Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

  सिन्दुर खेलेर मनाइयो सुथसिया जात्रा   


सूचना कुण्ड
  सिन्दुर खेलेर मनाइयो सुथसिया जात्रा   



भक्तपुर, वैशाख २ :  मध्यपुरथिमिबासीले आज बिहानै सुथसिया अर्थात बिहानीको जात्रा मनाएका छन् ।    
    
 बिस्केट जात्राका अवसरमा मध्यपुरथिमिका बासिन्दाले आज बिहानैदेखि टोलटोलका देवता विराजमान खटलाई बालकुमारीको परिक्रमा गराई धिमे र मुस्या बाजाको तालमा झुम्दै, नाच्दै र अबिर छर्कदै हर्षोल्लासका साथ सिन्दुर खेलेर सुथसिया जात्रा मनाएका हुन् ।    
    
 थिमिमा मात्रै मनाइने यो जात्रामा एकअर्कामा सिन्दुर दलेर धिमेलगायतका स्थानीय बाजामा तालमा नाच्दै हातहातमा चिराग बाल्ने चलन छ । खट बोकी बालकुमारीमा ३२ खट ल्याएर भव्य रुपमा मनाउने परम्परा छ । तर केही वर्ष यता भने २६ खट मात्रै जात्रामा सहभागि हुने गरेका छन् ।    
     
 यो जात्रामा आज बिहानै बालकुमारी र कालिका अर्थात बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालेको थियो । हिजोदेखि विष्णुबिर र दक्षिण बाराहीको खट समेत मन्दिरमा राखिएको थियो । बिहानै सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरु सहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा सुरु भएको थियो ।    
 जात्रा सुरु भएपछि पमाहरु हातहातमा चिराग अर्थात बत्ति लिएर नाइके प्रधानको अनुमतिमा बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोल स्थित देवता घर परिक्रमा गराइएको थियो । यसैगरी बिष्णुवीर, सिद्धिकालीलगायतका देवदेवीहरुको खट ल्याएर यो जात्रा मनाइएको छ ।    
    
 थिमिमा ३२ देवीदेवतका खट सहभागी रथ बोकेर टोलटोलमा परिक्रमा गराई परम्परागत रुपमा मनाउदै आएको यो जात्रा अहिले थिमि क्षेत्रमा २३ वटा, नगदेशमा एउटा, बोडेमा सात, टिगनीमा एउटा छुटाछुटै स्थानमा खटजात्राका साथ सिन्दुर जात्रा मनाइने गरेको छ । यसमा थिमिको बालकुमारी, दक्षिणबाराही, विष्णुबीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी र टिगनीको नीलबाराही मन्दिरका देवताका नेतृत्वमा खट बोकेर जात्रा गरी टोलटोलमा सिन्दुर खेल्दै मनाइन्छ ।    
    
 जात्रा प्रत्येक चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दुर छर्ने, फूल बर्साएर स्वागत गर्ने प्रचलन छ । जात्रामा काँया बाजा, भुस्या बाजा, धिमेबाजा बजाएर देवताका खटलाई घुमाउदै एक अर्कालाई सिन्दुर दल्ने, आपसमा सिन्दुर खेली स्थानिय जात्रालुहरु रमाईलो गर्ने भएकाले पनि यसलाई केहीवर्ष यता सिन्दुर जात्रा पनि भन्न थालिएको छ ।    
    
 बालकुमारीबाट परम्परागत रुपमा सिद्धिगणेश, सिद्धिकाली र त्यसका गणहरु सहित क्वाछें द्यो, हिचो द्यों, अजिमा द्यों, विष्णुवीर र अन्य देवगणहरुको खट उचाले पछि बालकुमारीको जात्रा सुरु गरिएको छ ।    
    
 परम्परा अनुसार नै देवता लायकू दरबारभित्र पस्न नपाउन भनेर लायकू प्रवेशद्वारमा पेंखा मुस्या, बालकुमारी, बालखुचा द्यो, सिद्धिकाली र अरु देवताका गणहरु बाटो छेकेर बस्ने परम्परा रहेको छ । खट जात्रा अगाडि बढाउदै ल्याउने बालकुमारीलाई भैलः द्यो परिक्रमा गरी क्रमैसँग सुगां द्यो, क्वाछे द्योंमा पनि सिन्दुर खेल्दै परिक्रमा गराइन्छ । बालकुमारीलाई बिभिन्न क्षेत्रको परिक्रमा गराई भव्य एवं उमङ्ग र उत्साहका साथ थिमिका वासिन्दाले सिन्दुर खेल्दै यो जात्रा मनाइएको छ ।    
    
 बिहानै सुरु भएको यो जात्रा मध्यान्हसम्म चल्ने र त्यसपछि बोडेमा जिब्रो छेड्ने जात्राको तयारी गरेर दिउँसो २ बजे बोडेमा जिब्रो छेडेर जात्रा मनाउने गरिन्छ ।    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend