Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

खडेरीले मुहान सुकेपछि खानेपानीका लागि ट्याङ्करमा निर्भर


सूचना कुण्ड
खडेरीले मुहान सुकेपछि खानेपानीका लागि ट्याङ्करमा निर्भर

    

पाँचथर, वैशाख २३:  सुक्खाका कारण खानेपानीको मुहान सुकेपछि पाँचथरको हिलिहाङ गाउँपालिका–७ का तीन सय बढी घरमा ट्याङ्करबाट पानीको प्रबन्ध भएको छ ।    
    
हिलिहाङ–७ का चुक्फारा, माझीगाउँ, डाँडागाउँ र सिमखर्क बस्तीका तीन सयभन्दा बढी परिवारले उपयोग गर्दै आएको साँचेखोला खानेपानीको मुहान सुकेपछि ट्याङ्करबाट खानेपानीको व्यवस्था गरिएको हो ।    
    
ट्याङ्करमा सोही वडाको हेवाखोला छेउमा रहेको मुहानमा पानी जम्मा गरी सल्लेरीमा रहेको पाइप लाइनबाट साँचेखोला खानेपानी आयोजनाको ट्याङ्कीमा सङ्कलन गरिएको छ । यहाँ निर्माण गरिएका २० र ६० हजार लिटर क्षमताका दुईवटा ट्याङ्कीमा जम्मा गरी खानेपानी वितरण गर्ने गरिएको साँचेखोला खानेपानी आयोजनाका अध्यक्ष तिलविक्रम इधिङ्गोले बताउनुभयो ।    
    
“मुहान सुकेपछि उपभोक्ता मिलेर वडा कार्यालय, हिलिहाङ गाउँपालिकालगायत निकायमा जानकारी दियौँ”, खानेपानी वितरणको अगुवाइ गरिरहनुभएका अध्यक्ष इधिङ्गोले भन्नुभयो, “पानीको हाहाकार हुन थालेपछि स्थानीयवासीकै सक्रियतामा खानेपानी ल्याउन थालेका हौँ ।” यहाँ वैशाख १५ देखि ट्याङ्करको सहायताले निरन्तर खानेपानी वितरण भइरहेको इधिङ्गोले बताउनुभयो ।    
    
तीन सयभन्दा बढी उपभोक्तामध्ये ४५ घरका उपभोक्ताले तीनधारे मुहानबाट दुई घण्टा पानी बोकेर लैजाने गरेका छन् । स्थानीय कौशिला बराइली पानीको जोहो गर्न दैनिक एक घण्टाभन्दा समय खर्चनु परेको बाध्याता सुनाउनुहुन्छ ।    
    
स्थानीयवासीले ट्याङ्करबाट खानेपानीको प्रबन्ध गर्न थालेपछि फिदिम नगरपालिका, फिदिम खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, हिलिहाङ–७ वडा कार्यालय, एपेक्स निर्माण कम्पनी, इन्द्र योक्पाङ्देनलगायत स्थानीयवासीलाई सहयोग गर्दै आएका छन् ।    
    
खानेपानीको समस्या भोगिरहेका हिलिहाङ गाउँपालिकाका सातवटै वडाका लागि बृहत् सुभाङ खानेपानी आयोजना निर्माण भइरहेको छ । हिलिहाङ–७ को साविक भारपा गाविसका लागि उक्त बृहत् आयोजनाअन्तर्गत नै साँचेखोला ‘बी’ योजना निर्माण भइरहेको छ ।    
    
हिलिहाङ गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारीका अनुसार बृहत् आयोजनाको निर्माण कम्पनीले भुक्तानी नपाएका कारण काम रोकेको छ । साँचेखोला ‘बी’ उपयोजनाको मुहानभन्दा पाइप लाइनको केही भाग माथि बनेका कारण उक्त उपयोजना तत्कालै सञ्चालन हुन नसक्ने अवस्थामा छैन ।    
    
साविक भारपा गाविस वडा नं ६, ७, ८ र ९ का लागि २०५३ सालमा साँचेखोला खानेपानी योजना निर्माण थालिएको थियो । उक्त योजना सशस्त्र द्वन्द्वका कारण प्रभावित भई २०६९ देखि पानी वितरण सुरु भएको थियो ।    
    
पुरानो साँचेखोला योजनाभन्दा करिव दुई सय ५० मिटर तलको मुहानमा बृहत् आयोजनाअन्तर्गत साँचेखोला ‘बी’ निर्माण भएको हो । यद्यपि प्राविधिक, निर्माण कम्पनी र तालुकदार निकायबीच समन्वय नहुँदा उक्त उपयोजनाको ट्रान्समिसन लाइनको केही भाग मुहानभन्दा माथि निर्माण भएपछि एक हजारभन्दा बढी उपभोक्ता पेयजल प्राप्तिको आधारभूत सुविधाबाट वञ्चित भएका छन् ।    


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend