Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

इन्द्रेणी पर्यटन अन्तर्राष्ट्रिय पर्यटन सम्मेलन : समलिङ्गी विवाह दर्ताको प्रशंसा   


सूचना कुण्ड
इन्द्रेणी पर्यटन अन्तर्राष्ट्रिय पर्यटन सम्मेलन : समलिङ्गी विवाह दर्ताको प्रशंसा   

काठमाडौँ, वैशाख ८: नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा मायाको पहिचान नेपालद्वारा नेपालमा पहिलो पटक आयोजित इन्द्रेणी पर्यटन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि यहाँ सुरु भयो । दुई दिने सो सम्मेलनको मुख्य ध्येय नेपाललाई इन्द्रेणी पर्यटनको गन्तव्य बनाउने रहेको छ ।    
    
 महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले सम्मेलनको उद्घाटन गर्नुहुँदै नेपालमा ‘लैङ्गिक समानता नीति‘ २०७७ सालमा नै लागू भएको छ भन्नुभयो । उहाँले भन्नुभयो ,“लैङ्गिक समानता नीति अनुसार पहिलोपटक समलिङ्गी विवाह दर्ता भएको छ ।” विगतमा मन्त्रालयले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि लुम्बिनी र कोसी प्रदेशमा अभिमुखीकरण र सचेतनाका कार्यक्रम सञ्चालन गरेको र आगामी दिनमा सातै प्रदेशमा यस्ता कार्यक्रम सञ्चालन गर्ने तयारी रहेको मन्त्री चौधरीले जानकारी दिनुभयो ।    
    
 मन्त्रालयले नीति परिमार्जन गर्नेसमेत भनेर छुट्टै निकाय तोकेको बताउनुभयो । “ इन्द्रेणी पर्यटन प्रवद्र्धनका लागि होटल र सम्पदा क्षेत्रमा रहेका व्यक्तिले प्रदान गर्ने सेवा प्रवाहलाई लैङ्गिक मैत्री बनाउन सुरु गरिएको छ । प्रदेश र स्थानीय तहमा रहेका पर्यटकीय क्षेत्रमा पनि इन्द्रेणी पर्यटन आकर्षित गर्न सकिन्छ ।”    
    
 मन्त्री चौधरीले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि नेपालले अपनाएको समावेशी चरित्र विश्वमाझ पु¥याएर इन्द्रेणी पर्यटन भित्र्याउन लाग्नुपर्ने बताउनुभयो । इन्द्रेणी पर्यटन क्षेत्रबाट थाइल्यान्डको कूल गार्हस्थ्य उत्पादनमा २० प्रतिशत योगदान दिएको जनाइएको छ ।    
    
 कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलले नेपाल यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक पर्यटकका लागि सुरक्षित रहेको बताउनुभयो । समलिङ्गी विवाह दर्ता हुन थालेको जनाउँदै उहाँले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका लागि नेपालमा सम्मानित वातावरण रहेको उल्लेख गर्नुभयो ।    
    
 नेपाल पर्यटन बोर्डकी कार्यकारी प्रमुख नन्दनी लाय थापाले इन्द्रेणी पर्यटनका लागि नेपाल गन्तव्य मुलुक बन्ने सम्भावना रहेको बताउनुभयो । उहाँले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक पर्यटक भित्र्याउन पर्यटन बोर्डले काम गरिरहेको जानकारी दिनुभयो ।    
    
 मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनीलबाबु पन्तले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक पर्यटकलाई स्वागत गर्न नेपाल तयार भएर बसेको छ भन्नुभयो । उहाँले अन्य देशमा जस्तो यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक पर्यटक नेपालमा आउँदा डराउनुपर्ने अवस्था नरहेको बताउनुभयो । “संवैधानिक अधिकार दिएको छ । अरू देशमा जाँदा डराइडराइ जानुपर्छ”, निर्देशक पन्तले भन्नुभयो, “यहाँ (नेपाल) सुरक्षा छ । समलिङ्गी विवाह हनिमुन डेस्टिनेसनका रूपमा कसरी लैजाने सोचिरहेका छाँै ।”    
    
 नेपालका लागि युरोपियन युनियनको राजदूत भेरोनिक लोरेन्जोले विश्वका एक सय ४५ देशमा गरिएको अध्ययनमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका लागि नेपालको अवस्था राम्रो रहेको जानकारी दिनुभयो । “ एक सय ४५ देशमा नेपालको अवस्थामा राम्रो र उत्साहप्रद देखिएको छ । अनुकरणीय छ । प्रगति राम्रो भएको छ”, उहाँले भन्नुभयो, “समलिङ्गी विवाहलाई कानुनी मान्यता दिने नेपाल एसियामा दोस्रो देश बनेको छ ।”    
    
 उहाँले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको जीवनस्तर माथि उकास्ने काममा युरोपियन युनियनले सहयोग गर्दै आएको जानकारी दिनुभयो । नेपालमा इन्द्रेणी पर्यटनको सम्भावना अन्य देशमाभन्दा राम्रो देखेको राजदूत लोरेन्जोको भनाइ थियो । नेपालमा पहिलो पटक १३ मङ्सिर २०८० मा लमजुङको दोर्दी गाउँपालिका कार्यालयले माया गुरुङ र सुरेन्द्र पाण्डेलाई विवाह दर्ताको प्रमाणपत्र दिएको थियो। उहाँहरुलाई पहिलो विवाह दर्ता भएसँगै बर्दियाको बढैयाताल गाउँपालिकाले सुप्रिता गुरुङ र दिप्ती श्रेष्ठलाईे ‘लेस्बियन’ विवाह दर्ताको प्रमाणपत्र दिएको छ ।    
    
    
इन्द्रेणी पर्यटनको विश्वबजार    
    
 सम्मेलनमा गो म्यागेजिनकी सम्पादक डियान एन्डरसनले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक पर्यटनको विश्व अवलोकन र अर्थतन्त्र÷जिडिपीमा यसको योगदान प्रस्तुत गर्दै इन्द्रेणी (रेन्बो) पर्यटनको बजार विश्वमा दुई खर्ब ११ अर्ब डलरको रहेको जानकारी दिनुभयो । अमेरिका, चीन र जापानमा रहेको इन्द्रेणी पर्यटनको खरिद शक्ति नेपालसँग पनि रहेको बताउनुभयो । उहाँले तीन वटा देशमा कोभिडको समयमा चार ट्रिलियन डलर रहेको इन्द्रेणी पर्यटनको बजार अहिले ४.७ ट्रिलियन डलर पुगेको जानकारी दिनुभयो ।    
     
 उहाँका अनुसार विश्वमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको जनसङ्ख्या ३० करोड रहेको छ । यो कूल जनसङ्ख्याको ६.५ प्रतिशत हुन आउँछ ।” विपद्का घटना भएका ठाउँमा पर्यटन गतिविधि गर्ने पहिलो समुदाय यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक रहेको सम्मेलनमा जानकारी दिइएको थियो । सम्मेलनमा अमेरिका, न्यूजिल्याण्ड, जर्मनीका पर्यटन व्यवसायीले कार्यपत्र प्रस्तुत गर्नुभएको भने भारतीय लेखक एवं म्याथोलोजिष्ट देवदत्त पटनायक र पारोमिताले यौनिकता तथा लैङ्गिकताबारे पुराना तथ्यहरू प्रस्तुत गर्नुभएको थियो । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि नेपाल सुरक्षित र सम्मानित रहेको, सबैखाले हिंसा अन्त्य हुने र सम्मानित हुने पर्याप्त कानुन रहेको सम्मेलनमा बताइएको थियो ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend