विराटनगर, वैशाख ३१ : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिनुहुनेछ ।
प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशसभाको पाँचौ अधिवेशन आज बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गर्नुभएको छ । उहाँले कोशी प्रदेश सरकार (मन्त्रिपरिषद्) को २०८१ वैशाख २७ गतेको सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम उक्त आह्वान गर्नुभएको हो ।
यही वैशाख २७ गते कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएका कार्कीले सोही दिन साँझ पद तथा गोपनीयताको शपथ लिनुभएको थियो । उहाँलाई नेकपा (एमाले) का ३९, नेकपा (माओवादी केन्द्र) का १३ सहित ५२ प्रदेशसभा सदस्यको साथ र समर्थन रहेको छ ।
आजको बैठकमा नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम तथा कोशी प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधन समेत) को नियम १२८ बमोजिम कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने बैठकको कार्य सूची रहेको छ ।
बागमती प्रदेशसभाको बैठक आज बस्दै
बागमती प्रदेशसभाको बैठक आज बस्दै छ । बागमती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज दिउँसो १ बजे बस्ने गरी प्रदेशसभाको बैठक आह्वान गर्नुभएको छ ।
बजेट अधिवेशनको रुपमा समेत आह्वान गरिएको प्रदेशसभाको आजको बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरुले शुभकामना मन्तव्य दिने कार्यसूची तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
यस्तै आजको बैठकमा बागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई संशोधन गर्न बनेको अध्यादेश प्रस्तुत गर्ने कार्यसूची तय भएको सभामुख भुवनकुमार पाठकले जानकारी दिनुभयो ।
प्रदेशसभाको बैठक अघि बसेको प्रदेश कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रदेशसभा बैठकको कार्यसूची तय गरेको थियो । यही प्रदेशसभा अधिवेशनबाट आगामी आर्थिक वर्ष २०८१/८२ को नीति, कार्यक्रम तथा बजेट पारित गर्नेछ । प्रदेशसभाको हिउँदो अधिवेशन गत वैशाख १२ गते राति १२ बजेदेखि प्रदेश प्रमुख शर्माले अन्त्य गर्नुभएको थियो ।
–––
