित लक्ष्मीसागर, जलेश्वरस्थित भार्गव, पुरन्दर र वरुणसरलगायत तलाउमा स्नान गर्ने श्रद्धालुको भीड लागेको छ ।    
    
यसैगरी आज मध्याह्न १२ बजे विशेष आरती महोत्सव गरी जानकीको डोला जनकपुर नगर परिक्रमा गराई सन्ध्या आरतीपश्चात् पर्व सम्पन्न गरिने तयारी रहेको जानकीमन्दिरका महन्थ रामतपेश्वर दासले जानकारी दिनुभएको छ ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend