Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

  दुर्घटनामा एकै परिवारका पाँच जनाको मृत्यु भएपछि पौवाखेत शोकमा  


सूचना कुण्ड
  दुर्घटनामा एकै परिवारका पाँच जनाको मृत्यु भएपछि पौवाखेत शोकमा  

  

गोरखा, चैत १७: गोरखा जिल्लाको गोरखा नगरपालिका–७ पौवाखेतका ४० वर्षीय शङ्कर रोकाको शुक्रबार क्यान्सरबाट मृत्यु भएपछि ७० वर्षीया आमा जुनकिरी रोकासहित सिङ्गो परिवार शोकमा परेको थियो । उपचारका क्रममा राजधानी काठमाडाैँमा निधन हुनुभएका शङ्करको पशुपति आर्यघाटमा गएराति अबेर दाहसंस्कार गर्न गाउँबाट काठमाडौँ जानुभएकी आमा जुनकिरीसहित सबै परिवार र आफ्न्त पशुपति आर्यघाटमा पुग्यो ।    
    
 अल्पायुमै छोराको निधनले मर्माहत हुनुभएकी जुनकिरी छोराको दाहसस्ंकारको काम सकेर गाउँमै काजकिरिया गर्न तीन वटा गाडी लिएर सपरिवार गोरखा फर्कंदै थियो । घर फर्कंदै गरेका तीन गाडीमध्ये दुई गाडी मुग्लिन पुगेर रोकियो । मृतकका आमा जुनकिरी, दिदीबहिनी, ज्वाइँ, छोरा र भाञ्जा चढेर फर्कंदै गरेको बा२ज ४१९६ नम्बरको ट्याक्सी आइपुगेन ।    
    
 निक्कैबेर प्रतिक्षापछि पनि गाडी नआएपछि अनेक शङ्काउपशङ्का बढ्दै गयो । मुग्लिन पुगेका आफ्न्तले प्रहरीलाई जानकारी गराए । तत्कालै चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित सिमलधारा नजिकै बा२ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खसेर दुर्घटनामा परेको जानकारी प्रहरीमा आएपछि रोका परिवारमा अर्को बज्रपात प¥यो ।    
     
 घटनालगत्तै आफन्त र परिवार घटनास्थलमा पुगे । प्रहरीले दुर्घटनास्थलबाट पाँच जनाको शव निकाल्यो । घटनामा परेका एक जना अझै बेपत्ता छन् । क्यान्सरबाट निधन भएका छोराको गाउँमै काजकिरिया गर्न भनेर ट्याक्सीमा घर फर्कंदै गर्नुभएकी आमा जुनकिरी दुई छोरी, एक नाति र ज्वाइँसँगै अब कहिल्यै गाउँ फर्कनु हुने छैन ।    
    
 जुनकिरीसहित दुर्घटनामा ज्यान गुमाएकामा उहाँकी जेठी छोरी ४१ वर्षीया हरिमाया उपरकोटी, कान्छी छोरी २८ वर्षीया अञ्जना रोका, माइला ज्वाइँ ३५ वर्षीय अर्जुन सिर्मल, नौ वर्षीय नाति आगमन उपरकोटी (मृतक हरिमायाका छोरा) भएको वडाध्यक्ष विष्णु श्रेष्ठले जानकारी दिनुभयो । दुर्घटनामा परी बेपत्ता हुनुभएका १८ वर्षीया दिवस रोका क्यान्सर रोगबाट निधन हुनुभएका शङ्करका छोरा हुनुहुन्छ ।    
    
 मृतक पाँचै जनाको शव अहिले गोरखा अस्पतालमा शव परीक्षणका लागि राखिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । दुर्घटनामा परी रोका परिवारमा पाँच जनाको मृत्यु र एक बेपत्ता भएको घटनाले अहिले सिङ्गो पौवाखेत शोकमा डुबेको छ । अस्पतालमा परिवार र आफन्तलाई सान्त्वना दिन पुगेकाहरुसमेत बोल्न र सम्झाउन सक्ने अवस्था नरहेको उहाँको भनाइ छ ।    
---   


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend