Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

राष्ट्रपतिद्वारा उपत्यकालाई स्वच्छ, सफा, सुन्दर र जनजीवन स्वस्थ बनाउन आग्रह   


सूचना कुण्ड
राष्ट्रपतिद्वारा उपत्यकालाई स्वच्छ, सफा, सुन्दर र जनजीवन स्वस्थ बनाउन आग्रह   

    
काठमाडौँ, वैशाख २४: राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँ उपत्यकालाई स्वच्छ, सफा, सुन्दर र हराभरा तथा यहाँको जनजीवन स्वस्थ बनाउन सामूहिक प्रयासका साथ काम गर्न उपत्यकाका स्थानीय तहका प्रमुख उपप्रमुखहरुलाई आग्रह गर्नुभएको छ ।    
    
उपत्यकाका महानगर, नगरपालिकाका प्रमुख एवं उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष एवं उपाध्यक्षहरुसँग शीतल निवासमा आज भएको भेटमा राष्ट्रपति पौडेलले सो आग्रह गर्नुभएको हो । उहाँले जल्दोबल्दो समस्याका रुपमा रहेको जलवायु र वातावरण मानव अस्तित्व र पृथ्वीको सुरक्षासँग जोडिएको एजेण्डा भएकाले यसमा सबै पालिकाले ध्यान दिन सके सिङ्गो देश स्वच्छ, सफा र सुन्दर हुने बताउनुभएको उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले बताउनुभयो ।    
    
उहाँले वायु प्रदूषण उपत्यकाभित्र बढ्दै गएको हुँदा यसलाई निश्चित मापदण्डभित्र राख्न कार्यक्रम सञ्चालन गर्न, वरपरका वनजङ्लमा लाग्ने डढेलोलाई नियन्त्रण गर्न यथासम्भव प्रयास गर्न तथा सामुदायिक शिक्षाको गुणस्तरमा महानगरपालिकालगायत नगरपालिकाको अनुगमन सशक्त बनाइ गुणस्तर बढाएर जीवनोपयोगी शिक्षाका लागि ध्यान दिन पनि आग्रह गर्नुभयो ।    
    
त्यस्तै राष्ट्रपति पौडेलले असहाय, बालबालिका तथा बृद्धलाई कार्यक्रमसहित सहारा दिने, उपत्यकाभित्र निर्माण हुन लागेका बाटो, धाराहरूलाई गुणस्तरीय रुपमा सम्पन्न गर्ने तथा परम्परादेखि हाम्रो सभ्याताका रुपमा रहेका चौतारी र पोखरीको संरक्षण, नयाँ पार्क (चौतारी) र पोखरी निर्माण गरी हरियालीसहित वातावरणीय स्वच्छता बढाउनुपर्नेमा जोड दिनुभयो ।    
    
उहाँले उपत्यकाको फोहर मैला व्यवस्थापनमा केही सुधार आएको तर अहिलेको व्यवस्थापन दिगो होइन यसको दीर्घकालीन र स्थायी समाधान खोज्नुपर्ने सुझाव दिनुभयो । फोहोर शुरुबाट वर्गीकरण गरी प्रविधिको प्रयोगसहित वैज्ञानिकरुपले समाधानको विकल्प खोज्नुपर्ने धारणा पनि उहाँले व्यक्त गर्नुभयो । राष्ट्रपति पौडेलले वातावरणमैत्री स्थानीय शासनको प्रवर्द्धन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।    
    
राष्ट्रपति पौडेलसंगको सो भेटमा काठमाडौ उपत्यका मेयर फोरमका महासचिव एवं चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरिले उपत्यकालाई स्वच्छ, सफा, सुन्दर र हराभरा बनाउन सामूहिक रुपमा काम भैराखेको  जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “फोरमले उपत्यकाको ऐतिहासिक सम्पदा संरक्षण, राजश्व, फोहरमैला व्यवस्थापन, ट्राफिक व्यवस्थापन, खानेपानी, पूर्वाधार , शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा साझा एकीकृत रुपमा काम गरिरहेका छ ।”    
    
सो अवसरमा स्थानीय तहका प्रमुख उपप्रमुखहरुले सामूहिक सोच र सहकार्यका साथ साझा समस्या समाधानमा अघि बढ्ने धारणा व्यक्त गर्नुभएको थियो ।    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend