Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

जैविक विविधता अध्ययन केन्द्र बन्दै जटायु रेष्टुरेन्ट   


सूचना कुण्ड
जैविक विविधता अध्ययन केन्द्र बन्दै जटायु रेष्टुरेन्ट   

     
  सूचनाकुण्ड समाचारदाता   

कावासोती, चैत २१ :   
लोपोन्मुख गिद्ध संरक्षण गर्न १७ वर्ष अगाडि पूर्वी नवलपरासीको कावासोती–१३ मा स्थापना गरिएको जटायु रेष्टुरेन्ट पर्यापर्यटनको गन्तव्य र जैविक विविधता अध्ययन गर्नेहरूको केन्द्रका रूपमा विकास हुँदै गएको छ ।    
    
यस ठाउँमा जैविक विविधता, पर्यापर्यटन एवं वन तथा वातावरण अध्ययन गर्ने विद्यार्थी तथा सोधकर्ताहरू गिद्ध, तिनका प्रजाति, जीवनशैली तथा गिद्धको बासस्थानका विषयमा अध्ययन गर्न आउने गरेका जटायु रेष्टुरेन्ट व्यवस्थापन समितिका अध्यक्ष एवं चराविज्ञ डिबी चौधरीले बताउनुभयो । उहाँले रेष्टुरेन्टमा राखिएका गिद्धहरूलाई खाना दिइने गरेको हप्ताको दुई दिनमध्ये एक दिन अध्ययन–अवलोकन गर्न आउनेहरूका लागि खुला गरिने गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार एकपटकको अवलोकनमा १५ देखि ३० जनासम्म आउने गरेका छन् ।    
    
“औसतमा भन्दा १५ देखि २० जनाको हाराहारीमा पर्यटक तथा अध्ययनकर्ता आउनुहुन्छ, त्यसबाहेक कहिलेकाहीँ अलि धेरैको समूहमा समेत आउने गर्नुभएको छ”, उहाँले भन्नुभयो । खाना दिने दिन धेरैको सङ्ख्यामा गिद्ध देखिने हुँदा गिद्ध अवलोकन र अध्ययनका लागि समेत सहज हुने भएकाले हप्ताको दुई दिन अवलोकनका लागि खुला गर्ने तयारी गरिएको व्यवस्थापक चौधरीले जानकारी दिनुभयो । यहाँका गिद्धलाई हप्ताको दुई दिन खाना दिने गरिएको छ घने अन्य दिन उनीहरूले वातावरणमा घुमफिर गर्दा बाहिरको खाना खाने गर्दछन् ।    
    
विषादीयुक्त आहारा र बासस्थानमा आएको ह्रासका कारण गिद्ध मासिँदै गएपछि नेपालमा पहिलोपटक समुदायस्तरबाट जटायु रेष्टुरेन्टको स्थापना गरिएको व्यवस्थापक चौधरीको भनाइ छ । उहाँका अनुसार लोपोन्मुख गिद्धलाई विषादीरहित आहारा उपलब्ध गराएर संरक्षण गर्ने उद्देश्यले समुदायस्तरबाट रेष्टुरेन्टको सञ्चालन र व्यवस्थापन गरिएको हो ।    
    
कावासोती–१३ मा रहेको नमूना सामुदायिक मध्यवर्ती वनको करिब ५० हेक्टर क्षेत्रफलमा फैलिएको जटायु रेष्टुरेन्टमा नेपालमा पाइने नौ प्रजातिका गिद्धमध्ये आठ प्रजातिका गिद्ध पाइने अध्यक्ष चौधरीले बताउनुभयो । उहाँका अनुसार यहाँ रैथाने प्रजातिका डङ्गर, सेतो, सुन र सानो खैरो गिद्ध तथा आगन्तुक प्रजातिका राजगिद्ध, हिमाली गिद्ध, खैरो गिद्ध र लामो ठोडेगिद्ध रहेका छन् । आगन्तुक प्रजातिका गिद्ध भने हिउँदको समयमा आउने गरेक व्यवस्थापक चौधरीले जानकारी दिनुभयो ।    
    
प्रकृतिको कुचीकारका रूपमा रहेका गिद्ध गाईवस्तुलाई प्रयोग गरिने डाइक्लोफेनेकजस्ता औषधिको प्रयोगसँगसँगै बासस्थानमा आएका ह्रासका कारण गिद्ध लोपोन्मुख अवस्थामा पुगेका उहाँ बताउनुहुन्छ । “डाइक्लोफेनेककोे प्रयोग गरी उपचार गराइएका पशुको मृत्युपछि सिनो गिद्धले खाएमा मिर्गाैलामा असर भई केही दिनमा नैै गिद्ध मर्ने गरेका तथा बासस्थान आएका ह्रास कारणले गिद्ध लोपोन्मुख अवस्थामा पुगेका हुन्”, उहाँले भन्नुभयो । पछिल्लो समय गिद्ध बस्ने तथा गुँड लगाउने सिमलका रुख मासिँदै गएपछि गिद्धको बासस्थानमा ह्रास आएको चौधरी बताउनुहुन्छ ।    
    
रेष्टुरेन्टले गिद्धको आहाराका लागि गाउँघरबाट बूढाखाडा भएका गाईभैँसी ल्याएर पाल्ने गरेको छ । रेष्टुरेन्टको गौशालामा पालिएका गाईवस्तु मरेपछि गिद्धका आहाराका लागि प्रयोग गरिने चौधरीले बताउनुभयो । यसबाहेक जिल्लाभित्र विभिन्न कृषि फार्ममा मरेका गाईभँैसी ल्याएर परीक्षणपश्चात आहाराका रूपमा प्रयोग गरिने चौधरीले बताउनुभयो । रेष्टुरेन्टले आहारा व्वस्थापनका लागि व्यवस्थित गौशाला निर्माणको योजना अगाडि बढाएको र यसका लागि पक्षी संरक्षण सङ्घ, चितवन राष्ट्रिय निकुञ्ज, कावासोती नगरपालिका, डिभिजन वनलगायतका सङ्घसंस्थाले आर्थिक सहयोग गरेको चौधरीले जानकारी दिनुभयो ।    
    
पर्यापर्यटन र जैविक विविधता अध्ययन गर्ने तथा गिद्ध अवलोकनका लागि पछिल्लो समय विदेशी तथा स्वदेशी पर्यटक पछिल्लो समय बाक्लोरूपमा आउने गरेका व्यवस्थापक चौधरीले बताउनुभयो । रेष्टुरेन्टले गिद्ध अवलोकन गर्न आउने विदेशी पर्यटकसँग रु एक हजार र नेपाली पर्यटकसँग रु तीन सय लिने गरेको छ । विभिन्न सङ्घसंस्थाको सहयोग, आगन्तुकलाई बिक्री गरिएको टिकट र आहराको रूपमा प्रयोग भएपछि रहेको गाईवस्तुको छाला र र हड्डी र मलको बिक्रीबाट रेष्टुरेन्ट सञ्चालन गर्ने गरिएको उहाँले जानकारी दिनुभयो । गिद्ध संरक्षणका लागि समुदायस्तरमा नेपालमा पहिलोपटक सन् २००६ मा गिद्ध अर्थात् जटायु रेष्टुरेन्टको स्थापना गरिएको थियो ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend