Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

दृष्टिविहीनलाई बाटो देखाउँदै ‘गुगल’   


सूचना कुण्ड
दृष्टिविहीनलाई बाटो देखाउँदै ‘गुगल’   



कास्की, वैशाख ५ : गुल्मीबाट पढाइको सिलसिलामा पोखरा आउनुभएकी दृष्टिविहीन रीता ज्ञवालीले सेतो छडी लिएर बाटो हिँड्दा अनेक समस्या झेल्नुपरेको थियो । सवालाङ्गहरूसमक्ष आफू पुगेको स्थानबारे बताइदिन र बाटो पार गराइदिन आग्रह गर्दा पटकपटक तिरस्कृत भएको उहाँले सुनाउनुभयो । अब त्यो समस्याबाट उहाँ मुक्त हुनुभएको छ ।    
    
“पहिलादेखि नै हामीलाई सेतो छडी लिएर हिँड्ने बानी पर्यो । त्यसरी हिँड्दा बाटो देखाइदिन आग्रह गर्दा नबोल्ने, बाटो ‘क्रस’ गराइदिन आग्रह गर्दा वास्ता नगर्ने, कहिलेकाहीँ त ‘ह्यारेसमेन्ट’ पनि झेल्नुपरेको थियो”, उहाँले भन्नुभयो, “प्रविधि हाम्रा लागि पनि बनेको छ । हामीले चलाउन जान्ने हो भने समस्या आफैँ समाधान हुन्छ । प्रविधिमा पहुँचयुक्त गमनशीलता तालिममा सिकेको सीपले हामीलाई सहज भएको छ ।”    
    
रीताजस्तै अरु दृष्टिविहीन पनि अबका दिनमा अरुको सहाराबिना हिँडडुल गर्नेमा विश्वस्त हुनुहुन्छ । उहाँहरूका लागि पोखरा महानगरपालिकाको सहयोगमा कास्की नेत्रहीन सङ्घले प्रविधिमा पहुँचयुक्त गमनशीलता तालिम दिएको छ ।    
    
तालिममा भाग लिनुभएकी दृष्टिविहीन रोजिना घिमिरेले पनि तालिम निकै फलदायी भएको बताउनुभयो । “हामीलाई आवश्यकताले सञ्जाल चिनाएको छ । सञ्जालले सञ्चार चिनाएको छ र सञ्चारले संसार चिनाएको छ”, रोजिनाले भन्नुभयो, “प्रविधिले अपाङ्गता व्यक्तिलाई सहज बनाएको छ हामीलाई भने असम्भवलाई सम्भव बनाएको छ । दृष्टिविहीनलाई यसले दुष्टियुक्त बनाउन मद्दत गरेको छ ।”     
    
‘गुगल’ नक्साका आधारमा आफू कहाँ पुग्ने हो त्यो ‘सेट’ गरेपछि दायाँ, बायाँ, बाटो पार गर्नेलगायत सबै भनिदिने हुँदा सहज भएको रोजिनाले बताउनुभयो । मोबाइल भएपछि सहयोगी आवश्यक नपर्ने उहाँले बताउनुभयो ।    
    
तालिमका प्रशिक्षक तथा राष्ट्रिय अपाङ्ग महासङ्घ, गण्डकीका अध्यक्ष खोमराज शर्माले तालिममा दृष्टिविहीनलाई ‘गुगल म्याप’सँगै ‘ई–सेवा, इन्ड्राइभ, पठाओ’जस्ता ‘एप्लिकेसन’ चलाउन पनि सिकाइएको जानकारी दिनुभयो । यसले उनीहरूको दैनिकीमा सहयोग पुग्ने उहाँले सुनाउनुभयो ।    
    
प्रविधिको अधिकतम प्रयोग गर्नसके दृष्टिविहीनतालाई अवसरका रूपमा लिन सकिने उहाँले बताउनुभयो । “प्रविधिमा साँच्चै हाम्रो पहुँच हुने हो भने हामीले हीनतावोध गर्नुपर्दैन । हामीले गर्न नसक्ने भन्ने विषय सबै विगत बनिदिन्छ”, प्रशिक्षक शर्माले भन्नुभयो, “तर चुनौती भनेको यसको समाधान न हाम्रो सरकारलाई थाहा छ न ‘एप्लिकेसन डेभलपर’लाई थाहा छ । यो चुनौती चिर्न स्थानीय, प्रदेश र सङ्घ सरकारले लगानी गर्न जरुरी छ ।”    
    
राष्ट्रिय अपाङ्ग महासङ्घको केन्द्रीय सदस्य पुष्पराज रिमालले प्रविधिले आफूहरूलाई सक्षम बनाएको बताउनुभयो । “सामान्य रूपमा हेर्दा मोबाइल केही होइन तर सबैथोक हो”, उहाँले भन्नुभयो, “प्रविधिले हामीलाई सक्षम बनाएको छ । त्यसलाई हामीले चिन्नुपर्छ ।” सरकारले हरेक क्षेत्रमा हरेक नागरिकका लागि उपयुक्त प्रविधिमा लगानी गर्नुपर्ने उहाँको धारणा छ ।    
    
कास्की नेत्रहीन सङ्घका अध्यक्ष श्रीकान्त सापकोटाले सङ्घले दृष्टिविहीनका लागि विभिन्न कार्यक्रम र तालिम गरिहेको बताउनुभयो । “हामीले नेपालमै पहिलोपटक सेतो छडी प्रयोग गरेर कसले राम्रोसँग हिँड्नसक्छ भनेर गमनशीलता प्रतियोगिता गर्यौ ँ। त्यसपछि सेतो छडी लिएर हिँड्न गमनशीलता तालिम पनि दियौँ”, अध्यक्ष सापकोटाले भन्नुभयो, “अब नयाँ ढङ्गले जाऊ भनेर अहिले प्रविधिमा पहुँचयुक्त गमनशीलता तालिम आयोजना गरेका हौँ ।”    
    
उहाँले अहिले पनि संविधानको मर्मअनुसार सबै ठाउँमा समावेशिता नभेटिएको बताउनुभयो । ‘बी माई एआई’ प्रयोग गरेर दृष्टिविहीनले सबै विषय थाहा पाउने प्रविधिको विकास भइसक्दा पनि त्यसमा कसैको ध्यान नगएको अध्यक्ष सापकोटाको गुनासो थियो । यसका लागि राज्यले तालिम, साधन अनि पहुँचताको सुनिश्चितता गर्नुपर्ने उहाँले बताउनुभयो । दृष्टिविहीनको हकअधिकारका लागि संस्थाले आगामी दिनमा पनि रचनात्मक कार्यक्रम गर्दै जाने उहाँले जानकारी दिनुभयो ।    
    
कास्कीमा एक हजार पाँच सयको हाराहारीमा दृष्टिविहीन रहेको कास्की नेत्रहीन सङ्घका अध्यक्ष श्रीकान्त सापकोटाले जानकारी दिनुभयो । “कास्कीमा अध्ययन, रोजगारीका लागि अन्य जिल्लाबाट पनि आउनुभएका दृष्टिविहीन साथीहरू हुनुहुन्छ । केही ग्रामीण क्षेत्रमा पनि हुनुहुन्छ”, उहाँले भन्नुभयो, “सबै गरेर एक हजार पाँच सय जति छौँ । त्यसमा हाम्रो सङ्घमा एक सय ५० जना आबद्ध छौँ ।” प्रविधिमा पहुँचयुक्त गमनशीलता तालिममा २४ जना सहभागी भएका थिए ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend