काठमाडाँै, चैत ८ ःयुरोपियन युनियन(इयू)ले चन्द्रागिरि नगरपालिकालाई महिला सशक्तिकरण र खुला स्थान व्यवस्थापनका लागि आर्थिक एवं प्राविधिक सहयोग उपलब्ध गराउने भएको छ ।
चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी र नेपालस्थित युरोपियन युनियन (इयू)का राजदूत भेरोनिक लारेन्जो बीच बुधबार भएको द्विपक्षीय भेटघाटमा सो जानकारी गराइएको हो । भेटमा नगरप्रमुख गिरीले नगरपालिकाले ‘एक वडा एक उद्यान, एक खुला स्थान’को नीति लिएको, दिगो विकास लक्ष्यको स्थानीय स्वेच्छिक मूल्याङ्कनको मस्यौदा प्रतिवेदन तयार पारिसकेको जानकारी दिनुहुँदै सार्वजानिक एवं खुला स्थानको संरक्षण, शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासमा समान प्राथमिकता दिँदै आएको बताउनुभएको थियो । प्रमुख गिरीका निजी सचिवालयका अनुसार उहाँले भन्नुभयो “नगरपालिकाले भौतिक पूर्वाधारका साथसाथै सामाजिक विकासमा समान महत्व दिएको छ । समुदाय तहदेखि योजना छनौट र कार्यान्वयनमा लैङ्गिक समानता, सबै वर्ग क्षेत्र र समुदायको सहभागीता गराइएको छ ।”
सो अवसरमा नेपालस्थित इयूका राजदूत लारेञ्जोले महिला सशक्तिकरणका क्षेत्रमा नगरपालिकालाई परियोजना सञ्चालन एवं परियोजना सेवाहरुका लागि संयुक्त राष्ट्र संघीय कार्यालय ( युएन ओपिस)को सहकार्यमा नगरपालिका क्षेत्रका खुला स्थान संरक्षणमा सहयोग गर्ने जानकारी दिनुभयो ।
इयू र नेपालले राजनीतिक तथा आर्थिक सम्बन्ध सन् १९७४ मा स्थापित गरेका थिए भने सन् १९९६ को जुन १ मा साझेदारी सम्झौता सम्पन्न भएको थियो। सन् २०२६ सम्ममा अल्पविकसित देशहरूको सूचीबाट नेपाल स्तरोन्नति गर्ने सन्दर्भमा इयू र यसका सदस्य राष्ट्रहरू, अर्थात् ‘टिम युरोप’ सहायता निरन्तर हुने बताइएको छ ।
दिगो विकास लक्ष्य अन्तर्गत ‘सिटी फर वोमेन परियोजना’का लागि चन्द्रागिरि नगरपालिका छनोट समेत भएको छ । सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले नगरपालिकाले आर्थिक र सामाजिक क्षेत्रमा गरिरहेका प्रयासका बारेमा जानकारी दिनुहुँदै समृद्ध चन्द्रागिरि बनाउने ध्येयलाई पुरा गर्न ःयुरोपियन युनियनले देखाएको सहयोगप्रति धन्यवाद दिनुभयो ।
सो अवसरमा इयूका राजदूत लारेन्जो सहित उच्चस्तरीय प्रतिनिधिमण्डलले चन्द्रागिरि –१२ बलम्बूस्थित सम्पदा क्षेत्रको अवलोकन समेत गरेको थियो । उहाँहरुलाई नगर प्रमुख गिरीले सम्पदा संरक्षणका प्रयासका बारेमा जानकारी गराउनुभएको थियो ।
सो उच्चस्तरीय प्रतिनिधिमण्डलमा इयूको एशिया प्रशान्तका लागि बाह्य मामिला पाओलो एस्टिडिलो, नेपालस्थित इयूको प्रतिनिधि मण्डलका प्रमुख रेन्जसे टेरिङ, नेपालमा ईयू प्रतिनिधिमण्डल मार्टा सिलागी , रोसाल्बा टुसेओ, इलिज्याक गुबिक तथा युएन ओपिसका परियोजना प्रबन्धक नीलम धनुसे, युएन ओपिसका परियोजना प्रतिनिधि निलम श्रेष्ठको पनि सहभागीता रहेको थियो ।
