Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

चन्द्रागिरि र जिल्ला प्रहरी परिसर काठमाडौँ बीच सहकार्य : जनचेतनामूलक पाठ्यक्रम २०८१ तयार 


सूचना कुण्ड
चन्द्रागिरि र जिल्ला प्रहरी परिसर काठमाडौँ बीच सहकार्य : जनचेतनामूलक पाठ्यक्रम २०८१ तयार 

   
   
काठमाडौँ, चैत १०  : चन्द्रागिरि नगरपालिका र जिल्ला प्रहरी परिसर काठमाडौँको संयुक्त सहकार्यमा जनचेतनामूलक पाठ्यक्रम २०८१ हस्तान्तरण तथा सम्झौता कार्यक्रम आयोजना गरिएको छ । सो अवसरमा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले  हस्तान्तरण गरिएको पाठ्यपुस्तक नयाँ शैक्षिकसत्रबाट नगरपालिकाभरिका विद्यालयमा सन्दर्भ सामग्रीका रुपमा कार्यान्वयनमा लैजाने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जनचेतनामूलक पाठ्यक्रमले शान्ति सुरक्षालाई थप सुदृढ बनाउन सहयोग मिल्नेछ । यसलाई विद्यालय तहमा कार्यान्वयनमा लैजान नगरपालिका प्रतिवद्धछ । उपत्यका भित्रिने प्रमुख नाका नागढुङ्गालगायतका क्षेत्रमा लागुऔषध नियन्त्रणका लागि प्रयास गरिरहेका छौँ, हामी सबैको राय–सुझावअनुसार काममा अगाडि बढ्नेछौँ ।”    
    
काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले विद्यालयस्तरका बालबालिकालाई कुलत तथा दुव्र्यसनबाट जोगाउन आज सम्झौता तथा हस्तान्तरण गरिएको जनचेतनामूलक पाठ्यक्रम २०८१ ले राम्रो काम गर्ने बताउनुभयो । उक्त सामग्री सबै क्षेत्रका स्थानीय तहका विद्यालयमा पनि हस्तान्तरण गर्न उहाँले आग्रह गर्नुभयो ।    
    
उपत्यका प्रहरी कार्यालय रानीपोखरी काठमाडौँका प्रमुख तथा प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले पछिल्लो समय विद्यालयका बालबालिकामा दुव्र्यसनी बढेको पाइएकाले अभिभावकले पनि उक्त कुरामा सचेत हुन तथा आफ्ना नानीबाबुलाई विशेष ध्यान दिन आग्रह गर्नुभयो ।    
    
उहाँले भन्नुभयो, “विभिन्न तत्थ्याङ्क हेर्दा स्कुले बालबालिकामा पनि दुव्र्यसनी बढेको पाइएको छ, अभिभावकले पनि बालबालिकालाई मदिरा, खैनी, चुरोटजस्ता सरसामान मगाउन बन्द गर्नुपर्छ ।” यसैगरी उहाँले जिल्ला प्रहरी परिसर काठमाडौँ तथा चन्द्रागिरि नगरपालिकाको संयुक्त सहकार्यमा जनचेतनामूलक पाठ्यक्रम तयार पारिएकाले उक्त पाठ्यक्रमले बालबालिकामा सकारात्मक सोचको विकास हुने बताउनुभयो ।    
    
चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले जनचेतनामूलक पाठ्यक्रम २०८१लाई नगरभित्रका विद्यालयमा सन्दर्भ सामग्री एवं पाठ्यक्रमको अशंका रुपमा कार्यान्वयनमा गरिने बताउनुभयो । उहाँले भन्नुभयो“ नगरभित्र शान्ति सुरक्षा कायम गर्न, सामाजिक सद्भावलाई थप सुदृढ बनाउन, लागुऔषध दुव्र्यसनी नियन्त्रण गर्न, धुमपान, मद्यपान, साइबर अपराधलाई न्यूनीकरण गर्न सामुदायिक प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी रुपमा सञ्चालित छन् । ”    
    
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले आज हस्तान्तरण गरिएको उक्त पाठ्यपुस्तक विद्यालयमा लागू भएपछि त्यसबाट विद्यार्थीमा भए÷गरेका विभिन्न सकारात्मक पक्षका विषयमा जिल्ला प्रहरी परिसर काठमाडौँले समय–समयमा अनुगमनसहित सुझाव लिई अन्य सकारात्मक कुराहरूका विषयमा काम गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “समाजबाट दुव्र्यसनी अन्त्य गर्न प्रहरीसहित नागरिक र विद्यार्थीको महत्त्वपूर्ण भूमिका रहेको छ, कुनै सहयोग गर्नुपर्ने जिल्ला प्रहरी परिसरमा खबर गर्न हामी सबैमा आग्रह गर्दछौँ ।”    
    
जनचेतनामूलक पाठ्यक्रम तयार गरी विद्यालयस्तरमा पठनपाठन गराई विद्यार्थीलाई भोलिका सुयोग्य एवं असल नागरिकमा रुपान्तरण गरी सर्वाङ्गीण विकासको प्रमुख आधार तयार गर्ने उद्देश्यका साथ चन्द्रगिरि नगरपालिकाको आर्थिक सहयोग एवं जिल्ला प्रहरी परिसर काठमाडौँको सक्रियतामा प्रहरी विद्यालय सम्पर्क कार्यक्रमअन्तर्गत तयार गरिएको जनचेतनामूलक पाठ्यक्रम २०८१ को सम्झौता तथा हस्तान्तरण गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।    
    
उहाँका अनुसार आज हस्तान्तरण तथा सम्झौता गरिएको उक्त जनचेतनामूलक पाठ्यक्रम २०८१ मा लागुऔषध दुव्र्यसनी, धुमपान मद्यपान, साइबर अपराध र उजुरी गर्ने तरिका, सामाजिक सञ्जालको सुरक्षित प्रयोग, महिला तथा बालबालिकाविरुद्ध हुने अपराध, सामाजिक अपराध, घरेलु हिंसा र उजुरी दिने कार्यविधि, करणीसम्बन्धी कसुर (अपराध), ट्राफिक सचेनता, विपद् जोखिम र न्यूनीकरणका उपाय, आत्महत्याका सङ्केत र बचाउने उपाय समावेश गरिएका छन् । यसैगरी घटनास्थलको सुरक्षा, आपराधिक दर्ता प्रणाली, प्रहरी चारित्रिक (चालचलन) प्रमाणपत्र, घटना हुन नदिने तथा रोकथाम गर्ने उपाय, असल नागरिकका कर्तव्य र जिम्मेवारी, जिल्लाका प्रहरी कार्यालयमा उजुरी दिने तथा सम्पर्कका माध्यम, आत्मरक्षा र बच्ने उपाय र चोरी तथा चोरी हुनबाट बच्ने उपाय समेटिएका छन् ।   

  सो अवसरमा चन्द्रागिरि नगरप्रमुख गिरी ,प्रमुख जिल्ला अधिकारी  बस्नेत र प्रहरी अतिरिक्त महानिरीक्षक  थापा बीचमा शान्तिसुरक्षा लगायतका विषयमा छलफल समेत भएको थियो । सो समारोहका नगरउपप्रमुख बसन्ती श्रेष्ठ, नगरप्रवक्ता कृष्णप्रसाद खड्गी लगायत विभिन्न वडाका वडाध्यक्ष एवं नगरपालिकाका विभिन्न शाखाका प्रमुखहरुको उपस्थिति रहेको थियो ।
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend