Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

भरतपुर भ्रमण वर्षः होटलमा २५ प्रतिशतसम्म छुट   


सूचना कुण्ड
भरतपुर भ्रमण वर्षः होटलमा २५ प्रतिशतसम्म छुट   


भरतपुर (चितवन), वैशाख १४: भरतपुर भ्रमण वर्ष २०२४ को अवधिभर भरतपुरका होटलले पर्यटकलाई छुट दिने भएका छन ।    
    
 भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालको उपस्थितिमा बिहीबार भएको होटल व्यवसायीसँगको छलफलबाट शुल्क निर्धारण र छुट दिने निर्णय गरिएको हो । त्यसअनुसार होटल व्यवसायीले खानामा १५ प्रतिशत र आवासमा २५ प्रतिशतसम्म छुट दिने छन् ।    
    
 छुटको अनुपात अझ बढ्न सक्ने व्यवसायीले बताएका छन् । महानगर प्रमुख दाहालले भरतपुरमा पर्यटकिय गतिविधि बढेको भन्दै यहाँ आउने पर्यटकलाई दिने सेवा सुविधामा कमी हुन नदिन आग्रह गर्नुभयो । महानगरपालिकाका पर्यटनविज्ञ डा विश्व सुवेदीका अनुसार भ्रमण वर्ष घोषणापछि राष्ट्रिय र अन्तर्राष्ट्रिय तहका ५१ कार्यक्रममध्ये २० कार्यक्रम भरतपुरमा आयोजना भइसकेका छन् ।    
    
 राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहका ठूला खेलकुद प्रतियोगिता, प्रदर्शनीले भरतपुरमा मानिसको चहलपहल बढेको विज्ञ सुवेदीले जानकारी दिनुभयो । उहाँले पर्यटन व्यवसायीले रात्रिकालीन घुमफिर गर्ने ठाउँको खोजी गरेको बताउनुभयो । “व्यवसायीले होटल सञ्चालनको समय बढाउनुपर्ने माग गरेका छन्”, उहाँले भन्नुभयो, “यसबारेमा छलफल गरी रात्रिकालीन घुमफिरको स्थल तय गरिनेछ ।”    
    
 मेघौली र जगतपुरका होटल व्यवसायीले आफूहरु महानगरको छुटको प्रस्तावमा सकारात्मक बने पनि महानगरले गरेका कार्यक्रम पनि विकेन्द्रीकृत गरेर जगतपुर र गोलाघाटतिर पनि गर्नुपर्ने प्रस्ताव गरेका छन् । होटल व्यवसायी सङ्घ मेघौलीका अध्यक्ष सन्देश चापागाईंले भ्रमण वर्षका कारणले पर्यटक अपेक्षितरुपमा बढ्न नसकेको बताउनुभयो ।    
    
 उहाँले भन्नुभयो, “हामी महानगरलाई सहयोग गर्न तयार छौँ, तर महानगरले गर्ने विभिन्न सभा, सम्मेलन र कार्यशाला मेघौली र जगतपुरतिर हुनुपर्छ, नारायणगढ केन्द्रित हुनुहुँदैन, सबै निकायको यस कार्यमा समुचित सहयोग आवश्यक पर्छ ।”    
    
 भ्रमण वर्षका लागि सांस्कृतिक अनेकता, भौगोलिक विविधता, प्राकृतिक अवस्था, भू–बनोट आदिका आधारमा महानगरले आफ्ना प्रमुख गन्तव्य छुट्याएको छ । भरतपुरसँग दुर्लभ वन्यजन्तु अवलोकन र पर्यापर्यटनका लागि विश्वमै चिनिएको चितवन राष्ट्रिय निकुञ्ज, दुई ठूला नदी राप्ती तथा नारायणी, सुन्दर पर्यटकीय नगरी मेघौली, गोलाघाट, पटिहानी, राइनोकुञ्ज भरतपुरका प्रमुख पर्यटकीय क्षेत्र छन् ।    
    
 त्रिशूली र कालीगण्डकीको सङ्गमस्थल देवघाटदेखि मौलाकालिका मन्दिर, सामुदायिक वन, बीसहजारी ताल, नारायणी तट क्षेत्र, चौकीडाँडा, कविलासगढी, जगतपुर, बाटुली पोखरी, कसरालाई महानगरले भ्रमण वर्षको मुख्यस्थानका रूपमा प्रचार गर्दै पर्यटकीय गतिविधि सञ्चालन गरिरहेको छ । यहाँको मुख्य आकर्षण जङ्गल सफारी र जङ्गली जनावर बाघ, गैँडालगायतको अवलोकन पनि हो ।    


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend