काठमाडौँ, चैत २९ : काठमाडौँ उपत्यकामा हावाहुरी तथा चट्याङसहितको वर्षा भएको छ । हावाहारी, रुखको हाँगा भाँचिन सक्ने, चट्याङका कारण जनको क्षति हुनसक्ने भन्दै सतर्क रहन विज्ञले सुझाव दिएका छन् ।
विपत व्यवस्थापनविद् डा धर्मराज उप्रतीले आज दिउँसोबाट उपत्यकामा पानी पर्न सुरु भएसँगै केही दिनयता बढिरहेको प्रदुषण न्यूनीकरणमा सहयोग पुग्ने बताउनुभयो । “यतिबेला हावाहुरी, चट्याङसहितको वर्षा भइरहेकाले सतर्कता अपनाउन जरुरी छ”, उहाँले भन्नुभयो, “देशका अधिकांश जिल्लामा लागिरहेको वन डढेलोका कारण वायु प्रदुषण बढेको थियो । वर्षाका कारण वायु प्रदुषण न्यूनीकरण हुनेछ ।”
मङ्गलबार र बुधबार उपत्यकामा वायु प्रदुषण बढ्दा काठमाडौँ विश्वको नै पहिलो प्रदुषित सहरका रुपमा सूचीकृत भएको थियो । ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार बुधबार दिउँसो समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) दुई सय ६५ थियो । सोमवार दिउँसो एक सय ६५ एक्यूआई रहेको प्रदुषण, मङ्गलवार दुई सय पुगेको थियो । आज भने प्रदुषण घटेर एक सय ७७ एक्यूआईमा सीमित भएको छ ।
हुरीले हवाई उडान प्रभावित
प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । अपरान्ह एक्कासि आएको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र दुवै उडान प्रभावित भएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिनुभयो ।
उहाँका अनुसार आन्तरिक उडानका जहाज ‘डाइभर्ट’ भएका छन् भने अन्तर्राष्ट्रियतर्फ केही जहाज आकाशमा फन्को लगाउने ‘होल्ड’ हुनका साथै केही जहाज विभिन्न गन्तव्यमा डाइभर्ट भएका छन् ।
नेपालगञ्जबाट काठमाडौँ आउदै गरेको बुद्ध एयरको जहाज भैरहवा फर्किएको थियो भने सिमराबाट काठमाडौँ आइरहेको सोही कम्पनीको जहाज सिमरा नै डाइभर्ट भएको छ । काठमाडौँबाट पोखरा जान लागेको यती एयरलाइन्सको जहाज काठमाडौँ नै फर्किएको छ ।
–––
