Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

मकैमा कीराको सङ्क्रमणले किसान चिन्तित   


सूचना कुण्ड
मकैमा कीराको सङ्क्रमणले किसान चिन्तित   



बाँके, वैशाख२४ : बाँकेमा लगाइएको मकैबालीमा रोग तथा कीराको प्रकोप बढ्दै गएपछि किसान चिन्तित बनेका छन् ।    
    
 व्यावसायिकरुपमा बेमौसमी मकैखेती हुँदै आएको डुडुवा गाउँपालिका–६ हिरमिनियाको महन्तपूर्वालगायतका क्षेत्रमा रोग तथा कीराको सङ्क्रमणले मकैमा क्षति पुगेको छ । डुडुवा–६ हिरमिनियाका किसान जियालाल यादवले मकै फल्ने बेलामा कीराले पात हुँदै बोटमा आक्रमण गरेपछि बोट मर्ने समस्या देखिएको बताउनुभयो ।    
    
 “मेहनत गरेर लगाएको बाली फल्ने बेलामा कीराले खाएको छ, यो पटक मकैमा लगाएकाले लगानी पनि नउठ्ने भयो”, बारीमा कीराले सङ्क्रमण गरेको मकैका बोट देखाउँदै किसान यादवले भन्नुभयो, “रोग लागेकाबारे गाउँपालिकाको कृषि शाखामा जानकारी गराए पनि उपचार हुन सकेको छैन ।”    
    
 यादवको करिब १४ कट्ठा जमिनमा लगाइएको बेमौसमी मकैमा रोगको सङ्क्रमण देखिएको हो । पातमा कीराले खाएर प्वाल पार्ने र विस्तारै बिरुवा सुक्दै जाने समस्या देखिएको उहाँको भनाइ छ । स्थानीय सावितराम यादवले सुरुमा लगाएको मकैबाली सप्रिए पनि पछिल्लो पटकको मकै बालीमा रोग कीराको सङ्क्रमण देखिएको बताउनुभयो ।    
    
 जिल्ला कृषि ज्ञानकेन्द्र बाँकेका सूचना अधिकारी जीवनकुमार केसीले कहिँकतै रोगको सङ्क्रमण देखिएको कृषकले गुनासो गरे पनि प्रकोपका रुपमा नरहेको उल्लेख गर्नुभयो । उहाँले स्थलगतरूपमा अनुगमन गरेर मकैमा सङ्क्रमण गरिरहको कीरा र रोगका बारेमा पहिचानका लागि स्थानीय तहका कृषि शाखासँग समन्वय भइरहेको बताउनुभयो ।    
    
 बाँकेमा राप्ती सोनारी गाउँपालिकाको वैजापुर, फत्तेपुर, बिनौना, नेपालगञ्जको भवानीयापुर, बाबुगाउँ, डुडुवाको हिरमिनिया र खजुरा क्षेत्रमा किसानले बमौसमी मकैखेती गर्दै आएका छन् । बमौसमी मकैखेतीका लागि राहत तथा अनुदानको कार्यक्रम नभए पनि किसानले स्वस्फूर्तरुपमा खेती गर्दै आएको किसान महासङ्घ बाँकेका अध्यक्ष कृष्णविक्रम केसीले जानकारी दिनुभयो ।    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend